संसारमा भएका अधिकतम देशहरु शक्ति राष्ट्रहरूको दासताबाट मुक्त भएर बनेका हुन् । भारत, पाकिस्तान, सिंगापुरलगायत धेरै देश यो श्रेणीमा पर्दछन् । त्यस्तै बेल्जियम पनि केही हदसम्म फ्रान्स, अष्ट्रिया र हल्याण्डको साँस्कृतिक दासताको विरुद्ध जन्मेको देश हो भनेर मान्ने आधारहरु धेरै छन्। बेल्जियम देशको रुपमा जन्मनु पुर्व यहाँ देशकै रुपमा बेल्जियम त थिएन तर सांस्कृतिक राष्ट्रबाद भाषिक समुदायको रुपमा राष्ट्र निर्माणको भ्रुण बनेर संघर्षरत थियो। त्यो जाति बेल्खको रुपमा सांस्कृतिक पहिचानकोलागि निरन्तर गतिशील थियो। भ्लांदर र वालोनीतिर आफ्नो आफ्नो भाषिक ग्रुप बनाएर बसेको त्यो साँस्कृतिक समुदाय निरन्तर शक्तिसाली साम्राज्यहरुको दमनमा दबिएर कहिल्यै उठ्न सकेन। सन् १८३० अघिसम्म नै यो सांस्कृतिक समुह साम्राज्यहरुलाई कर तिर्ने प्रसासकिय इकाई बनेर जेनतेन जीवित रह्यो।
१८ जुन १८१५ ई. मा नेपोलियन बोनापार्टलाई रूस, अष्ट्रिया, प्रशा, इंगलैंडलगायतका फौजहरूले वाटरलुको लडाइमा हराएपछि भियनामा युरोपेली राष्ट्रहरूको सम्मेलन भयो । त्यो सम्मेलनले हलैण्डमा ओरेन्ज राजवंशको पुनर्स्थापना गरी बेल्जियमलाई हलैण्डमा गाभियो। बहुसंखिक बेल्ख(बेल्जिक)लाई हल्याण्डमा गाभ्दा बेल्खहरुले अपमानित महशुस गर्नु स्वाभाविक नै थियो। किनकि हल्याण्डका नागरिक र बेल्जिकहरुको सांस्कृतिक पहिचान नितान्त फरक थियो।
हल्याण्डका जनताहरू प्रोटेस्ट धर्म मान्दथे र त्यहाँको भाषा ट्युटोनिक ‘डच’ थियो । बेल्जिकहरू क्याथोलिकप्रति विश्वास गर्दथे र फ्लामिस भाषा बोल्थे । हल्याण्ड(हालको निदरल्याण्ड ) फ्राँसलाई असाध्य घृणा गर्थ्यो भने बेल्जियम फेरी फ्रान्सको असल मित्र थियो ।
१८३० इ. सम्म जनसंख्याको दृष्टिले बेल्जियम हलैण्डभन्दा दोब्बर ठुलो थियो । तापनि सात सदस्यीय मन्त्रिमण्डलमा बेल्जियमको एकजना सदस्य मात्र मन्त्रि सामेल गराइएको थियो । हलैण्डका तत्कालीन राजा विलियम प्रथमले बेल्जियमप्रति अपमानित र विभेदकारी ब्यवहार देखाए । डच कानुनहरू लागु गरियो र डच अधिकारीहरूको भरमार नियुक्ति गरियो । बेल्जियमको व्यापारलाई समाप्त पार्न ज्यादा करहरू लगाइयो । ब्याक्तिगत अधिकार, प्रेस, सभा तथा लेखहरूमाथि प्रतिबन्ध लगाइयो । बिद्यालयहरूमा प्रोटेस्ट धर्म गुरुहरू नियुक्त गरियो। तर बेल्जियमका करिब ८० प्रतिशस क्याथोलिकहरुलाई दमन गर्ने नीति लागु गरियो।
यस्ता विभेदकारी कानुनहरू लागु गर्दै अन्तमा ट्युटोनिक ‘डच’ भाषालाई राष्ट्र भाषा बनाउने घोषणा गरेपछि बेल्जिकहरू आन्दोलित हुन थाले र राजा विलियम प्रथमसँग स्वशासनको माग गरे । राजाले त्यो मागलाई इन्कार गरिदिए । त्यसपछि आन्दोलनको आँधीबेहरी शुरु भयो । त्यो आन्दोलनमा फ़्लान्दर र वालोनिका कुलीन तथा पादरीहरूको पनि साथ थियो ।
बेल्जिकहरूले हलैण्डको साँस्कृतिक दासताको विरुद्ध हतियार उठाउने निर्णय गरे । राजधानी ब्रसेलमा हजारौँ बेल्जिकहरूले हतियार उठाएर आफ्नो सैनिक संगठन निर्माण गरे । हजारौँ बेल्जिक सशस्त्र मुक्तिसेनाको छापामार कारवाही तथा खुल्ला आक्रमणलाई सहन नसकेर डच सेना रातारात भागे । हलैण्डले फेरि स्वतन्त्रता संग्रामलाई दबाउन हजारौँ डच सेना बेल्जियम पठायो । माटोको कसम खाएर हतियार उठाएका बेल्जिक मुक्ति सेनासँग हलैण्डको जनसेना हार्यो । त्यो स्वतन्त्रता संग्राममा बेल्जिकहरूको जित देखेर सम्पूर्ण युरोप आश्चर्य चकित भयो । त्यो स्वतन्त्रता संग्रामलाई वर्षको एकपटक बेल्जियमको महान स्वतन्त्रता संग्राम (Belgium War of Independence-1821-32) भनेर सम्मान गरिन्छ ।
बेल्जिकहरूले १८३० इ.मा संविधानसभाको निर्माण गर्दै स्वतन्त्र राज्यको घोषणा गरे । त्यसको लगत्तै संविधानसभाबाट संविधानको निर्माण गरियो । फ्रान्सका राजा लुई फिलीपका माइला छोरा ड्युक अफ नेमुरलाई बेल्जियमको राजासमेत बनाइयो । तात्कालिक बेलायतका प्रधानमन्त्री लर्ड पाल्मरसनले नेमुरलाई राजा बनाएकोमा कडा विरोध जनाए । उनी बेल्जियमलाई फ्रान्सको नियन्त्रणमा जान दिन कदापि चाहँदैनथे । किनकि त्यो बेला फ्रान्स र बेलायतको राजनैतिक दुस्मनी थियो। बेलायतले आफ्नो तर्फबाट बेलायतमा निर्वासित जीवन बिताइरहेका जर्मन राजकुमार लियोपोल्डलाई राजा बनाउन बेल्जियमलाई कडा दवाव दियो । बेलायतको दवावमा परेर बेल्जियमद्वारा पुनः राजा घोषणा भै सकेका नेमुरलाई हटाइ २१ जुलाई १८३१ इ.मा लियोपोल्डलाई बेल्जियमको राजगद्दीमा राखियो ।

लियोपोल्डलाई राजा घोषणा गरेकै जुलाई महिनामा युरोपका सबै राष्ट्रहरूको लण्डन सम्मेलनले बेल्जियमलाई एक स्वतन्त्र र तटस्थ राष्ट्रको मान्यता दियो।
बेल्जियम अधिराज्यको जन्म भएपछि बेल्जिकहरू आफ्नो राजनैतिक निर्णयका आफै मालिक बने । उनीहरूले आफ्नो राजनैतिक आस्था अनुशार संगठित हुन विभिन्न पार्टीहरू स्थापना गर्दै गए । यो नै बेल्जियमको इतिहाँसमा गरिएको अस्तित्वको लडाई थियो। यो देश भाषिक र धार्मिक पहिचानबाट जन्मेको हुनाले अहिलेसम्म संघिय प्रणालीमार्फत पहिचानको विकासलाई संस्थागत गरिरहेको देखिन्छ।
त्यसैले इतिहासका विभिन्न राजनैतिक उतारचढावको सामना गर्दै बेल्जियम अहिलेको अति विकसित अवस्थामा आएको हो। सन् १९१४ देखि १८ सम्मको प्रथम विश्व युद्धबाट तहसनहस बनाइएको बेल्जियम आफ्नै बुतामा फेरी खडा भएको हो।बेल्जियमको बिकासमा युद्धबाट मानब शक्तिको बिनास भएकोले मोरक्को,अल्जेरिया,कंगो लगायत धेरै देशबाट मानब शक्ति ल्याएर यहाँको निर्माण उद्योगलाई आत्मनिर्भर बनाउने काम भयो। त्यो बेला बेल्जियममा दक्षिण पूर्वी एसियाबाट काम गर्नकोलागि बेल्जियम आएको खासै उल्लेख छैन।
बेल्जियम देश बनेपछि पनि युरोपमा भएका पटक पटकका साम्राज्यबादी देशहरुले अनाबस्यक युद्धको खेति गरिरहे। कहिले जर्मन,फ्रान्स त कहिले बेलायतले आफ्नो निहित स्वार्थको लागि बेल्जियमको धर्तीलाई तहसनहस पारि रहे। प्रत्येक पटक बेल्जियम आफ्नै सामर्थ्यमा उभिने प्रयास गर्दथ्यो। यहाँको राजनैतिक अबस्था संतिलित हुन खोज्ने बेलामा फेरी साम्राज्यबादीहरुले अर्को युद्धको मन्चन गरिसक्थे। धेरै समय बेल्जियमको राजनैतिक अबस्थामा युद्धको पीडाले मर्माहत बनाइरह्यो। यहाँको जनसंख्या स्वाभाविक मृत्युले भन्दा लादिएको युद्धले न्यून हुदै गयो र दोश्रो युद्ध पछि बेल्जिक सरणार्थिको साथै बिदेशबाट समेत थप जनसक्ति ल्याउनु पर्ने अबस्था सृजना हुन गयो।

दोश्रो विश्व युद्ध पछिको सन्नाटाले बेल्जियमलाई बिस्तारै नब निर्माणको बाटोमा हिडाउने सामर्थ्यवान देखाउन थाल्यो। युद्धमा नामेट पारिएका गाउँ सहरहरुको अस्तित्व बिस्तारै सल्बलाउन थाल्यो। राजनीतिले मुलुकको स्थिरताको लागि प्रयत्न गर्दै आफ्ना नागरिकहरुको समृद्धिको लागि आबस्यक नीति तर्जुमा गर्दै अगाडी बढ्यो। बेलायत लगायत विभिन्न देशमा युद्ध शरणार्थी जिबन बिताईरहेका आफ्ना नागरिक बेल्जियमले फर्काउन थाल्यो। बिकासले गति लियो र टेक्सटायल उद्योग,कृषिको आधुनिकिकरण र व्यापारिक उन्नतिले देश बिकसित बन्यो। सन् १९६० पछि बेल्जियममा पनि तुर्क,ट्युनिशिया,अफ्रिका र चाइनाबाट समेत सरणार्थी आउने क्रम शुरु भयो।
त्यो बेला सम्म बाहिरि संसारमा बेल्जियमबारे न कसैले सुनेका थिए,न कसैलाई चासो नै थियो। बेल्जियम एक आफ्नै परिधिको गहिराईमा हराएको सानो देश थियो। बेल्जियम जन्मदा र त्यस पछिका युद्ध र संघर्षहरुले बेल्जियमलाई बिकास र समृद्धिको लाइनमा क्रमश उभ्याउदै लग्यो। राजनीतिमा पनि दायाँ र बायाँ सोचबिच चलि रहने द्वन्दले देश थिरिएर हिड्न सक्ने बनायो। छिमेकी देशहरुको आर्थिक,सामाजिक,प्राबिधिक र सामरिक प्रभाव स्वरुप बेल्जियम युरोपियन युनियनको भ्रुण ७६६५७ वर्ग किलोमिटरमा फैलिएको बेनेलक्सको क्षेत्रीय आर्थिक संरचनामा गयो।
क्रमस समयको गति एक स्थानमा पर्खेर बसेन। बेल्जियम हाल भएको युरोपियन युनियनको भुर्ण मानिएको बेनेलक्सको पनि प्रस्तावक संस्थापक बन्यो भने सेन्जेन सम्झौताको पनि प्रतावक संस्थापक राष्ट्र बन्यो।
पश्चिम युरोपका पांच राष्ट्रले लग्जेम्बर्गको एक सेन्जेन गाउँमा बसेर बेल्जियम लागायत ५ देशले सन् १४ जुन १९८५ मा सामुहिक कुटनैतिक एकबद्धता कायम गर्ने सम्झौता गरे। मानिसहरुको स्वतन्त्र आवागमन मूल संधिको एक मुख्य भाग थियो। यूरोपीयन आर्थिक समुदायको प्रारम्भिक दिनहरु देखि, EEC सदस्य राज्यहरुको नागरिकहरु आफ्नो पासपोर्ट प्रयोग गरेर सन्धिमा आबद्ध राष्ट्रमा आर्थिक गतिबिधि समेत गर्ने स्वतन्त्रता प्राप्त गरे।
सेन्जेन (Schengen) लग्जेम्बर्गको एक सानो रक्सी बनाउनको लागि प्रख्यात गाउँको नाम हो। सुदूर दक्षिण पूर्वी लक्जमबर्गमा मोसेले नदीको पश्चिमी किनारमा यो कम्युन अबस्थित छ । कम्युन सीमामा ट्रिपपोइन्ट सामेल छ जहाँ जर्मनी, फ्रान्स र लक्जमबर्गको सिमानाहरु एकै स्थानमा अचम्मसंग मिल्दछन्। त्यहि नै बसेर पक्ष राष्ट्रहरुले सेन्जेन सम्झौतामा हस्ताक्षर गरेका थिए।
त्यो परिवेश पछि बेल्जियमको साँघुरो राष्ट्रिय घेरा फराकिलो भयो र बेल्जियममा पनि विभिन्न देशहरुबाट आप्रबासी सरणार्थिहरु आउन थाले। भारतबाट आएका गुजरातीहरुले बेल्जियम आएर हिरा लगायत खनिज पथ्थरहरुको कारोबार गर्न थाले। नेपालीहरु फाट्ट फ़ुट्ट उनीहरुकै भान्से वा कामदारको रुपमा आए पनि आप्रबासीको रुपमा नेपाली आएको १९८८ अगाडीसम्म कुनै प्रमाण भेटिदैन। ९०को दशक पछि क्रमस नेपालीहरु शरणार्थीको रुपमा बेल्जियम आएका हुन्। उनीहरुले बेल्जियम आएर संगठित हुने अभ्यास गरे वा गरेनन अहिलेसम्म एकिन तथ्य भेटिएको छैन। तर तात्कालिक अबस्थामा स्याङ्जाबाट आई बेल्जियम बसोबास गरेका एक नेपाली ध्रुब पौडेलले आफ्नो संयोजकत्वमा नेपाली कांग्रेश बेल्जियम सम्पर्क समिति बनाएको देखिन्छ। कमजोर अबस्थामा भएपनि त्यो राजनैतीक आस्था समर्थित बेल्जियमको पहिलो दर्ताबिहिन समिति थियो।
नेपालमा भएको बिद्रोह भन्दा अगाडी सन् १९९२ सेप्टेम्बरमा बेल्जियम आएका तात्कालिक भाषा अनुवादक तथा एनआरएनए बेल्जियमका संस्थापक अध्यक्ष रबिन्द्रमान श्रेष्ठका अनुशार बेल्जियम आउने पहिलो नेपालीको बास्तविक रेकर्ड आँफुसंग नभएपनि बेल्जिकहरुसंग बिबाह गरेर आएका ओमु दिदी बहिनीहरु धेरै अगाडीदेखि बेल्जियममा रहेको देखिन्छ। त्यसपछि राजु घिमिरे र लामादाईलाई बेल्जियममा बसोबास गर्नेमा ९० को दशक अगाडिका मानिन्छ।
तर बेल्जियममा बेलायति सेनामा कार्यरत गोरखाली तथा भारतीय सैनिकहरु भने जर्मनी सेनासँगको लडाईमा धेरै नै हताहती भएको इपरमा रहेको सैनिक सहिद स्मारकमा उल्लेख गरिएको छ। (अब क्रमश इपरमा गोर्खाली सेनाको सहादतबारे लेख आउने छ, हेर्न नभुल्नु होला )
जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij