शनिबार, कार्तिक ६ २०७८
डिल्ली राम अम्माई (अनाथ अंकल )
कँडेल बंसजको गौरब र त्यागका प्रतिमूर्ति बाग्लुङ्ग, बिहुँ निबासी नेपाली कांग्रेसका पुर्व जिल्ला सभापति,पुर्व शंसाद आदरणीय गोबिन्द प्रसाद शर्मा कँडेल,उहाँकी धर्म पत्नी विश्व देबी शर्मा कँडेलको यहि बिक्रम सम्बत २०७८ कार्तिक ३ गते पुर्णिमाको पावन अवसरमा भएको चौरासी जन्मोत्सवमा मेरो परिवारबाट उपस्थित हुन सकेनौँ। त्यो उत्सवको महत्व बोध हुँदाहुँदै पनि बिना कारण उपस्थीत हुन नस्कनुमा घर मुली भएको कारण मेरै निर्णय दोष प्रधान हो भन्ने महसुस गरेको छु । सके म समेत नभए उहाँको बंसज सन्तानलाई मैले बुबाको चौरासी जन्मोत्सवमा पठाउनु पर्थ्यो। अफसोच पठाउन सकिन।
नेपाल र बेल्जियम दुरीको हिसावले टाढा भए पनि साधनको हिसावले सुगम छ। तर यो पावन अवसर मिस गरेकोमा मेरै निर्णय दोषको हृदयदेखि नै प्रायश्चित गर्नुको बिकल्प मसँग छैन। ससुरा बुबा-आमाको पावन चौरासी पर्वलाई मैले बुझेरै अबहेलना गरें। म उपस्थित नहुनु नै अबहेलना हो भन्ने मेरो निष्कर्ष हो। मैले त्यसको महत्व नबुझेर नगएको पनि हैन। त्यो दुर्लभ आत्मिक दिब्यताको बोध हुने सितल चन्द्रमा पुजा ! ओहो! मैले मिस गरेँ !
जीवनमा मुक्तिको दिब्य प्रकासको बोध हुनुलाई हजार चन्द्रमाको सितलताले प्रतिबिम्बित गर्छ। हाम्रो सरिरभित्र हजार चन्द्रमाका किरणहरुले सिञ्चन गरेपछि रातको अनुभव हराएर जान्छ भनिन्छ। रातको अनुभवमा निशाचरको भेद,मानसिक अज्ञानताको परछायाले सरिरबाट बिदा लिएको बेला सरिरमा जीवनका अन्तिम दिनहरुको अनुभव हुन्छ।आध्यात्मिक जनहरुले भन्दछन,’आफन्तहरुबिच गरिने उत्तरार्धका मिलनलाई धार्मिक भावले सिञ्चन गरेपछि आत्मामा उज्यालो बाहेक केहि रहदैन।’ त्यसैले यो उत्सव जीवनको सन्यास अभ्यासको लयमा जोडेर मनाउने गरिन्छ। प्रसिद्ध संगीत गायिका आनी चोयिङ्ग डोल्माले फुलको आँखामा भन्ने गीतमा उच्चारण गरेका शब्दहरुले मानिसको यस्तै खाले परमार्थी ज्ञानलाई संकेत गर्दछन,
‘टह टह जून देखुँ कालो रातैमा
जीबन संगित सुनु म सुख पातैमा
सङ्लो मनमा खुल्छ है संग्लै संसार
काँडाको आँखामा काँडै संसार’
बास्तवमा चौरासी उत्सव जीवनको अन्तिम अबस्थामा मनलाई संल्याउने र बिताएका जीवनको सार्थक अभ्यास गर्ने,कतिपय गलत कर्म गरिएको रहेछ भने धार्मिक विधिले प्रायश्चित्त गर्ने र आँफुलाई बुद्धतत्व प्राप्तिको लागि अभ्यासरत बनाउने वा ब्रम्ह बिलयको लागि मानसिक रुपले तयार गर्ने अन्तिम पर्व पनि हो। त्यसले यो जन्मोत्सव पर्वलाई जीवनको अत्यान्त पावन र मुक्तिदायिनी पर्वको रुपमा लिइन्छ। यसको मुख्य भागमा मुक्ति र आत्मिक सान्तिको प्रतिक चन्द्रमाको पुजा गरिन्छ। जीवनका तिब्र उर्जा र तापमय यात्राका क्रममा प्राप्त हुने मनोबिकारलाई पावन बनाउने उत्सव पनि यहि हो। चौरासी चन्द्रमालाई मुक्ति बिम्बको रुपमा पुज्नुको अर्थ पनि आफ्नो जीवनको मलिन उर्जाको सितलताले आँफुलाई भिजाउनु भन्ने हुन्छ। यो पर्व मानबहरुमा कमले मात्र मनाउने अवसर पाउछन।
यो सबै अवसर हाम्रा आदरणीय गोबिन्द बुवा र माता विश्व देवीले प्राप्त गर्नु भयो तसर्थ उहाँहरु धन्य हुनुहुन्छ। हामीलाई महिनौं अगाडिबाट आफ्नो चौरासी जन्मोत्सवमा उपस्थितिको लागि खबर समेत गर्नु भयो। त्यो पावन अवसरलाई हामीले महत्व दिएनौं वा दिन सकेनौं। हामीलाई ज्ञात थियो,तपाइले हाम्रो उपस्थितिको आशा गर्नु भएको थियो। हाम्रो दुर्भाग्य हामी उपस्थित हुन सकेनौँ। बुवा आमा, यो तपाइहरुसँगको गुनासो नभएर मेरो आत्मिक पश्याताप मात्र हो।
बुवा,तपाई बाग्लुङ्ग जिल्लाको भुतपुर्व सांसद भएकोले वा धवालागीरिकै नेपाली कांग्रेशको नेता भएकोले भन्दा पनि हामी आफ्ना अबिभावाकत्वको सम्मान गरेर तपाइको पावन चौरासी उत्सवमा सहभागी हुनु पर्थ्यो। यो पर्व तपाइको उत्तरार्धको पावन पर्व मात्र नभएर परिवारसँग धार्मिक विधिले भेटिने करिब करिव बिदाई दिवस पनि हो। तपाइहरुको आत्मा र सरिरबिचको भेद छुट्टयाउने पावन यो पर्वलाई हामीले छोड्नु हुदैनथ्यो। फेरी पनि भनेँ,कदापि छोड्नु हुदैनथ्यो तर हाम्रो दुर्भाग्य छुट्यो।
यस्तो पावन पर्व जुन तपाईहरुको जीवनमा खाली एक पटक संयोगले आयो। तपाइका सहकर्मी नेताहरु हजुरलाई शुभकामना दिन तपाइकै अनुष्ठानमा पुगे। खराब मौसमको समेत प्रवाह नगरेर कांग्रेशका बरिष्ठ नेता रामचन्द्र पौडेल समेत केन्द्रको शुभकामना सहित हजुरको दर्शनमा हाजिर हुनुभयो। सम्पूर्ण दलहरुले औपचारिक अनौपचाचारी रुपमा हजुरलाई दिर्घ जीवनको शुभकामना दिए र आशिर्वाद समेत लिन उपस्थित भए। यो सब तपाइँ प्रतिको सद्भाव र प्रेमले गर्दा सम्भव भएको हो। तर त्यसमा हामी उपस्थित हुन सकेनौँ।
तपाइको त्यो कामना,आशा र उत्सवको अभिष्ट अगाडी मेरा अन्य काम त के जीवन भरिका अन्य संकल्पहरु पनि खरानी सरह हुन्। ति कथित परिस्थितिहरुको स्वाङ्ग रचेर म ज्वाई भनाउदो तपाइको चौरासीमा उपस्थित हुन नसक्नु मेरो लागि जीवनको ठुलो पछुतो हो। तपाइँ मेरो बुवा सरह हो,तपाइको निमन्त्रणा पाइसके पछि म कुनै हालतमा पनि त्यो देव यज्ञमा उपस्थित हुनु पर्ने थियो। तपाइँ यो धर्तीमा रहुन्जेल तपाइँहरुको अपेक्षा विरुद्धका हाम्रा निर्णयहरु कदापि प्रमुख हुन सक्दैनन्। यो अबस्थामा हामी तपाईकै निर्णय,इच्छा र कामनामा हामी एकाकार हुनु पर्ने हो। त्यो हुन सकेन,त्यसैले बुबा हामीलाई अझ बिशेष गरि मलाई कहिल्यै माफ नगर्नु होला। म लाचार हुँदै कम महत्व बोकेका कर्मका कारण आफ्ना अविभावकको इच्छा कुल्चने,आशा र प्रतीक्षाको बध गर्ने ज्वाई भएँ। म आँफैले आँफुलाई माफ गर्न नसकेको अबस्थामा तपाइले पनि मलाई माफ गर्नुभयो भने पितृ दोषमा पर्ने छु। गोबिन्द बुबा, मेरा जीवनका असह्य पिडाहरुमा तपाइले मलाई सहास दिनुहुन्थ्यो। ति समस्याहरुको सरलीकरण गर्न तपाइले के गर्नु भएन ? सक्ने सबै सहयोग गर्नु भएको हो। तर…….. तर मैले के गरें ?धत्,म तपाइको ज्वाई हुन सुहाउने पात्र नै हैन कि आज आँफैसंग प्रश्न गर्न मन लागेको छ।
बुवा,यो पश्याताप मेरो भावनाको गहिराईबाट मेलम्चीको भेल झैं आयो। र कामबाट बाहिर निस्केर यी हरफ लेख्न बसेँ। मैले तपाइको जीवनको उत्तरार्धमा गरेको तपाइकै जीवनको सबैभन्दा उत्तम पर्वमा सहभागी भएर तपाइहरुको आशिर्वाद लिन चुकेको कुराले मलाई सताइरह्यो। मैले पटक्कै खप्न सकिन र अभिसप्त ब्याधा झैँ छटपटाइ रहेको छु।
बुवा,तपाइले संसारकै उत्तम परोपकारी मानव सेवा र समाजबादी आदर्श सहितको राजनीति सिकाएका कति चेला चौरासी महायज्ञमा तपाइको आशिर्वाद लिन आए वा आएनन थाह भएन। तपाइकै बंशज,सन्तान,दर सन्तान,आफन्त र बान्धव तपाइको जीवनका पछिल्ला चन्द्रमाको सितलतामा रुझ्न महाप्रस्थानको पूर्ववत महायज्ञमा पुगेर तपाइको आशिर्वाद लिने धोको पुरा भएन ।
मैले यो भुलमा कसैसंग माफी माग्दिन। आमा र तपाइँसंग पनि माफी माग्दिन। किनकि माफी माग्न पनि त्यसको योग्यता आबस्यक हुन्छ। यस पटक प्रमाणित भयो कि मसंग त्यसको योग्यता रहेनछ। यी शब्दहरु मार्फत मैले आफ्नै भुल कर्मको प्रायश्चित्त गरेको हुँ। यो प्रायश्चित्त अरु कसैसंग गरेको छैन,केवल मेरो प्रारब्धसंग,मन संकट मोचानको लागि र आत्माको औडाह मार्न मात्र गरेको हुँ। यो मेरो चित्कार ! राबणको अन्तिम अबस्थाको चित्कार जस्तै,आँफै मृत्यु शैयामा छ तर लक्ष्मणलाई महान ज्ञान दिन तम्सेको छ , बरा ! त्यो चित्कार थियो वा ज्ञान ? म त भन्छु त्यो चित्कार थियो तर रामले राबणको स्वाभिमानको रक्षार्थ चित्कारलाई ज्ञान भनिदिए।
इश्वर ! मेरै आफ्नै निर्णयको कारण ति महापुरुषको आत्मा बिजय यात्रामा सहभागी हुन पाइन। यी देशको भाग्य सम्झेर रुने,देशकै भाग्य बदल्न लड्ने र आफ्नो क्रान्तिकारी निष्ठामा जीवन प्रयन्त सतिशाल बनेर संसारका लोभी पापीहरुलाई चुनौती दिने महा तपस्वी,प्रजातन्त्र तथा मानवताका रथीको तिर्थ उत्सवमा म किन सहभागी भइन? नजानु पर्ने र जान नसक्ने सारीरिक असक्तता बाहेकको कुनै कारण त थिएन।
कार्तिक ३ गतेको यो पर्व बुवा आमाको लागि त दुर्लभ पर्व हुँदै हो। सम्पूर्ण सन्तान र त्यो कुल जसले सदियौं पछि यो आयुको रेखा काट्ने महापुरुष जन्मायो,ति सबै कुल बन्धुहरुको लागि पनि अस्वमेघ यज्ञ भन्दा ठुलो अनुष्ठान हो। मान सरोबर,स्वर्गद्वारी,काशी,गया लगायत चार धामको यात्रा पैसा हुनेले बारम्बार गर्न सक्छन। तर आयुको उत्तरार्धमा पर्ने मानिसको देव अनुष्ठान पैसाको बलमा असम्भव छ। चौरासी उत्सव जीवनको दुर्लभ र कयौं पुस्तामा केवल एक पटक प्राप्त हुने मुक्ति उत्सव हो। यो त्यस्तो पर्व हो जसले जिवनमा चाहेर गर्न सक्दैन। कल्पना गरेर,पैसा खर्च गरेर र जीवनभर बैध्यको बिचमा बसेर पनि यो अवसर प्राप्त गर्न सम्भव छैन। यो केवल आत्म र जीवनको सन्तुलनले सम्भव छ। तसर्थ लामो आयुको लागि देव आशिर्वाद आबश्यक छ भनिएको होला।
मानव जीवनको प्रारब्धमा चौरासी पुजा पछि मानिसलाई जीवित इश्वरको उपमा दिइन्छ। त्यसैले चौरासीको पावन यज्ञ सम्पूर्ण कुल देवताहरुको बिधि पुर्वक आह्वान गरेर अनुष्ठान गरिन्छ। कृतिम बहानामा जीवित इश्वरको यज्ञ अनुष्ठान छुटाउने बंसजका सन्तानलाई बाबु आमा समेत भन्ने अधिकार हुँदैन। मैले हजुरको भाइकि छोरी बिबाह गरेपनि धेरै ठाउँमा तपाइकै नाम प्रयोग गरेर परिचय दिएको छु। त्यसैले मलाई तपाइको इच्छा अबहेलानाको दण्ड मिल्नु पर्छ। अब म तपाइको सन्मुख कसरि जाने होला ? मलाई बहाना बनाउन पनि आउदैन। बहाना बनाइहाले पनि ति बहाना किमार्थ सत्य हुने छैनन्। कि ति बाहना ‘कामबाट बिदा मिलेन होलान कि छोड्न मिलेन’यस्तै यस्तै हुने छन्।स्वास्थ्य एक अपबाद हुन सक्छ तर म स्वास्थ्य छु। मैले बहाना बनाएर बताउँदा तपाइले पत्याउन सम्भव छ तर आफ्नै आत्मा वा बिश्वासिको लागि ईश्वर, त्यसले कसरि पत्याउला ! मलाई थाह छ बुबा,सन्तानको लागि बाबु आमाका सपना पुरा गर्नु तुल्य मोक्ष कर्म अरु केहि हुन सक्दैन। त्यसैले कुनै बहानाबाजी गरेर आफ्ना अग्रजलाई छल्नु कार्यक्रममा उपस्थित हुन नसक्नु भन्दा ठुलो आत्मिक अपराध हो।
तपाइको लागि जाबो अरुले दिएको नोकरको पद र परिवार दुई दिन, साता वा महिना त्याग्न नसक्नेले केको पितृ भक्त भनेर गफ दिनु !
त्यसैले म त भन्छु आफ्नो अविभावकलाई प्रतिक्षाको आशाले रुझाएको सजाय भोग्नु पर्छ। त्यो बृद्ध प्रतीक्षामा धोका हिंशा हो,अपराध हो,जसको सजाय उनका कथित बन्धुहरुले मृत्यु प्रयन्त पाउनु पर्छ।
मैले आँफैलाई भनिरहेको छु कि मेरो प्रारब्ध मेरै गलत निर्णयको कारणले दुषित बन्यो। आदरणीय गोबिन्द बुवाको बंसजको रगत मेरो घरमा छ। त्यो रगत मार्फत उहाँहरुका पितृजनको आत्मिक तरंग (spritual vibretion)ले मेरो घरमा समेत प्रवेश गरेको छ। मेरो निर्णयले पितृ दोष भेट्यो भनेर त्यसै कारण भनेको। त्यो मात्रै भएन देव दोष पनि पर्यो, बाबु आमा देवता पनि हुन्। फेरी चौरासी पुजा दैविक अनुष्ठान पनि हो। त्यो दोष क्षमा योग्य हुन्छ ? हुदैन।
अर्को तर्फ,बाबु आमालाई निरास बनाउने सन्तानको एक कारणमात्र पनि माफ गर्न लायक हुँदैन। सन्तानका हजार लक्ष र सामर्थ्य माता पिताहरुको निरासाले खरानी हुन्छन। अरु के कुरा गर्नु,महर्षि परशु राम तथा श्रवण कुमारकै उदाहरण पितृ भक्तिको लागि काफी छन्।
मातृ-पितृ भक्त छोरा श्रवण कुमार,जमदग्नि ऋषिका छोरा परशुरामले बाबुको आदेश पालना गर्दै आमा रेणुकाको सिर छेदन गरे। बाबुको रिसको कारण थियो गन्धर्ब राज चित्ररथको अप्सराहरुसंग गरेको सम्भोग दृश्य रेणुकाले हेरेकी थिइन। उनले त्यो दृश्य देखेर धेरैबेर कल्पनामा हराइन र घरमा पुजाको लागि नदीको जल लैजान ढिला गरिन। त्यसैले जमदग्निले आफ्नी पत्नीको उक्त मनोदशालाई मानसिक व्यभिचार भन्दै छोरा परशुरामलाई आमाको शिर छेदन गर्ने आदेश दिए। तर आंफुले मागेको बरदान दिने शर्तमा उनले आमाको शिर छेदन गरेका थिए। उनले आमाको शिर छेदन पछि मागेको बरदान तीन शर्तहरु थिए :
१ – माता पुन: जीवित हुनु पर्छ ।
२ – बुवालाई माताको दोषबारे तथा मातालाई त्यो सबै घटनाको स्मरण न रहोस ।
३ – सबै भाई जसलाई पिताको आज्ञा नमान्नाले चेतना बिहिन हुने ऋषिको सराप परेको थियो ति सबैको चेतना फिर्ता होस् ।
यसरि आफ्ना माता पिताको आदेशलाई सर्वस्व मान्ने केहि महापुरुषको बर्णन पौराणिक शास्त्रहरुमा समेत पाइन्छ। त्यसैले पिताको आज्ञा नमान्नुमा महा दोश छ भनिएको हो।
सतबार्षिक अथवा सताब्दी उत्सव त लाखौँ करोडौंमा एकाधलाई प्राप्त हुन्छ। त्यस्तै चौरासी जन्मोत्सव हजारौंमा एकाधलाई प्राप्त हुने हो। यो उत्सव आफ्नो बंसजको कयौँ पुस्ताबीच एकाध पटक आउँछ। बंसजका सौभाग्यशाली शाखामा संयोगले प्राप्त हुने यो अवसर नियतिले गुमे पछि अब पश्यातापको बिकल्प रहेन।
बुबा आमाले सन्तानको लागि गरेको खर्चको कहिल्यै हिसाव गर्दैनन्। त्यसैले हामीले पनि आफ्ना अविभावकको लालन पालन वा स्याहारमा गरेको लगानीलाई हिसाव गर्नु पाप हुन्छ। खै धार्मिक अनुष्ठान सहितको बुबाको चौरासी जन्मोत्सवमा के कुराको हिसाव निकालेर मेरो नियतिले उपस्थित हुन दिएन। मलाई आशा छ,प्रारब्धले यो भूलको तौल हेरर उचित दण्ड दिने छ।
अन्तमा,पावन चौरासीऔं जन्म दिवसको दिब्य शुभकामना,गोबिन्द बुबा र विश्व देबी आमा !!
(कँडेल बंसजको गौरब र त्यागका प्रतिमूर्ति बाग्लुङ्ग, बिहुँ निबासी नेपाली कांग्रेसका पुर्व जिल्ला सभापति,पुर्व शंसाद आदरणीय गोबिन्द प्रसाद शर्मा कँडेल,उहाँकी धर्म पत्नी विश्व देबी शर्मा कँडेलको यहि बिक्रम सम्बत २०७८ कार्तिक ३ गते पुर्णिमाको पावन अवसरमा भएको पावन चौरासी जन्मोत्सवमा उपस्थित सबै बान्धवहरु प्रति समर्पित )
जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij