४ भदै, लण्डन । आफूहरु विरुद्ध असमान व्यवहार गरेको भन्दै १३ दिनदेखि लण्डनस्थित बेलायती प्रधानमन्त्री कार्यालय अगाडि आमरण अनशन बसेका भूतपूर्व गोर्खा सैनिकहरुले बिहीबार अनशन तोडेका छन ।
गोर्खा सैनिकका मागका सम्बन्धमा बेलायतको रक्षा मन्त्रालयले बेलायतस्थित नेपाली राजदूतलाई पत्र पठाएपछि अनशन तोडिएको आन्दोलतरत गोर्खा सत्याग्रह संयुक्त सङ्घर्ष समितिका प्रमुख संयोजक कृष्ण बहादुर राईले जानकारी दिनुभयो ।
यसअघि गोर्खा सैनिकहरु साउन ६ गतेदेखि १७ दिनसम्म रिले अनशनमा बसेका थिए ।
आमरण अनशन बस्नु भएका भूतपूर्व गोर्खाहरु ज्ञानराज राई,धनबहादुर गुरुङ तथा गोर्खा एकल महिला पुष्पा राना घलेलाई बेलायत सरकारका रक्षा राज्यमन्त्री लियो डोचेर्टी र बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीलले जुस पिलाएर अनसन तोडाउनु भएको थियो ।
पत्रमा नेपाल र संयुक्त अधिराज्य तथा पूर्व गोखाका प्रतिनिधि सम्मिलित उच्चस्तरीय वार्ता समिति गठन गर्ने र सो समितिले २०२१ डिसेम्बरसम्ममा पहिलो औपचारिक वार्ता शुरु गर्ने उल्लेख गरिएको छ ।
भूतपूर्व गोर्खा सैनिकले सन् १९९७ भन्दा पहिला ब्रिटिश सेनाबाट अवकाश प्राप्त गोर्खा सैनिकहरूले पेन्सन लगायतका विषयमा आफूहरूलाई भेदभाव गरिएको बताउँदै आएका छन् ।
भूतपूर्व गोर्खाहरुले १९४७ नोभेम्बर ९ को त्रिपक्षीय सन्धिको भावना अनुसार समान अधिकार पाउनुपर्छ भन्ने माग राख्दै आएका छन् ।
गोर्खा अनशनले बेलायतसहित नेपालमा चौतर्फी चर्चा पाएसँग यो सबैको चासोको विषय बनेको थियो । नेपालको सङ्घीय संसद,राजनीतिक दल,नागरिक समाजका साथै बेलायतका सञ्चार माध्यम र सांसदहरुले समेत यस विषयमा चासो दिदै समाधानका खोज्न आग्रह गरेका थिए ।