काठमाडौं(जस)–भारी वर्षासँगै गएको बाढी, पहिरो र डुबानका कारण बिहीबार मुलुकका विभिन्न क्षेत्रको जनजीवन प्रभावित भएको छ । रातिदेखि नै परेको वर्षाले यसपाली तराई क्षेत्र बढी प्रभावित भए पनि अन्य जिल्लामा जनधनको क्षति पु¥याएको छ । केही ठाउँमा पहिराले सडक अवरुद्ध पारेको छ । कतिपय ठाउँमा डुबान भएको र कतिपय स्थानका नदीमा पानीको बहाव उच्च हुन पुगेको छ । केही मानिसको मनसुनयन्य विपद्मा परेर मृत्यु भएको र केहीको उद्धार गरिएको छ । केही हराइरहेका गृह मन्त्रालयले जनाएको छ ।
तनहुँको बन्दीपुर गाउँपालिका वडा नं ३ मा माथिबाट खसेको पहिरोले घर पुर्दा वर्ष ३७ की हरिमाया नेपाली र सोही ठाउँ बस्ने सरस्वती थापाको मृत्यु भएको गृह मन्त्रालयले जानकारी दिएको छ । अन्य तीन जना घाइते भएका छन् । सोही जिल्लाको शुक्लागण्डकी नगरपालिकामा खसेको पहिरोमा परेका दुई जनाको सकुसल उद्धार गरिएको छ । यसपाली बाढी र डुबानले तराइका जिल्ला नराम्ररी प्रभावित भएका छन् । चितवनको रत्ननगर नगरपालिका–८ रमाइलो डाँडा क्षेत्रमा बुढी राप्ती बस्तीमा पस्दा २० घरका १०० जना विस्थापित भएका छन् । यस्तै सौराहाका केही क्षेत्र डुबानमा परेको छ ।
जिल्लाको राप्ती, कालिका ररत्ननगर नगरपालिका विभन्नि क्षेत्रसमेत प्रभावित भएको छ । राप्तीस्थित पम्फा खोला पसेर केही बस्ती नै डुबानमा पारेकाले १५० घर धुरीका ४०० जनालाई सुरक्षित क्षेत्रमा सारिएको छ । उक्त नगरपालिकामा पहिरोमा परेर दुईको मृत्यु भएको छ भने तीन बेपत्ता छन् । पहिरो खसेर नारायणगढ–मुग्लिन सडकसमेत दिनभर जसो नै अबरुद्ध हुन पुगेको छ । यस्तै पृथ्वी राजमार्गअन्तर्गत धादिङ र तनहुँखण्डका विभिन्न क्षेत्रमा पहिरो खसेर क्षति भएको छ । ठाउँठाउँमा सडकअवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरस्थित गैंडाकोटमा आएको बाढीले थुम्सीमा रहेको डाइभर्सनसमेत बगाएर सडक आवागमन प्रभावित भएको जनाइएको छ ।
यस्तै पर्साका केही बस्तीसमेत डुबानमा परेको छ । प्राप्त विवरणअनुसार बिहीबार हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जोड्ने कमला नदीको पुल भासिएको छ । मनाङमा समेत वर्षाले असर गरेको छ । महोत्तरी, लहानसहित तराइका जिल्ला तथा डोटीलगायत धेरै जिल्ला बिहीबारको वर्षाका कारण प्रभावित भएको छ ।मौसम विज्ञान विभागका अनुसार बिहीबार प्रदेश नं १, २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ । प्रदेश नं १, २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशकाका केही स्थानमा भारी वर्षा र सिमित ठाउँमा अति भारी वर्षा भएको छ । राति र शुक्रबार पनि मौसम बदली रहने छ ।
राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्रका अनुसार पछिल्लो १८ दिनमा विपद्सम्बन्धी १५८ वटा घटना भएका छन् । उक्त घटनामा परी ३३ जनाको मृत्यु भएको र ३० जना बेपत्ता भएको केन्द्रका प्रमुख दीलकुमार तामाङले जानकारी दिए ।
विपद्जन्य घटनामा परेर ३० जना घाइते भएका छन् । अहिलेसम्म ४७४ घरमा पूर्ण क्षति भएको छ भने ११२ घरमा आंशिक क्षति पुगेको छ । हालसम्म ३६ सरकारी कार्यालय, ६ सामुदायिक भवन र विद्यालय, २२ झोलुङ्गे पुल, १३ वटा पक्की पुल, १३ हाइड्रो पावर, पाँच साना पुल र २ वित्तीय संस्थामा क्षति पुगेको छ । यसअघि मनसुन प्रवेश गरेलगतै गएको बाढी पहिरोमा सिन्धुपाल्चोकका मेलम्ची क्षेत्र र मनाङ जिल्ला प्रभावित भएको थियो । उक्त समयमा ठूलो जनधनको क्षति भएको थियो । नेपालमा गत जेठ २८ गते मनसुन भित्रिएको थियो । जेठ ३० गते मुलुकभर नै मनसुनी वायुको प्रभाव पुगेको थियो । गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले भारी वर्षा भइरहेकाले बाढी पहिरो र डुबान हुन सक्ने जनाउँदै जोखिम क्षेत्रका बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन् । सरकारले जोखिम न्यूनीकरणसहित खोज, उद्धार, पुनःस्थापन तथा राहतका कार्यक्रमलाई उच्च प्राथमिकता दिँदै आएको छ ।
विपद्बाट हुने क्षति कम गर्न गृहमन्त्रीको निर्देशन
उपप्रधानमन्त्री तथा गृहमन्त्री विष्णुप्रसाद पौडेलले विपद्बाट हुन सक्ने सबै खालका क्षति न्यूनीकरणका लागि उच्च तयारीका साथ पूर्वतयारी गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । उनले उद्धार, राहत र पुनःस्थापना कार्यलाई उच्च प्राथमिकता दिएर काम गर्न पनि निर्देशन दिए ।
गृह मन्त्रालयमा बिहीबार भएको विपद् व्यवस्थापन सम्बन्ध िबैठकमा गृहमन्त्री पौडेलले देशका विभिन्न ठाउँमा अतिवृष्टिबाट सिर्जित जोखिमलाई विशेष ध्यान दिएर आवश्यक तयारीमा जुट्न पनि आग्रह गरे । उनले विपद्का कारण जोखिममा परेकालाई तत्काल उद्धार र राहत प्रदान गर्न सरकारले सम्भव भएका सबै प्रयास गर्ने प्रतिबद्धता जनाउँदै प्रभावकारी र नतिजामुखी भएर काम गर्न पनि सम्बद्ध निकायलाई निर्देश गरेका छन् । गृहमन्त्री पौडेलले राहत र उद्धारका लागि स्रोतको अभाव हुन नदिनेसमेत स्पष्ट पारे । ‘घटना भएपछि के गर्ने भन्दा पनि पहिले नै कसरी घटनालाई न्यूनीकरण गर्न सकिन्छ भन्नेमा केन्द्रित हुनुहोस’, गृहमन्त्री पौडेलले भने ।
राहत र उद्धारका लागि अन्तरमन्त्रालय र विभिन्न निकायबीच समन्वय हुनुपर्नेमा जोड दिँदै उनले कोही छुट्ने र कोही दोहोरिने स्थिति सिर्जना नहुने वातावारण निर्माण गर्न पनि आग्रह गरे । उनले क्षति न्यूनीकरणका लागि एकीकृत कार्य योजना ल्याउने तयारी भइरहेको जानकारी दिँदै अवरुद्ध भएका सडकलाई सञ्चालनदेखि पुनःस्थापना र पुनःनिर्माणका लागि समय तालिका बनाएर काम गर्न भनेका छन् । मन्त्री पौडेलले क्षति भएका ठाउँमा व्यवस्थित पुनःनिर्माणका लागि पनि योजना बनाएर गर्न पनि आग्रह गरेका छन् । तत्काल गर्नु पर्ने तयारीका साथसाथै विपद्बाट जोगिन दीर्घकालिन रुपमा गर्नु पर्ने कामलाई अघि बढाउन पनि उनले मातहतका निकायलाई निर्देशन दिएका छन् ।
गृहसचिव महेश्वर न्यौपानले कोषमा रु पाँच अर्ब भन्दा बढी रकम रहेकाले राहत र उद्धारमा स्रोतको कमी नहुने जानकारी दिए । उनले क्षति, उद्धार र राहतमा भएका कार्यहरु, अवरुद्ध सेवा सञ्चालन, प्रभावकारी नतिजाका लागि गर्नुपर्ने कार्यलगायतलाई समावेश गरेर एकीकृत योजना ल्याउने बताए । बैठकमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बाढी पहिरो लगायतले पुर्याएको क्षति र नोक्सानीको यकिन विवरण र आर्थिकलगायत निकाली पुनःस्थापना र पुनःनिर्माणका कार्य अघि बढाउने तयारी भएको जानकारी गराए । बैठकमा विभिन्न मन्त्रालयका सचिवसहितका अधिकारीको सहभागिता थियो ।