बुधबार, असार २ २०७८
काठमाडौ(जस)–सातवटै प्रदेश सरकारहरूले आर्थिक वर्ष २०७८र०७९ का लागि मंगलबार बजेट सार्वजनिक गरेका छन् । प्रदेश सरकारले हरेक वर्ष असार १ मा बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था छ । सातै प्रदेशमा नीति तथा कार्यक्रम आइसकेको थियो । सबै प्रदेशमा यसपटकको बजेट मुख्यगरी स्वास्थ्य क्षेत्रमा केन्द्रित रहेको छ । कोरोना महामारी रोकथाम तथा नियन्त्रण प्रदेशहरूको पनि प्राथमिकतामा परेको छ ।
प्रदेश नं १ को बजेट सार्वजनिक
प्रदेश नं १ को आठौँ तथा बजेट अधिवेशनको मंगलबार बसेको बैठकमा आर्थिक वर्ष २०७८÷७९ का लागि वार्षिक बजेट सार्वजनिक भएको छ । प्रदेशसभा नियमावली, २०७४ को नियम११४(१) बमोजिम आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङ्बुहाङले आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गरे । सो बजेटमा आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रमहरु कार्यान्वयन गर्न रु.३२ अर्व ४६ करोड ९२ लाखको विनियोजन भएको छ । कुल विनियोजन मध्ये चालु तर्फ रु.१४ अर्व १६ करोड १५ लाख अर्थात ४३ दशमलव छ प्रतिशत, पूँजीगत तर्फ रु.१५ अर्व पाँच करोड ३५ लाख अर्थात ४६ दशमलव तीन प्रतिशत, स्थानीय तहमा वित्तीय हस्तान्तरण तर्फ रु.तीन अर्व २२ करोड ४२ लाख अर्थात १० प्रतिशत तथा वित्तीय व्यवस्थातर्फ रु.तीन करोड रहेको छ ।
प्रदेश २ मा ३३ अर्ब ७९ करोडको बजेट
प्रदेश नं २ सरकारले आर्थिक बर्ष २०७८÷७९ का लागि रु ३३ अर्ब ७९ करोड १४ लाख ३० हजारको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले आर्थिक वर्ष २०७८÷७९ का लागि मङ्गलबार प्रदेश सभामा बजेट सार्वजनिक गर्दै चालूतर्फ रु १५ अर्ब ६३ करोड ३३ लाख ४७ हजार अर्थात ४६.२६ प्रतिशत, पुँजीगततर्फ रु १८ अर्ब ५ करोड ८० लाख ८३ हजार अर्थात ५३.४४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ रु १० करोड अर्थात ०.३० प्रतिशत बजेट विनियोजना गरेको जानकारी दिए । बजेटमा आन्तरिक राजस्वबाट रु ३ अर्ब ४ करोड ९१ लाख ३० हजार, नेपाल सरकारबाट प्राप्त हुने अनुदानबाट रु १३ अर्ब ९० करोड ३४ लाख, राजस्व बाँडफाँटबाट रु ९ अर्ब ५८ करोड ८९ लाख र चालू आर्थिक वर्षको बचतबाट रु ६ अर्ब २५ करोड व्यहोरिने उल्लेख गरिएको छ ।
यसबाट अपुग हुने रु एक अर्ब आन्तरिक ऋण लिने उहाँले जानकारी दिए । बजेटले निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि रु २ अर्ब ३५ करोड र प्रदेशका स्थानीय तहलाई वित्तीय हस्तान्तरण गर्न रु तीन अर्ब १६ करोड ५० लाख विनियोजन गरेको छ । यसैगरी कोरोना महामारीका कारण अर्थतन्त्र खस्केको र बेरोजगारी दर बढेकाले बजेटमा स्वास्थ्य, कृषि, शिक्षा, रोजगारी सिर्जना तथा पर्यटनलाई विशेष प्राथमिकता दिएको छ ।
वाग्मती प्रदेशमा रु ५७ अर्ब ७२ करोडको बजेट
वाग्मती प्रदेश सरकारले आर्थिक वर्ष २०७८÷७९ का लागि रु ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले आर्थिक वर्ष २०७८÷७९ का लागि मङ्गलबार प्रदेश सभामा बजेट सार्वजनिक गर्दै चालूतर्फ रु २६ अर्ब एक करोड ६६ लाख २३ हजार र पुँजीगततर्फ रु २९ अर्ब ७० करोड ४३ लाख चार हजार विनियोजन भएको जानकारी दिनुभयो । बजेटको अधिकांश हिस्सा कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा केन्द्रीत रहेको छ । मन्त्री ढुङ्गेलले प्रदेशका सबै जिल्ला अस्पतालमा कोभिड–१९ सङ्क्रमित बिरामीको उपचार, रोग नियन्त्रण, अस्पतालको स्तरोन्नती र अक्सिजन प्लान्ट स्थापना गर्ने तथा भेन्टिलेटर, एचडीयु र आइसियु कक्षको व्यवस्थापन गर्न बजेटले विशेष प्राथमिकता दिएको बताए ।
गण्डकी प्रदेश सरकारद्वारा ३० अर्बको बजेट सार्बजनिक
गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि ३० अर्बको बजेट ल्याएको छ । चालु आवको बजेट ३४ अर्ब ८० करोड रहेकोमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ५ अर्ब कमको बजेट ल्याएको हो । मुख्यमन्त्री पोखरेलले मंगलबार प्रदेशसभामा प्रस्तुत गरेको बजेटमा चालुतर्फ १३ अर्ब ६ करोड ४७ लाख रुपैयाँ विनियोजन भएको छ भने पुँजीगतर्फ १६ अर्ब ७३ करोड ४६ लाख रहेको छ । बजेटको स्रोततर्फ राजश्व बाँडफाँटबाट प्राप्त हुने ७ अर्ब ६२ करोड ७० लाख, रोयल्टीबापत ३० करोड र आन्तरिक राजश्वबाट प्राप्त हुने ४ अर्ब ९८ करोड २७ लाख अनुमान गरिएको छ । त्यस्तै संघमार्फत वित्तीय समानीकरण अनुदान ७ अर्ब रुपैयाँ ४२ करोड २८ लाख, स–शर्त अनुदान ४ अर्ब १८ करोड ४३ लाख, समपूरक अनुदान ८७ करोड ३६ लाख र विशेष अनुदान ५४ करोड ९० लाख रहेको छ ।
लुम्बिनीको बजेट ४० अर्ब ९५ करोड
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक बर्षका लागि ४० अर्ब ९५ करोड ९७ लाख बराबरको बजेट पेश गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले आगामी आर्थिक बर्षका लागि चालुतर्फ १४ अर्ब ९३ करोड ७३ लाख र पूँजीगत तर्फ २१ अर्ब १७ करोड ९९ लाख ६१ हजार रुपैयाँ बजेट घोषणा गरेका हुन् । स्थानीय तहमा वित्तिय हस्तान्तरणका लागि ४ अर्व ८४ करोड २३ लाख ९६ हजार रुपैयाँ विनियोजन गरिएको छ । आर्थिक बर्ष २०७८–७९ को बार्षिक बजेटमा कोभिड–१९ महामारी नियन्त्रणलाई प्राथमिकतामा राखेर लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा बजेट विनियोजन गरेको छ ।
कर्णालीको ३६ अर्ब ५४ करोडको बजेट
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि रु ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार बजेट सार्वजनिक गरेको छ । पूँजीगततर्फ रु २१ अर्ब ६५ करोड ३९ लाख १३ हजार र चालूतर्फ रु ११ अर्ब ४९ करोड २७ हजार ७० हजार बजेट विनियोजन गरिएको छ । त्यस्तै वित्तीय हस्तान्तरणतर्फ रु तीन अर्ब ३९ करोड ९९ लाख ५३ हजार विनियोजन गरिएको छ । आगामी आवका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्वबाट रु ६० करोड, चालु आवको खर्च नभई बाँकी रहन जाने अनुमानि रु १२ अर्ब ९२ करोड १६ लाख ८१ हजार, संघीय सरकारबाट राजश्व बाँडफाँटवापत प्राप्त रु सात अर्ब ४४ करोड ७७ लाख बजेटमा उल्लेख गरिएको छ ।
त्यसैगरी बजेटमा वित्तीय समानीकरण अनुदानबाट प्राप्त रु १० अर्ब १४ करोड २१ लाख र सशर्त अनुदानबाट रु तीन अर्ब ९८ करोड ७७ लाख तथा नेपाल सरकारबाट प्राप्त हुने समपूरक अनुदानवापत रु ८१ करोड ३५ लाख, विशेष अनुदानवापत रु ६१ करोड ३० लाख प्राप्त हुने अनुमान गरिएको छ । साथै वैदेशिक सहायताबाट सञ्चालित कार्यक्रम तथा आयोजना कार्यान्वयनका लागि रु दुई करोड नौ लाख ५५ हजार स्रोत परिचालन हुने बजेटमा जनाइएको छ ।
सुदूरपश्चिममा ३० अर्ब ३३ करोडको बजेट पेश
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८÷ ०७९ को लागि ल्याएको नीति कार्यक्रम कार्यान्वयनका लागि रु ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजारको बजेट विनियोजन गरेको छ । प्रदेश सभाको मंगलबारको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले आर्थिक वर्ष २०७८÷०७९को बजेट प्रस्तुत गर्दै कुल विनियोजित मध्ये चालू तर्फ रु दश अर्ब ६६ करोड नौ लाख तीन हजार र पूँजीगत तर्फ रु १७ अर्ब ६५करोड ४० लाख ५२ हजार रहेको जानकारी दिए । यसै गरी विनियोजन मध्ये अन्तर सरकारी वित्त हस्तान्तरण अन्तर्गत रु एक अर्ब ७२ करोड ४५ लाख,वित्तीय व्यवस्था तर्फ रु ३० करोड विनियोजनको व्यवस्था मिलाइएको छ । प्रदेश सरकारको चालू आर्थिक वर्ष २०७७÷०७८का लागि रु ३३अर्ब ३८ करोड १३ लाख ४८ हजारको बजेट विनियोजन गरेको थियो ।
जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij