काठमाडौ(जस)-बुधबार बिहान लमजुङमा गएको भूकम्पले पाँचवटा घर भत्किएको छ भने चार जना घाइते भएका छन् । बुधबार बिहान ५ बजेर ४२ मिनेट र ८ बजेर २६ मिनेटमा दुईपटक भुलभुले केन्द्रबिन्दु भएर भूकम्प गएको थियो।
सुरूमा ५.८ र पछि ५.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जानकारी दिएको छ।भुलभुले मर्स्याङ्दी गाउँपालिका वडा नम्बर ३ मा पर्छ। बेसीशहर नगरपालिका–६ का ३६ वर्षीय उमा गुरुङ, वडा नम्बर ११ चितीका ८३ वर्षीय खकाकुमारी पाण्डे, वडा नम्बर ८ का २९ वर्षीय खुशीमाया गुरुङ र मर्स्याङ्दी गाउँपलिका–६ ठूलीबेँसीका २२ वर्षीय गोविन्द्र अधिकारी घाइते भएको प्रहरीले जनाएको छ।

भूकम्प आएपछि घरबाहिर निस्कने क्रममा उनीहरू घाइते भएका हुन्। टाउको, खुट्टालगायतमा उनीहरूको चोट छ र स्थानीय स्वास्थ्य संस्थामा उनीहरूको उपचार गरिएको छ।
जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश मिश्रका अनुसार घरको गारो भत्केर केही मानिसलाई घाइते पनि बनाएको छ।
बेसीशहर नगरपालिका–६ का ३६ वर्षीय उमा गुरुङ भूकम्प जाँदा घरभित्रै थिइन्। उनको शरीरको आधा भाग घर भत्केर पुरेको थियो। उनलाई स्थानीयले उद्धार गरेका हुन्।करिब २० घरमा क्षति पुगेका विवरण अहिलेसम्म आएको छ।
भूकम्पको धक्का लमजुङका छिमेकी जिल्ला कास्की, तनहुँ, गोरखा साथै धादिङ, चितवन, काठमाडौंलगायतमा पनि धक्का महसुस गरिएको थियो।