शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

प्रेस स्वतन्त्रतामाथि‘अङ्कुश’लगाउने प्रयासविरुद्ध माइतीघरमा पत्रकार महासंघको प्रदर्शन,‘प्रेस स्वतन्त्रता कुनै सुविधा होइन,मौलिक अधिकार हो’भन्दै सरकारलाई सचेत

शनिबार, साउन ९ २०८३

काठमाडौं,प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, सञ्चार क्षेत्रका अत्यावश्यक मागको सम्बोधन तथा सञ्चारगृह र पत्रकारको सुरक्षाको माग गर्दै नेपाल पत्रकार महासंघले शनिबार काठमाडौंको माइतीघर मण्डलामा बृहत् प्रदर्शन गरेको छ ।
नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समिति तथा मातहतका काठमाडौं,भक्तपुर र ललितपुर शाखाको आयोजनामा भएको प्रदर्शनमा पत्रकार तथा सञ्चारकर्मीहरूले प्रेस स्वतन्त्रतामाथि हुने कुनै पनि प्रकारको हस्तक्षेप अस्वीकार्य हुने बताएका थिए ।
प्रदर्शनमा सहभागीहरूले‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कायम गर’,‘समानुपातिक विज्ञापन नीति तुरुन्त लागू गर’, ‘प्रेस स्वतन्त्रता कुनै सुविधा होइन, मौलिक अधिकार हो’ लगायतका नारासहितका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै महासंघकी उपाध्यक्ष नितु पण्डितले दुई तिहाइको बलियो सरकार गठन भएपछि सञ्चार क्षेत्रलाई अझ सशक्त,व्यवस्थित र सुरक्षित बनाउने अपेक्षा गरिए पनि व्यवहारमा त्यसको ठीक विपरीत प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अङ्कुश लगाउने प्रयास भइरहेको आरोप लगाइन् ।
उनले राज्यले सञ्चार माध्यमलाई संरक्षण र प्रोत्साहन गर्नुपर्नेमा सूचनाको पहुँचमा नियन्त्रण गर्ने, समाचार लेखेकै आधारमा पत्रकारलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा धम्की दिने तथा पक्राउ गर्ने प्रवृत्ति स्वीकार्य नहुने बताइन् ।
‘सूचनाको पहुँचमा नियन्त्रण गर्नु र समाचार लेखेकै आधारमा पत्रकारलाई धम्की दिने वा पक्राउ गर्ने काम लोकतान्त्रिक व्यवस्थामा स्वीकार्य हुन सक्दैन,’ उपाध्यक्ष पण्डितले भनिन् ।
उनले सञ्चारगृहको ढोकामै गाडी रोकेर सूचना प्रवाह र प्रेस स्वतन्त्रतामाथि अवरोध सिर्जना गरिएको घटनामा समेत दोषीमाथि प्रभावकारी छानबिन र कारबाही हुन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरिन् । यस्ता घटनाले सञ्चार क्षेत्रमाथि राज्यको दृष्टिकोणप्रति गम्भीर प्रश्न खडा गरेको उनको भनाइ थियो ।
महासंघले समानुपातिक विज्ञापन नीति तत्काल कार्यान्वयन गर्न, श्रमजीवी पत्रकार ऐनलाई प्रभावकारी रूपमा लागू गर्न, सञ्चारगृहको सुरक्षा सुनिश्चित गर्न तथा पत्रकारको बीमा र सामाजिक सुरक्षाको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।
त्यसैगरी, निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापन वितरणमा लगाइएको प्रतिबन्धसम्बन्धी सर्वोच्च अदालतको आदेशको प्रभावकारी कार्यान्वयन गर्नसमेत महासंघले सरकारलाई आग्रह गरेको छ ।
महासंघले संविधानले प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न, नागरिकको सूचनाको हक सुरक्षित गर्न तथा सञ्चार क्षेत्रलाई नियन्त्रण गर्ने होइन, स्वतन्त्र र निर्भीक रूपमा काम गर्ने वातावरण निर्माण गर्न सरकारसँग माग गरेको छ ।
प्रदर्शनका क्रममा सहभागी पत्रकारहरूले लोकतन्त्रको आधारस्तम्भका रूपमा रहेको प्रेस स्वतन्त्रताको संरक्षणमा राज्य गम्भीर बन्नुपर्नेमा जोड दिएका थिए । महासंघले आफ्ना माग सम्बोधन नभए आगामी दिनमा आन्दोलनलाई थप सशक्त बनाउने चेतावनीसमेत दिएको छ।
उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिकि कार्यवाहक अध्यक्ष रोजिना थापा(कार्की),नेपाल पत्रकार महासंघ काठमाडौ शाखा अध्यक्ष शोभा अर्याल,नेपाल पत्रकार महासंघ ललितपुर अध्यक्ष रामहरि कार्की,नेपाल पत्रकार महासंघ भक्तपुर अध्यक्ष सुन्दर सिल्पकारलगाएत सयौ पत्रकारहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार