आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

लुम्बिनीको सरकारमा लफडा, प्रहरी घेरामा अल्पमतमा रहेका शंकर पोखरेलले लिए सपथ

सोमबार, बैशाख २० २०७८


४२ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा केसीको दाबी
अनैतिक र असंवैधानिक ः प्रचण्ड
बलमिच्याईं र घोर अलोकतान्त्रिक : सभापति देउवा
ओलीको छत्रछाँयामा अर्को पदलोलुप चर्तिकला : नेता रावल

काठमाडौं (जस)–विपक्षी दलका सांसदहरुको नारावाजी चलिरहेकै बेला लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रहरी घेरमा सपथ लिएका छन् । पोखरेललाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम प्रदेश प्रमुखको कार्यालयमा राखिएको भए पनि सांसदहरुको विरोधका कारण मुख्यमन्त्रीको कार्यालयमा गरिएको छ । प्रदेश प्रमुखको कार्यालयमा सांसदहरु मुख्यमन्त्रीलाई शपथ नगराउन माग गर्दै धर्ना बसेका थिए । धर्ना बसेका सांसदहरु र प्रहरीबीच घम्साघम्सीसमेत भएको छ । सांसद र प्रहरीबीच झडप हुँदा केही सांसद घाइते भएका छन् ।
तीन वर्षअघि नेकपा(माओवादी केन्द्र) सम्मिलित एमालेका पोखरेल नेतृृत्वको सरकारविरुद्ध केही दिनअघि माओवादी केन्द्र र नेपाली कांग्रेससहितले प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्तासँगै माओवादी केन्द्र मुख्यमन्त्री पोखरेल नेतृत्वको सरकारबाट फिर्ता भएको थियो । सोही दिन मुख्यमन्त्री पोखरेलले जनता समाजवादी पार्टीका चार सदस्यलाई सरकारमा सहभागी गराई मन्त्रिमण्डल पुनर्गठन गरेका थिए । मुख्यमन्त्री पोखरेलविरुद्धको अविश्वास प्रस्तावमाथि आइतबारदेखि प्रदेशसभामा छलफल हुने र सोमबार मतदान हुने कार्यक्रम थियो । प्रदेशसभाको बैठक आइतबार अपराह्न १ बजे बस्ने तय भएपनि १२ बजे नै अन्त्य गरिएको थियो । छ ।
प्रदेश प्रमुखको कार्यालय परिसरमा धर्ना
लुम्बिनी प्रदेशका मुख्यमन्त्रीमा शङ्कर पोखरेलको नियुक्तिपछि विपक्षी गठबन्धनका प्रदेशसभा सदस्य आइतबार प्रदेश प्रमुखको कार्यालय परिसरमा धर्ना बसेका थिए । उनीहरुले प्रदेश प्रमुखले विधि र पद्धतिको उल्लङ्घन गर्दै असंवैधानिक कदम चालेको आरोप लगाएका छन् । विपक्षी नेपाली काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक फकरुद्धिन खाँनले प्रदेश उपसभामुखको समेत कीर्ते हस्ताक्षर भएको र बहुमत सदस्य आफूहरुका पक्षमा रहेको जिकिर गरे । कुल ८१ प्रदेशसभा सदस्यमध्ये विपक्षी गठबन्धनमा ४२ प्रदेशसभा सदस्य रहेको जिकिर गरिएको छ । विपक्षी गठबन्धनमा नेपाली काङ्ग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी छन् । ‘हामी बहुमत सदस्यसहित आउँदैछौँ भनेर जानकारी गराउँदा गराउँदै पनि प्रदेश प्रमुखले असंवैधानिक कदम चाल्नुभयो’, खाँनले भने ।
यता मुख्यमन्त्री पोखरेलका पक्षमा लागेका कपिलवस्तु क्षेत्र नं १ (क)बाट प्रदेशसभा सदस्य निवाचित दीर्घनारायण पाण्डे, कपिलवस्तु क्षेत्र नं २ (ख) बाट निर्वाचित धर्मबहादुरलाल श्रीवास्तव र नवलपरासी (बर्दघाट सुस्तापश्चिम)का अजयबहादुर शाहीले राजीनामा गर्दै विपक्षी गठबन्धनका प्रस्तावित मुख्यमन्त्री कुलप्रसाद केसीलाई समर्थन गरेका छन् । उता दाङको २ (ख)बाट निर्वाचित विमला खत्रीले आइतबार पत्रकार सम्मेलन गर्दै आफू आफ्नो स्वविवेकमा माओवादी केन्द्रमा लागेको बताए ।
अल्पमतको व्यक्तिलाई मुख्यमन्त्रीमा नियुक्ति गर्नु अनैतिक र असंवैधानिक– प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अल्पमतमा रहेका व्यक्तिले सरकार गठनको दाबी गर्नु आश्चर्य र हास्यास्पद मात्र होइन अनैतिक र असंवैधानिक रहेको बताएका छन् । उनले प्रदेश प्रमुखको कार्यालयमा सांसदहरुबाट भइरहेको संघर्षप्रति ऐक्यवद्धता जनाउदै प्रदेश प्रमुखलाई आफूबाट भएको गलत निर्णयलाई सच्चाई गठबन्धन सरकार गठनका दावेदार कुलप्रसाद केसीलाई नियुक्ति र सपथ ग्रहण गराई संविधान र लोकतन्त्रको मर्यादा कायम गर्न आग्रह गरेका छन् ।
बलमिच्याईं र घोर अलोकतान्त्रिक– सभापति देउवा
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लुम्बिनी प्रदेशमा आइतबार भएको समग्र घटनाक्रमलाई संविधानको ठाडो उल्लंघन, बलमिच्याईं र घोर अलोकतान्त्रिक भनेका छन् । एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले लुम्बिनी घटनाको निन्दा र भत्सर्ना गरेका हुन् । सभापति देउवाले एमालेले प्रदेश सभामा प्रष्ट बहुमत गुमाएको तथ्य बुझेर नै अविश्वास प्रस्ताव छलेको आरोप लगाउदै मुख्यमन्त्रीसँग बहुमत छ भनेर मान्नु र पुनः मुख्यमन्त्री नियुक्ति गरिनु राजनैतिक, नैतिक र संवैधानिक कुनै पनि कोणबाट तर्कसंगत नभएको बताएका छन् ।
लुम्बिनीको मुख्यमन्त्रीमा केसीको दाबी सहित ४२ सांसदको बुझाए हस्ताक्षर
नेकपा माओवादी केन्द्रको संसदीय दलका नेता कुलप्रसाद केसीले ४२ सांसदको हस्ताक्षरसहित आफ्नो नेतृत्वमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख समक्ष दाबी पेश गरेका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले एमाले संसदीय दलका नेता शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्त गरे लगत्तै ४२ सांसदको हस्ताक्षरले केसीको नेतृत्वमा नयाँ सरकार गठनका लागि दावी पेश गरेका हुन् । यसमा सूर्य चिन्ह्बाट चुनाव जितेका स्वतन्त्र राजनीतिक समूहका धर्मबहादुर लाल श्रीवास्तव र अजय शाही तथा साबिकको नेकपाबाट चुनाव जितेकी विमला केसीले पनि हस्ताक्षर गरेका छन् ।
ओलीको छत्रछाँयामा अर्को पदलोलुप चर्तिकला : नेता रावल
नेकपा एमाले खनाल–नेपाल समूहका नेता भीम रावलले लुम्बिनी प्रदेशको राजनीतिक घटनाक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओलीको छत्रछाँयामा अर्को पदलोलुप चर्तिकलाको संज्ञा दिएका छन् । नेता रावलले सामाजिक संजालमा टिप्पणी गर्दै लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध प्रस्तुतअविश्वास प्रस्तावका सन्दर्भमा राष्ट्रिय राजनीतिलाई निरवस्त्र तुल्याई संविधानकै मर्यादामा अघात पुग्नेगरी भएका क्रियाकलापले लोकतन्त्र र राजनीतिक नैतिकताको धज्जी उडाएको आरोप लगाएका छन् । मुख्यमन्त्री पोखरेलले आइतबार आफूविरुद्धको अविश्वासको प्रस्तावको सामना नगरी राजीनामा दिएर पुनःनियुक्ति लिएपछि नेता रावलले यस्तो टिप्पणी गरेका हुन् ।
मुख्यमन्त्री शङ्कर पोखरेलले आइतबार आफ्नो पदबाट राजीनामा दिएका थिए । मुख्यमन्त्री पोखरेलले नेपालको संविधानको धारा १६९ को उपधारा १(क) बमोजिम प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवसमक्ष आइतबार दिएको राजीनामा प्रदेश प्रमुखले स्वीकृत गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले जारी गरेको विज्ञप्तिमा जनाइएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार