आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

मिल्नै नसक्ने मोडमा एमाले विवाद, अबको बाटो कता ?

सोमबार, चैत्र २३ २०७७

काठमाडौंमा समानान्तर कमिटी गठन, ओलीसँग सहमतिको प्रयास गर्नुको कुनै अर्थ छैन् ः नेता नेपाल, ओली पार्टी बनाउन हैन गुट बनाउन लागे ः नेता खनाल
काठमाडौं(जस)–सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (एमाले)को विवाद मिल्नै नसक्ने मोडमा पुगेको छ । एमालेकोे झलनाथ खनाल– माधवकुमार नेपाल समूहले काठमाडौंमा समानान्तर कमिटी घोषणा गरेसँगै अब एमाले मिल्नै नसक्ने बाटोमा पुगेको विश्लेषकहरुले बताएका छन् । आइतबार बुद्धनगरस्थित एक पार्टी प्यालेसमा भएको कार्यक्रमबाट खनाल नेपाल समूहले बसन्त मानन्धरको नेतृत्वमा जिल्ला कमिटी घोषणा गरेको हो । मानन्धर बागमती प्रदेश सभाका सांसद हुन् ।
एमालेको काठमाडौं जिल्ला अध्यक्षमा केपी शर्मा ओली समूहका कृष्ण राई छन् । ओलीले नेपालसहित ४ जनालाई पार्टीबाट निलम्बन गरेपछि खनाल नेपाल समूहले सामानान्तर कमिटी गठन गरिरहेको छ । कार्यक्रममा नेता नेपालले बालुवाटारबाट ओलीले तमासा देखाइरहेको आरोप लगाएका थिए । नेता नेपालले अध्यक्ष ओलीसँग सहमतिको प्रयास गर्नुको कुनै अर्थ नभएको बताए । ओलीसँग बालुवाटारमा सहमतिको प्रयास गरेर कुनै उपलब्धि हासिल नहुने नेता नेपालको भनाइ छ ।
नेता नेपालले आफ्नो स्वार्थ पूरा भएपछि केपी ओलीले पुष्पकमल दाहाल प्रचण्डलाई लात्ताले हानेर फालेको आरोप लगाएका छन् । नेपालले प्रधानमन्त्रीको कुर्सीमा पुग्न ओलीले प्रचण्डको चाकरी गरेको आरोप लगाए । ओलीले आफूलाई प्रचण्डको मामूली कार्यकर्ता भनेकोमा पनि नेता नेपालले आक्रोश पोखे । के हिजो प्रचण्डको कार्यकर्ता थिए ओली ? आफू पदमा पुग्न चाकरी गरेको होइन ? स्वार्थ पूरा भएपछि प्रचण्डलाई लात्तीको किक हानेर फाल्ने व्यक्तिलाई अध्यक्षको रुपमा टाउकोमा राख्न अभिशप्त भएका छौं । २०७३ सालमा पनि प्रचण्डलाई धोखा दिएर प्रधानमन्त्री बन्न नदिएपछि एमाले सरकारबाटै बाहिर जानुपरेको नेपालले बताए । केपी ओलीले पार्टीलाई थाहै नदिई संसद भंग गरेको आरोप समेत लगाए । नेता नेपालले नेता वामदेव गौतमलाई सहकार्यको लागि प्रस्ताव गरे । ‘बालुवाटारमा बालुवा पेलेर केहि निस्कने वाला छैन, अस्ति फेरि वामदेव कमरेडलाई भनेको छु आउनुस् हातमा हात मिलाएर अघि बढौं ।’
उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग सहमतिको प्रयास गर्नुको कुनै अर्थ नभएको बताए । नेता नेपालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले डीपीआर नै नभएका सडक बालुवाटारबाट शिलान्यास गरेर तमासा गरेको टिप्पणी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार एकै दिन १६५ सडक शिलान्यास गरेपछि नेता नेपालले त्यसलाई तमासाको संज्ञा दिएका हुन् । ‘केपी ओलीका तमासा पनि कति । बालुवाटार बसेर एकै दिन १६५ सडक शिलान्यास रे । ती सडकको डीपीआर भएको छैन, लागत कति लाग्छ थाह छैन । बालुवाटार बसेर स्वीज थिचेर शिलान्यास । त्यो तमासा मात्रै हो । त्यसको कुनै अर्थ छैन,’ नेपालले भने, ‘जनता कुरा हैन काम चाहन्छन् । जनताको मन जित्न कुराले हुँदैन ।’
नेता नेपालले आफूहरु नै आधिकारिक एमाले भएको भन्दै ओलीले गरेको कारबाहीको कुनै अर्थ नरहेको भनाइ दोहो¥याए । ओली पक्षबाट पूर्वाग्रहपूर्ण व्यवहार भोगिरहेका कार्यकर्तालाई जोगाउन र उत्साहित गर्न आफूहरु लागेको उनले बताए । नेपालले नवौं महाधिवेशनपछि ओलीले मदन भण्डारी फाउन्डेशनको नामबाट गुटबन्दी गरेको बताए । ‘केपी ओली पार्टी बनाउन हैन, गुट बनाउन लाग्नु भएको छ । उन सिद्धान्तमा हैन भजन मण्डली बनाउन लाग्नु भएको छ । हामी जनता, राष्ट्रका लागि समर्पित भएर लाग्न खोजिरहेका छौं,’ उनले भने ।
नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले केपी शर्मा ओली बालुवाटारको सानो गुटलाई एमाले भनिरहेको बताए । नेता खनालले ओलीको गुटबन्दीले नै पार्टी ध्वस्त भएको, दक्षिणपन्थी भासमा गएको र क्रान्तिकारी भावनामा कमी आएको पनि बताएका छन् । नेपाल–खनाल समूहको काठमाडौं जिल्ला कमिटीको घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले ओलीमा सत्तामा जसरी पनि टाँसिरहने प्रवृति रहेको बताए । नेता खनालले प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीमा दक्षिणपन्थी अवसरवाद हाबी भएकै कारण राजनीतिक संकट पैदा भएको बताएका छन् । ‘ओली सरकारमा एकपछि अर्को भ्रष्टाचारका मुद्दा आउन थाले । पदमा बसेका मान्छे भ्रष्ट छन् भन्ने प्रश्न उठ्न थाले । भ्रष्टाचारकै मुद्दामा एकपछि अर्को मन्त्रीले राजीनामा दिनुप¥यो । तर, ओलीले ती प्रश्नको जवाफ आफै दिन थाले, आफै सफाइ दिए । समाजमा कम्युनिष्ट पार्टीले सही काम गर्न सकेनन् भन्ने सन्देश गयो’, खनालले भने, ‘यो सबै ओलीमा रहेको दक्षिणपन्थी अवसरवादको उपज हो । उनमा यही हाबी भयो, त्यस्तै कार्यशैली देखियो । दक्षिणपन्थी अवसरवादले अग्रगतिको काम हुन दिँदैन, विचार–विमर्श गर्दैन, पार्टीभित्र असहज स्थिति पैदा गर्छ । अहिले भएको यही हो ।’
नेता खनालले ओलीले पार्टीभित्र एकीकरणमा ध्यान नदिएको, योजना नबनाएको, विवाद मिलाउने कोसिस नगरेको, आलोचना सुन्नै नचाहको र इतिहास भइसकेका दुई पार्टीलाई छुट्टाउने काम गरेको आरोप लगाए । नेता खनालले ओलीले योग्यता नै नपुगेका पुँजीपतिलाई पार्टीमा भित्राएको पनि आरोप लगाए । ‘पहिला ओलीले गुण्डालाई पार्टीमा भित्र्याए । अहिले पुँजीपतीलाई पार्टी सदस्यता दिने गरेका छन् । के उनीहरु पार्टी सदस्यताका लागि योग्य छन् ?’, खनालले प्रश्न उठाउँदै भने, ‘उनीहरु समर्थक होलान्, मतदाता होलान । तर, विधानले तोकेको मापदण्ड पूरा गरेका छैनन् । विधान विपरीत ओलीले बालुवाटारमा भेला गरेर पार्टीमा पुँजीपती भित्राएका छन् ।’ केही दिन अगाडि ओलीले दुई सयभन्दा बढी उद्योग–व्यावसायीलाई एमाले प्रवेश गराएका थिए । यसैलाई लिएर नेता खनालको टिप्पणी आएको हो । शनिबार मात्रै राष्ट्रपति विद्या भण्डारीले खनाल निवास डल्लुमै पुगेर एमाले विवादमा चासो राखेकी थिइन् । उनले एमाले विभाजनउन्मुख भएको भन्दै एकताका लागि भूमिका खेल्न खनालसँग आग्रह गरेकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार