रुपन्देही । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वेच्छाचारिता केही महिनाभित्र अन्त्य हुने बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध बिहीबार बुटवलमा आयोजित विरोध सभामा बोल्दै पुर्व प्रधानमन्त्री समेत रहेका दाहालले ओलीले लोकतन्त्रको हत्या गरेर श्री ३ बन्ने चाहना राखेको बताए ।
उनले ओलीको श्री ३ बन्ने चाहनाविरुद्ध आन्दोलित हुन परेको बताउँदै पार्टी एकता बचोस्, आर्थिक समृद्धि होस् भनेर आधा-आधा समय प्रधानमन्त्री हुने सहमति छाडेको बताए ।
उनले भने- ‘विगतमा पनि राजालाई जनताले नै जंगल पठाएका हु्न्, ‘अब केपी ओलीको निरंकुशता चुट्कीको भरमा ध्वस्त हुने छ हेर्नु होला केही महिनाभित्र । ओली स्वेच्छाचारिताको अन्त्य हुनेछ । नेपाली जनता विजयी हुने्छन् ।’
अहिले संविधान विघटनको मुद्दा अदालतमा चलिरहेको बताउँदै सबैभन्दा ठूलो जनअदालत भएकाले यस्तो निरंकुश कदम पराजित गर्न भूमिका खेल्न आह्वान गरे । ‘छिट्टै नयाँ सरकार लिएर तपाईंहरु समक्ष आउनेछौं । बाँकी दुई वर्ष त्यही सरकारले तपाईहरुको समृद्धिको चाहना पूरा गर्ने छ,’ उनले भने ।