काठमाडौं । लुम्बिनी प्रदेशको स्थायी राजधानीस्थित राप्ती नदीमा बनेको पक्की पुलको उद्घाटन गर्न सोमबार प्रधानमन्त्री केपी शर्मा ओली देउखुरी आउँदैछन्। राप्ती गाउँपालिकाको सिसहनियाँ र गढवा गाउँपालिकाको महदेवा जोड्ने गरी नेपालकै दोस्रो लामो पक्की पुल निर्माण भएको छ।
यो पुलको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको लुम्बिनी प्रदेशसभा सदस्य रेवतीरमण शर्माले जानकारी दिए। झण्डै एक वर्षअघि निर्माण सम्पन्न भएको पुलको उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली यहाँ आउन लागेका हुन्।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७३ मंसिर २२ गते पुलको शिलान्यास गरेका थिए। प्रचण्डले शिलान्यास गरेको पुलको उद्घाटन वर्तमान प्रधानमन्त्री ओलीले गर्नेछन्। पुल पूर्वनिर्धारित समयभन्दा चार महिना अगाडि नै निर्माण सम्पन्न भएको थियो। यो पुलको लम्बाइ ८६० मिटर र चौडाइ साढे १० मिटर छ। करिब एक अर्ब रुपैयाँ लागतको यो पुल चार वर्षभित्र बनाइसक्ने सम्झौता भएको थियो। तोकिएको समयभन्दा चार महिना अगाडि नै पुल निर्माण कार्य पूरा भएको हो।
पुल नहुँदा सिसहनियाँ-महदेवा वारीपारी गर्न वर्षायाममा उर्लिएको भेलमा जोखिमपूर्ण तरिकाले डुंगा तर्नु पर्थ्यो। अब भने राप्ती नदीमा पुल निर्माण भएसँगै देउखुरीबासीलाई यात्रा गर्न सहज भएको छ।
यो पुल निर्माणबाट साविकको गोबरडिहा गाविस र साविकको सिसहनियाँ क्षेत्रका बासिन्दा लाभान्वित भएका छन्। यति मात्र होइन, पछिल्लो समय पुल पर्यटकीय गन्तब्यको रुपमा विकास भएको छ।
दाङ जिल्ला भित्रबाट मात्रै नभएर बाहिरी जिल्लाबाट पर्यटकहरु यहाँ आउने गरेका छन्। अहिले गढवा गाउँपालिकाअन्तर्गत पर्ने राप्तीपारीको क्षेत्रबाट वारी आउँदा कालाकाटे-भालुवाङ हुँदै करिब डेढ घण्टाको सवारी यात्रा गर्नुपर्ने अवस्था थियो, तर पुल निर्माण भएसँगै १५ मिनेटभित्रै वारपार गर्न सकिने भएको छ।
गेरुवा पुल बनाएकै कम्पनी एएनके लुम्बिनी वाइपी जेभीले देउखुरीको राप्ती नदीको पुल बनाउने जिम्मा पाएको थियो। पुल उद्घाटन कार्यक्रमको तयारी पूरा भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ। पुल उद्घाटन सकेपछि राप्ती गाउँपालिका-२ लालमटीयामा सभाको आयोजना गरिनेछ।
कुनै समय राप्ती नदीमा एउटा पनि पक्की पुल थिएन। मानिसहरु डुंगाको भरमा नदी तरेर वार पार गर्नु पर्थ्यो। यस्तो असजिलो धेरै वर्ष चल्यो। पूर्व–पश्चिम राजमार्ग बन्ने क्रममा भालुबाङ्गमा पक्की पुल बन्यो। यही पुल राप्ती नदीमा बनेको पहिलो पुल बन्न पुग्यो। त्यसपछि लमही–गढवा सडक खण्डलाई जोड्नेगरी अर्को पक्की पुल बन्यो।
वि.सं.२०५५ तिर यहाँ पुल त बन्यो। तर, राप्ती नदीमा आउने बाढीले पुललाई असर गर्यो। पछि पुल थपेपछि गाडी ओहोर दोहोर गर्न सक्ने भयो। यो राप्ती नदीमा बनेको दोस्रो पक्की पुल हो। लामो समयसम्म राप्ती नदीमा नयाँ पक्की पुल बन्न सकेनन्।
२०७३ सालमा सिसहनियाँदेखि महदेवा जोड्न ८६० मिटर लामो पक्की पुलको शिलन्यास भयो। त्यसपछि राप्ती नदीमा पक्की पुल बनाउने लहरनै आयो। यो पाँच वर्षको अवधिमा ४ ओटा नयाँ पक्की पुल थपिएका छन्।
सिसहनियाँदेखि महदेवा जोड्ने पक्की पुल एक वर्षअघि निर्माण सम्पन्न भएको हो भने, बाँकी तीन ओटा पक्की पुलको निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेको छ। राप्ती नदीमा पक्की पुल बन्न थालेपछि स्थानीयहरु उत्साहित भएका छन्। ‘बिरामी हुँदासमेत अस्पताल जान सक्ने अवस्था छैन। झोलुंगे पुल, डुंगा चढ्नुपर्ने बाध्यता थियो’, राजपुरका रामप्रसाद यादवले भने, ‘अब पक्की पुलबाट नदी तरेर आउन जान सक्ने दिन आउन थाल्यो।’
राजपुर गाउँपालिका जोड्न तीन स्थानमा पक्की पुल बन्न थालेको छ। यसअघि झोलुंगे पुल मात्रै थिए। अब पक्की पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।
लमहीको हस्नापुरदेखि बेला जोड्न बनिरहेको पक्की पुलको निर्माण कार्य ७० प्रतिशत पूरा भएको छ। अर्को वर्ष पुल निर्माण सम्पन्न हुने निर्माण कम्पनीका प्रतिनिधि रामप्रसाद पोख्रेलले जानकारी दिए। ५५० मिटर लामो पक्की पुल ६५ करोडको लागतमा निर्माण हुन थालेको हो।
तीन वर्षअघिबाट यहाँ पुल निर्माणको काम सुरु भएको थियो। अर्को सतबरियादेखि कालिपुरुवा घाट जोड्न पक्की पुल बनिरहेको छ। ५ सय मिटर लामो पक्की पुल बनाउन ६५ करोडको बजेट रहेको छ। सतबरीयाको जहरे देखी राजपुरको जंग्रहवा जोड्न बनाउन थालिएको पक्की पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।
यही वर्षभित्र पुल निर्माण कार्य सक्ने लक्ष्य लिएको अनक कन्ट्रक्सनका इञ्जिनियर सुदिप बस्यालले जानकारी दिए। सिसहनियाँ–महदेवा जोड्ने पक्की पुलको निर्माण सकिएको छ। जहरे जंग्रहवाको काम अन्तिम चरणमा पुगेको छ भने, सतबरीयादेखि कालिपुरुवा घाट जोड्ने पक्की पुलको निर्माण कार्य धमाधम भइरहेको छ।