काठमाडौं(जस)–स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सरकारले कोभिड–१९ विरुद्धको खोप प्रमाणित भएर बजारमा आउने कित्तिकै नेपाली नागरिकले प्रयोग गर्न पाउने विश्वास दिलाएका छन् । यही मङ्सिर ३ गतेदेखि मंगलबारसम्म मन्त्रालयले आयोजना गरेको ‘विश्वप्रति–जैविक सचेतना सप्ताह’को समापन गर्दै उनले कोभिड–१९ विरुद्धको खोपको परीक्षण भइरहेको र उक्त खोपको सफल परीक्षण भई प्रमाणित हुने बित्तिकै नेपाली नागरिकले पाउने बताए । उनले कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न दृढ भएर लागेको उल्लेख गर्दै त्यसका लागि सबैको सहयोग आवश्यक भएको बताए ।
केही दिनअघि राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा कोभिड–१९ विरुद्धको खोप उपलब्धता सहज बनाउनेलगायत व्यवस्था गर्नका लागि औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७७ जारी गरेका थिए । सप्ताहका अवसरमा चित्रकला प्रतियोगिता पनि आयोजना गरिएको थियो । प्रतियोगितामा नेशनल स्कूल अफ साइन्सकी कक्षा ११ मा अध्ययनरत राजकी अर्याल प्रथम, होप इन्टरनेशनल कलेजमा स्नातक तह अध्ययनरत स्वस्तिका सापकोटा द्वितीय र ललितकला क्याम्पसकी स्नातक तहमा अध्ययनरत विनिता खड्का तृतीय भएकी हुन् । मन्त्री ढकालले विजय विद्यार्थीलाई नगद र प्रमाणपत्र प्रदान गरे । २८ जना सहभागीमध्येबाट २४ जनाको कला छनोट गरिएको थियो ।
थप एक हजार ७९० जनामा कोरोना पुष्टि
देशभर मंगलबार थप एक हजार ७९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा एक हजार ६९ पुरुष र ७२१ महिला छन् । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या दुई लाख २४ हजार ७८ पुगेको छ । थप १० हजार ८४३ को पिसिआर परीक्षण गरिएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म दुई लाख चार हजार ५८ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर दुई हजार ७९१ संक्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर १७ हजार ८५९ सक्रिय संक्रमित छन् ।
काठमाडौँ उत्यकामा थप ९४७ कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । योसँगै उपत्यकामा संक्रमितको संख्या एक लाख चार हजार ६८२ पुगेको छ । मंगलबार थपिएका संक्रमितमध्ये काठमाडौँका ६९२, ललितपुरका १९० तथा भक्तपुरका ६५ रहेका छन् । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो ।
हालसम्म काठमाडौँमा ८४ हजार ५१७, ललितपुरमा १२ हजार ५७७ तथा भक्तपुरका सात हजार ५८८ संक्रमित भएका छन् । तीमध्ये काठमाडौँमा ७६ हजार ४४२, ललितपुरमा १० हजार ८९७ तथा भक्तपुरमा छ हजार ८९३ संक्रमित निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ । हालसम्म काठमाडौँमा ३३१, ललितपुरमा ९१ तथा भक्तपुरमा ८७ जनाको कोरोनाबाट ज्यान गएको छ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप २४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मर्नेको संख्या एक हजार ३६१ पुगेको छ ।
यसैबीच वाग्मती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामालाई स्वासप्रस्वासमा समस्या भएपछि थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौँ ल्याइएको छ । कोरोना संक्रमणका कारण बिरामी परेका मन्त्री लामालाई थप उपचारका लागि काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग उपचार केन्द्रमा लगिएको मन्त्रीको निजी सचिवालयले जनाएको छ । मन्त्री लामा गत मङ्सिर ५ गते कोरोना परीक्षणमा संक्रमण पुष्टि भएपछि हेटौँडास्थित सरकारी निवासमा आराम गरिरहेका थिए । सोमबारदेखि मन्त्री लामालाई स्वास फेर्न असहज महसुस भएपछि मंगलबार नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको सचिवालयले जनाएको छ ।