काठमाडौं । विश्वमा करिब ६ करोड मानिस कोरोना संक्रमित भइसक्दा तथा १४ लाखको हाराहारीमा मानिसको निधन हुन लागेपछि एउटा सुखद समाचार बाहिर आएको छ। अमेरिका, बेलायत र जर्मनीले डिसेम्बरको मध्यदेखि खोपको औपचारिक घोषणा गर्न लागेका छन्। अमेरिकी मिडियाहरूका अनुसार डिसेम्बरको अन्त्यसम्म यी तीन देशले सार्वजनिक रूपमै खोपको घोषणा गर्नेछन्।
जर्मनीका स्वास्थ्यमन्त्रीले यस कुराको पुष्टी पनि गरिसकेका छन्। उनले डिसेम्बरदेखि खोप लगाउने कार्यको सुरुवात गर्ने बताएका छन्। विश्वमा अहिले पनि १ करोड ६८ लाख एक्टिभ केस छ। संक्रमण र मृत्युको कुरामा अमेरिका अहिले पनि नम्बर–१ स्थानमा छ। अमेरिकामा दैनिक दुई लाखको हाराहारीमा संक्रमित भेटिन थालेका छन्। तर, कोभिड–१९ टास्क फोर्सको प्रमुख मोन्सेफ सलोईले सीएनएनलाई दिएको अन्तर्वार्तामा भनेका छन्, ‘अमेरिकामा पहिलो सर्वसाधारणलाई ११ डिसेम्बरमा खोप लगाइने छ।’ उ
नले एफडीएले स्विकृति प्रदान गर्ने वित्तिकै खोप लगाउने कार्य तदारुक्ताका साथ अगाडि बढाइने बताएका छन्। ‘यसको लागि आवश्यक सबै तयारी पुरा भइसकेको छ। म आश्वस्त छु, ११ र १२ डिसेम्बरभित्र एफडीएले स्विकृति दिनेछ। राज्यले पनि यसको तयारी गरिसकेका छन्,’ उनले भने। अमेरिकामा १० डिसेम्बरमा एफडीएको विशेष बैठक बस्दैछ। यही दिन कोरोनाविरूद्धको खोपलाई मान्यता दिने सम्भावना प्रबल छ। बेलायतले पनि डिसेम्बरमा सर्वसाधारणलाई खोप दिने तयारी गरिरहेको विभिन्न सञ्चारमाध्यमले बताएका छन्।