बुधबार, असोज ७ २०८३

बुधबार, असोज ७ २०८३

पूर्वमन्त्री डा यादवको निधन

सोमबार, कार्तिक ३ २०७७

सप्तरी(जस)–पूर्वमन्त्री डा डम्बरनारायण यादवको ८६ वर्षको उमेरमा आइतबार निधन भएको छ । महादेवा गाउँपालिका–३ बथनाहा निवासी पूर्वमन्त्री डा यादवको विराटनगरस्थित विराट नर्सिङ होममा उपचारका क्रममा निधन भएको उनका भतिजा अजय यादवले जानकारी दिए । काठमाडौँमा बसोबास गर्दै आएका डा यादव एक महिनाअघि बथनाहास्थित घरमा आएर बसेका थिए । उन चार दिनअघि अचानक बेहोस भएपछि उपचारका लागि विराटनगर लगिएको थियो । केही वर्षअघि मुटुको बाइपास सर्जरी गराएका डा यादवको मस्तिष्कघातका कारण निधन भएको भतिजा अजयले बताए ।

यादव २०३६ साल जेठ १८ गते तत्कालिन प्रधानमन्त्री सूर्यबहादुर थापा नेतृत्वको मन्त्रिमण्डलमा शिक्षा राज्यमन्त्री थिए । यसैगरी २०४० साल असार २९ गते लोकेन्द्रबहादुर चन्द नेतृत्वको मन्त्रिमण्डलमा उन स्वास्थ्यमन्त्री रहेका थिए । प्रजातन्त्र स्थापनापछि नेपाल सद्भावना पार्टीमा सक्रिय ुभएका यादव मधेशी नागरिक समाजको अध्यक्षको हैसियतामा सामाजिक कार्यमा संलग्न रहेका थिए । उनको महादेवा गाउँपालिका–३ बथनाहास्थित पैतृक गाउँमा आइतबार साँझ दाहसंस्कार गरिने यादवको पारिवारिक स्रोतले जनाएको छ । यादवको एक छोरा र एक छोरी छन् । उनका श्रीमतीको एक वर्षअघि निधन भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार