काठमाडौं, १४ भदौ । क्यारेबियन प्रिमियर लिग (सिपीएल) क्रिकेटअन्तर्गत जमैका तलाहवाजबाट खेलिरहेका नेपाली युवा स्पिनर सन्दीप लामिछानेले प्रतियोगितामा थप २ विकेट लिएका छन् । आइतबार विहान सम्पन्न सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सविरुद्धको खेलमा सन्दीपले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिएका हुन् ।
प्याट्रियट्सका एभिन लुइसलाई २१ रनमा आउट गरेका सन्दीपले इस सोधीलाई ६ रनमै पेभेलियन फर्काए । जमैकाका कप्तान ब्र्याथवेटले पनि ३ विकेट लिए । सन्दीपले प्रतियोगितामा ६ खेल खेल्दै कुल ९ विकेट लिइसकेका छन् ।
सो खेल जमैका तलाहवाजले जितेको छ । जमैकाले प्याट्रियट्सलाई ३७ रनले हरायो ।
टस जितेर ब्याटिङ गर्न आएको जमैकाले ओपनर ग्लेन फिलिप्सको अविजित ७९ रनको मद्दतमा २० ओभरमा ६ विकेट गुमाएर १४७ रन बनाएको थियो । प्याट्रियट्सका कप्तान एमरितले ३ विकेट लिएका थिए ।
जवाफी ब्याटिङमा प्याट्रियट्स १९.४ ओभरमा ११० रनमै समेटिएको थियो । उसका लागि कायरल पावेल र एभिन लुईसले समान २१ रनको योगदान दिए भने अन्य ब्याट्सम्यानले उल्लेख्य योगदान दिन सकेनन् । प्याट्रियट्स यस सिजन खराब फर्ममा रहेको छ ।
योसँगै ६ खेलमा ३ जीत निकालेको जमैका ६ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ भने ५ खेलमा पराजित प्याट्रियट्स २ अंकसहित पुछारमा छ ।