काठमाडौं(जस)– काठमाडौं उपत्यकाका तीन जिल्लामा एक साता निषेधाज्ञा थप भएको छ। बुधवार बिहान जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले १७ भदौ मध्यरातसम्म निषेधाज्ञा थप गर्ने निर्णय भएको ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए।
३ भदौ मध्यरातदेखि जारी गरिएको निषेधाज्ञा आज राति १२ बजे सकिंदैछ। मंगलबार बसेको उपत्यकाका तीन जिल्लाको जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले १७ भदौ मध्यरातसम्म निषेधाज्ञालाई निरन्तरता दिनुपर्ने सिफारिस गरेको थियो।
निषेधाज्ञाको समयमा अत्यावश्यक बाहेकका सेवा बन्द रहने छन्। कोरोना महामारी बढेसँगै स्थानीय प्रशासनले करिब ४० जिल्लामा निषेधाज्ञा लगाएका छन्।
सोमबार बसेको उपत्यका नगरपालिका फोरमको बैठकले पनि संक्रमण बढेको निष्कर्ष निकाल्दै १५ भदौसम्म निषेधाज्ञा लम्ब्याउन प्रशासनलाई सिफारिस गर्ने निर्णय गरेको थियो । मंगलबार जिल्ला कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (डीसीसीएमसी) र काठमाडौंका मेयरहरुबीच भएको छलफलले पनि निषेधाज्ञा बढाउन सुझाव दिएको थियो ।
निषेधाज्ञा लगाइएको अवधिमा औषधि, खाद्यवस्तु र अत्यावश्यकीय वस्तु खरिदको कामबाहेक बाहिर निस्कन पाइने छैन । बाहिर निस्किँदा मास्क अनिवार्य लगाउनुपर्नेछ ।
अत्यावश्यकीय सामाग्री ढुवानी, स्वास्थ्यकर्मी र सुरक्षा निकायबाहेक सवारी सञ्चालनमा रोक लगाइएको छ ।
नियमित सेवा प्रदान गर्नुपर्ने कार्यालय जाने कर्मचारी विहान ९ बजेदेखि साढे १० बजेसम्म र बेलुका ३ देखि साढे ५ बजेसम्म आउ-जाउ गर्न सक्नेछन् ।
होटल, रेष्टुरेन्ट, फुटपाथ पसलसमेत बन्द हुनेछन् । बैंक लगायतका निकायले न्यूनतम कर्मचारी राखेर स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी सेवा दिन सक्नेछन् ।
उपत्यकामा निषेधाज्ञा थपबारे आज औपचारिक निर्णय आउँदैं, कति दिन थपिएला निषेधाज्ञा ?
कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि काठमाडौँ उपत्यकामा थप एक साता निषेधाज्ञा जारी राख्ने तयारी भएको छ।
काठमाडौँ, ललितपुर र भक्तपुर गरी तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच मङ्गलबार भएको छलफलमा निषेधाज्ञा एक साता लम्ब्याउनेबारे छलफल भएको हो । यद्यपि निर्णय भने भइसकेको छैन।
काठमाडौँ जिल्ला प्रशासन कार्यालयका प्रवक्ता एवं सहायक प्रमुख जिल्ला अधिकारी तुल्सीराम पौडेलले थप एक साता निषेधाज्ञा जारी राख्ने विषयमा छलफल भएको तर निर्णय बुधबार मात्र हुने जानकारी दिए।