काठमाडौँ(जस)– गन्तव्य नेपालका अध्यक्ष शिव अधिकारी अविरल तथा प्रबन्ध निर्देशक सुमित्रा अधिकारीको पहलमा बोधिसत्व विहारले तारकेश्वर नगरपालिका-४, पुरानो गुह्येश्वरी स्थित अपाङ्गता भएका २५ जनालाई आश्रय दिइरहेको संस्था इप्सा नेपाललाई नगद सहित खाद्य सामग्री सहयोग गरेको छ ।
अधिकारी दम्पतीसँगै आज संस्थाको निरीक्षण गर्न गएको बोधिसत्व विहारका सुप्रिम मास्टर हेगुवाङ शी तथा विहारअन्तर्गत नेपाल लकडाउन फुड च्यारिटीका संयोजक शान्त शर्मा सहितको टोलीले इप्सालाई सहयोग स्वरूप नगद रु ५० हजारका साथ २५० किलो चामल, ३० किलो दाल, १० किलो चिनी, ३० किलो गेडागुडी र २० लिटर तेल,2 केजी मसला लगाएत प्रदान गरेको हो ।
यससँगै, बोधिसत्वले लकडाउन पूर्ण रूपमा अन्त्य नहुन्जेल संस्थामा आश्रय लिइरहेका सबैको खानपिनको सम्पूर्ण जिम्मा लिने प्रतिबद्धता जनाएको छ ।
पहलकर्ता गन्तव्य नेपालका अध्यक्ष तथा समाजसेवी शिव अधिकारी अविरलले दिएको जानकारी अनुसार निरीक्षणका क्रममा इप्सामा ट्वाइलेट र बाथरूमको असुविधा रहेको पाइएकाले तत्काल ट्वाइलेट तथा सावर सहितको बाथरुम निर्माण गरिदिने घोषणा गरी काम अघि बढाइएको छ ।

बोधिसत्व विहार मानवसेवामा समर्पित बौद्धमार्गीहरूको अन्तर्राष्ट्रिय संस्था हो । कोरोना महामारीसँगै नेपालमा लकडाउन सुरु भएलगत्तै ‘नेपाल लकडाउन फुड च्यारिटी’ सञ्चालन गरेको बोधिसत्व विहारले अहिलेसम्म 4 लाखभन्दा बढीलाई नि:शुल्क खाना खुवाइसकेको छ । यससँगै विहारले विपन्न वर्गका सुत्केरी, बालबालिका र वृद्धवृद्धालाई विशेष पौष्टिक आहार उपलब्ध गराउँदै आएको छ ।
खाद्य सामग्रीका अतिरिक्त विहारले देशभर भारी मात्रामा स्वास्थ्य सुरक्षा र सरसफाइका सामग्री वितरण गरेको छ । विभिन्न जिल्लाका अस्पताल, स्वास्थ्य केन्द्र, क्वारेन्टिन स्थल, सुरक्षा चौकी, कारागार तथा सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयहरूमा बोधिसत्वले स्वास्थ्य सामग्री पुर्याएको छ भने पत्रकारहरूलाई पीपी, प्रेस,ज्याकेटसहित सुरक्षा सामग्री वितरण गरेको छ ।
पछिल्लो समय अपाङ्गता भएका विभिन्न संस्थामा रहेका १५० जनालाई खाद्य सामग्री सहयोग गरेको विहारले अझै त्यस्ता १ हजार जनालाई सहयोग गर्ने तयारी गरेको नेपाल लकडाउन फुड च्यारिटीका संयोजक समाजसेवी शान्त शर्माले बताएका छन् । यसका अतिरिक्त देशभर बाढी पहिरोको मारमा परेका समुदायको सहयोगमा आफूहरूको ध्यान गएको उनले बताए ।