काठमाडौं(जस)–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म देशभर करिब ८१ हजार नमुना परीक्षण सम्पन्न भएको जनाएको छ । मन्त्रालयको नियमित मिडिया ब्रिफिङ प्रवक्ता डा. विकास देवकोटाले र्यापड डाइगोनोस्टिक टेस्ट (आरडीटी) र पीसीआर परीक्षणबाट ८१ हजार ६५९ नमुना परीक्षण भएको जानकारी गराएका हुन् । उनका अनुसार आरडिटी विधिबाट ६० हजार ३१९ र पीसीआर विधिबाट २१ हजार ३४० गरी कुल ८१ हजार ६५९ वटा नमुना परीक्षणहरु सम्पन्न भएका छन् ।
पछिल्लो २४ घण्टामा पिसिआर २ हजार ३५७ र र्यापिड टेस्ट ६९२ नमुना परीक्षण सम्पन्न भएको मन्त्रालयले जनाएको छ । देशभरको सबै जिल्लामा आरडिटी विधिबाट परीक्षण भइरहेको छ भने १८ स्थानबाट पीसीआर परीक्षण भइरहेको छ । हाल १४ हजार ३१३ जना क्वारेन्टाइनमा रहेका छन् भने उपत्यका भित्र ६ जना र उपत्यका बाहिर २३९ जना गरी २४५ जना आईसोलेसनमा रहेको मन्त्रालयले जानकारी दिएको छ ।
संक्रमित संख्या २४३ पुग्यो
बुधबार साँझ २४ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, रुपन्देहीमा १२, कपिलवस्तुमा ८, पर्सामा ३ र नवलपरासीमा एक जना थपिएका छन् । रुपन्देहीमा २२, २२, २५, २८, ३०, ३२, ३३ र ४१ वर्षीय पुरुष तथा ४, १० र २८ वर्षीय महिलामा संक्रमण देखिएको छ । कपिलवस्तुमा २२, २९, ३२, ४०, ४०, ४० र ४२ र ४२ वर्षीय पुरुषमा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पर्सामा ३६ र ७४ वर्षीय पुरुष र ३६ वर्षीय महिलामा संक्रमण देखिएको छ भने नवलपरासीमा ३६ वर्षीय पुरुषमा संक्रमण देखिएको छ । संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । यसअघि बुधबार दिउँसो बाँके र कपिलवस्तुमा एक–एक जनामा संक्रमण देखिएको थियो । बुधबार २६ जनामा संक्रमण देखिएसँगै नेपालमा संक्रमित संख्या २४३ पुगेको छ ।
कुन प्रदेशमा कति संक्रमित ?
मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार नेपालमा अहिलेसम्म २१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा १७६ जना पुरुष र ४३ जना महिला रहेका छन् । त्यसमध्ये प्रदेश १ मा ३५ जना, प्रदेश २ मा ९६, बाग्मती प्रदेशमा ९, गण्डकी प्रदेशमा २, प्रदेश ५ मा ७२ र सुदूरपश्चिममा ५ जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्म कर्णाली प्रदेशमा कोरोना संक्रमित भेटिएको छैन् । त्यस्तै अहिलेसम्म ३५ जना डिस्चार्ज भएको प्रवक्ता देवकोटाले जानकारी दिएका छन् । बुधबार संक्रमितहरुलाई नजिकका कोरोना अस्पतालमा लैजाने तयारी गरिएको मन्त्रालयले जानकारी दिएको छ । उपचारमा रहेका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता देवकोटाले बताएका छन् ।