मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

कँडेल ग्रुप र एनआरएनए यूकेबीच कोरोना राहत प्याकेजमा सहकार्य, नेपाली बृद्धवृद्धाहरुलाई स्वास्थ्य सामाग्री वितरण गरिने

शनिबार, बैशाख २७ २०७७

लण्डन। कँडेल ग्रुपले साउथ इस्ट लन्डनमा बसोबास गर्दै आइरहेका नेपाली बृद्धवृद्धाहरुलाई करिब २ हजार ५ सय पाउण्ड बराबरको स्वास्थ्य सामाग्री एनआरएनए यूकेसंग समन्वय र सहकार्यमा वितरण गर्ने भएको छ। कँडेल ग्रुपका म्यानेजिङ डाइरेक्टर राजन कँडेल र एनआरएनए यूके कोरोना राहत कोषका संयोजक दिपक श्रेष्ठको बिशेष पहलमा यो सहकार्य हुन सम्भब भएको हो ।

कँडेल ग्रुपले साउथ इस्ट लण्डनको एविउडमा ‘नीम ट्री फार्मेसी’, प्लमस्टेडमा ‘प्लमस्टेड फार्मेसी’ र उलवीचमा ‘उलवीच लेटनाईट फार्मेसी’ गरी तिन फार्मेसीहरु संचालन गर्दै आइरहेको छ । यी तिन फार्मेसीहरु मध्ये उलवीचको ‘उलवीच लेटनाईट फार्मेसी’ का शेयर होल्डरसमेत रहेका संयोजक एबम एनआरएनए इंग्ल्यान्ड राज्य समन्वय परिषदका अध्यक्ष श्रेष्ठले यो सहयोग र सहकार्यका लागि कँडेल ग्रुपलाइ बिशेष धन्यबाद दिएका छन।

कँडेल ग्रुपका म्यानेजिङ डाइरेक्टर राजन कँडेलका अनुसार कोरोना भाइरस (कोभिड-१९ ) को उच्च जोखिममा रहेका साउथ इस्ट लण्डनका व्यक्तिहरुलाई यो सहयोग केन्द्रित हुने छ। साथै कँडेल ग्रुपको संलग्नतामा रहेको सबै फार्मेसीहरुले यो सहयोग प्रदान गर्नेछन्। फार्मेसीहरुले त्यस्ता व्यक्तिहरुलाई घर- घरमा गएर निशुल्क औषधी वितरण गर्नुका साथै उनीहरुलाई सुरक्षित राख्न ‘फेश मास्क’ र ‘ह्याण्ड स्यानीटाइजर’ नि:शुल्क वितरण गर्नेछ ।

नीम ट्री फार्मेसीकी सुपरीटेन्डेण्ट फर्मासिष्ट शोभा कँडेल र प्लटस्टेड फार्मेसकी सुपरिटेन्डेण्ट फर्मासिष्ट दिलासा श्रेष्ठले समुदायलाई दिने सेवाका लागि अहोरात्र खटिइरहेको समेत उनले जानकारी दिए। “यो महामारीको समयमा हाम्रा लागि बिरामीहरुको सेवा नै पहिलो प्राथमिकता हो, हाम्रो जिम्मेवारी भनेकै समुदायको सेवा गर्नु हो र यस समयमा कमजोर तथा अशक्त बिरामीहरुलाई विशेष सहयोग गरी सुरक्षित राख्नु हाम्रो जिम्मेवारी पनि हो।” डाइरेक्टर कँडेलले यो सुविधा ७० वर्ष नाघेका र सरकारले जारी गरेको निर्देशिका भित्र पर्ने समुहलाई मात्र प्रदान गरिने पनि प्रष्ट पारे ।

प्रतिक्रिया
सम्बन्धित समाचार