काठमाडौं (जस)–नेपालमा कोभिड –१९ संक्रमितको संख्या ४८ पुगेको छ । कोरोना भाइरसको पुनः परीक्षणका क्रममा भोजपुरका २६ वर्षीय पुरुषमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए । उनको धरानस्थित बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणका क्रममा कोरोना भाइरसको संक्रमण देखिएको बताए । उनका अनुसार ती संक्रमितलाई आइसोलेशनमा राखिएको छ ।
ती युवा गत फागुन ३० गते साउदी अरबबाट नेपाल आएका हुन् । यसअघि बिहीबारै जनकपुरका १४ वर्षीय पुरुष र उदयपुरकी ५५ वर्षीया महिलामा संक्रमण देखिएको थियो । भोजपुर– यहाँ एक युवकको पिसिआर रिपोर्ट पोजेटिभ आएको छ । गत मंगलबार द्रुत परिक्षण विधि (आरडिटी)बाट रिपोर्ट पोजेटिभ देखिएपछि उनको स्वाब पिसिआर जाँचका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । ती युवकको बिहीबार पिसिआर रिपोर्ट पोजेटिभ आएको अस्पताल स्रोतले जनाएको छ ।
२६ वर्षीय ती युवक गत चैत ११ गते हतुवागढी आइपुगेका थिए । होम क्वारेन्टाइनमा रहेका उनलाई आरडिटी रिपोर्ट पोजेटिभ देखिएपछि मंगलबार नै प्राथमिक स्वास्थ्य केन्द्र घोरेटारमा रहेको आइसोलेशनमा राखिएको छ । युवकका परिवारका दुईसहित अन्य तीन जनाको आरडिटी रिपोर्ट भने नेगेटिभ आएको छ ।
यस्तै बिहीबार पाटन अस्पतालमा उपचाररत दुई जनालाई डिस्चार्ज गरिएको छ । पेप्सीकोलाको सिनसिटी अपार्टमेन्टमा बसोबास गर्ने ५८ वर्षीय पुरुष र ८१ वर्षीय महिलालाई घर पठाइएको हो । उपचारपछि घर फर्कनेको संख्या १० पुगेको छ ।
कैलालीकी ६५ वर्षीया वृद्धा कोरोना जितेर घर फर्किइन
कैलाली( सुदूरपश्चिमकी एक वृद्धा कोरोनालाई जितेर घर फर्किएकी छन् । कोरोना निको भएपछि कैलालीको लम्कीचुहा नगरपालिका– १ की ६५ वर्षीया वृद्धा बिहीबार सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भएकी हुन् । लगातार दुई पटकको कोरोना परीक्षणमा रिपोर्ट ‘नेगेटिभ’ आएपछि उनलाई डिस्चार्ज गरिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले बताए । उनी विरगञ्जबाट आएर १२ दिन क्वारेन्टाइनमा बसेकी थिइन् भने चैत २२ गते कोरोना पुष्टि भएको थियो ।
लम्कीचुहा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएकी उनको यसअघि र्यापिड टेस्टमा कोरोना नेगेटिभ देखिए पनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । योसँगै सुदूरपश्चिम प्रदेशमा चारजना कोरोनालाई जितेर घर फर्किएका छन् भने नेपालमा निको हुनेको संख्या १०पुगेको छ । धनगढी उप–महानगरपालिका ५ का ३४ वर्षीय पुरुष, लम्कीका २१ वर्षीय पुरुष र कञ्चनपुर बेदकोटका ४१ वर्षीय पुरुष यसअघि नै घर फर्किसकेका छन् ।