आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

नेपालसँगको श्रम सम्झौता अद्यावधिक गर्न कतार तयार

मंगलबार, फाल्गुन १३ २०७६

काठमाडौँ(जस)–कतारले नेपालसँगको श्रम सम्झौता अद्यावधिक गर्न तयार रहेको जनाएको छ । सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि कतारका राजदूत युसुफ विन महोम्मद अल हल्नीले सोमबार सिंहदरबारमा गर्नुभएको शिष्टाचार भेटमा राजदूतले दुई देशबीच भएको श्रम सम्झौतालाई आवश्यकताअनुसार परिमार्जन गर्न तयार रहेको बताएका हुन् । यसअघि कतारसँगको समझदारीलाई समयानुकूल बनाउन नेपालले लामो समयदेखि कूटनीतिक पहल गरिरहेको थियो । सम्झौता परिमार्जनका लागि विभिन्न चरणमा द्विपक्षीय वार्ता संवाद भए पनि त्यसले मूर्तरुप लिन सकेको थिएन ।
भेटमा राजदूत युसुफले नेपालको स्वास्थ्य र शिक्षा क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । “हामीले नेपालमा क्रिकेट रङ्गशाला निर्माणमा पनि सहयोग गर्न चाहेका छौँ”, सभामुखसँगको भेटमा उनले भने । सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकप फुुटबलको तयारीमा कतारमा कार्यरत नेपाली श्रमिकले ठूलो योगदान गरिरहेको पनि राजदूतले स्मरण गरेका थिए । सो अवसरमा सभामुख सापकोटाले जलवायु परिवर्तनलगायत विश्व्यापी समस्या समाधन गर्न नेपाल र कतारले संयुक्तरुपमा पहलकदमी लिनुुपर्नेमा जोड दिनुभएको थियो । भेटमा उनले सन् २०२२ मा कतारले आयोजना गर्न लागेको विश्वकप फुुटबलको सफलताको कामना गर्नुभएको सभामुखको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार