काठमाडौं / अमेरिकी आक्रमणमा आफ्नो सेनाको जनरल मारिएपछि इरानका सर्वोच्च नेताले अपराधीहरुमाथि कडा बदला लिने बताएका छन् ।
आज इराकको बग्दादमा इरानी फौजको विशेष दस्ता क्विडका प्रमुख जनरल कासिम सुलेमानी मारिएपछि सर्वोच्च नेता आयोतुल्लाह अलि खामेनीले त्यस्तो प्रतिक्रिया दिएका हुन् ।
बगदाद अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहानै भएको आक्रमणबाट प्रमुख जनरल सुलेमानी मारिएको अमेरिकी रक्षा विभागले जनाएको छ ।
अमेरिकी रक्षा मन्त्रालयले सुलेमानीलाई ‘राष्ट्रपति डोनल्ड ट्रम्पको आदेशमा’ मारिएको बताएको बीबीसीले उल्लेख गरेको छ ।
इरानले तीन दिनको राष्ट्रिय शोक घोषणा गरेको छ भने रक्षामन्त्री जावेद जारिफले सो घटनालाई अन्तर्राष्ट्रिय आतङ्कवाद भनेका छन् । ‘यो घटनाले उब्जाएको परिस्थितिको पूर्ण जिम्मेवार अमेरिका हुनेछ,’ उनले ट्वीट गरेका छन् ।