आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

एनआरएनएका लागि वर्ष–२०१९ र नयाँ वर्षमा अपेक्षा

बिहिबार, पुष १७ २०७६

नवराज रोस्यारा
वर्ष २०१९ हामी गैर आवसीय नेपाली (एनआरएन)हरुका लागि मिश्रित रहन पुग्यो । हामी बिभिन्न प्रतिकुल परिस्थितीका वावजुद गैर आवसीय नेपाली संघको बिश्व सम्मेलन सम्पन्न गर्न सक्षम भयौँ । हाल सम्मकै सर्वा्धिक बढि प्रतिनिधीहरुको सहभागिताले निर्वाचन प्रक्रिया वाट नयाँ नेतृत्व चयन भएको छ । विश्वका बिभिन्न देशहरुमा पनि हामीले एनसिसीको निर्वाचन सम्पन्न गरेर नया नेतृत्व चयन गर्न सफल भयौ। यसलाई हामीले उपलव्धीको रुपमा लिन सक्छौँ । तर “आफ्नो मातृभूमिका लागि सवै मिलेर केहि गरौं” भन्ने हामी गैर आवासिय नेपालीहरुको पवित्र भावनामा सवै भन्दा वढी चोट पनि यसै वर्ष लागेको अनुभुती धेरैले गरिरहेका छन । एनआरएनएको बिश्व सम्मेलन ताका देशकै प्रधानमन्त्री समेतले एनआरएनहरुको आचरण र व्यवहार प्रति प्रश्न चिन्ह उठाउने अवस्था सिर्जना हुनु, विश्व सम्मेलनताका हामी बीच भएको अश्वस्थ प्रतिस्पर्धा र त्यस्ले छताछुल्ल पारेको हाम्रो कमजोर व्यवस्थापीकय धरातल, सम्मेलनमार्फत प्रकाशमा ल्याइएको नेरु १५ करोडको घाटाको हिसाव किताव र एनआरएनए भित्र देखिएका आर्थिक अनियमितताका समाचारहरुले गैर आवासिय नेपाली अभियानले अहिले सम्म कमाएको बिश्वासमा ठुलो ठेस लगाइ दिएको छ । यस्ले बिश्व भरि छरिएर रहेका तमाम प्रवासी नेपाली दिदी वहिनी तथा दाजुभाईहरुलाई स्तव्ध पनि पारेको छ ।

नयाँ वर्षको यो शुभ अवसरमा हाम्रा कमजोरीहरुलाई यहाँ उल्लेख गर्नुको मेरो उध्येश्य कुनै व्यक्ती बिशेषलाई आरोपित गर्नु कदापी होइन । अहिलेको यो परिस्थिती सिर्जना हुनुमा हामी कसै एक जनाको मात्र दोष छैन । आफ्नो पदीय दायत्व अनुसार म स्वयं पनि उत्तीक्कै दोशी छु । एनआरएन अभियान अन्तर्गतका कतिपय निर्णयहरु गलत भए पनि आफु र आफ्ना व्यक्तीहरुलाई जीताउने नाममा ती निर्णयहरुमा मौन समर्थन वा सहयोग मैले पनि गरेँ । परिणाम स्वरुप एनआरएनए भित्र अस्वस्थ प्रतिस्पर्धा र प्रतिनिधी किनवेच जस्ता नराम्रा कार्यहरुले प्रश्रय पाउदै गए र यस्पालीको सम्मेलन मार्फत ती कुराहरु सवैले देख्ने गरिनै सतहमा छताछुल्ल भएर देखा परे । आफुले गरेका गल्तीहरुमा आम गैर आवासिय नेपाली दिदी वहिनी तथा दाजुभाईहरु सँग म क्षमा माग्न चाहन्छु । मेरो ब्रम्हले भ्याए सम्म भविश्यमा त्यस्ता कुनै पनि गलत गतिवबिधीहरुको समर्थन नगर्ने प्रतिवध्दता व्यक्त गर्न चाहन्छु ।

एनआरएन अभियानमा रहँदा मैले आफुले अनुभुती गरेको अर्को समस्या होस राजनैतिक विचारधाराका आधारमा व्यक्तीको समर्थन वा बिरोध । हिजोको राजनैतिक पृष्ठभुमीलाई हेरेर आज छोइछिटो गर्ने हाम्रो प्रबृती नेपालको सुदुर पश्चिममा रहेको छाउपडी प्रथा भन्दा कम छैन । हिजो कुनै व्यक्ती कुनै अमुक दल संग आवध्द भएकै आधारमा त्यस्लाई आफ्नो नजिक वा टाढाको देख्ने प्रवृती हाम्रो मन भित्र गाडिएर वसेको छ । आफ्नो पार्टी सँग सम्बन्धित व्यक्ती छ भने ऊ जस्तो सुकै असक्षम र नराम्रो चरित्रको छ भने पनि उस्लाई आफ्नो नजिकको मित्र ठान्ने, तर फरक विचार वोकेको व्यक्ती भए एनआरएनएका लागि ऊ जति सुकै सक्षम र जतिसुकै क्रियाशिल भए पनि उस्लाई शत्रु नै ठान्ने । यस्तो सोचाई वाट हामी सवै ग्रस्त छांै । नेपालका जुन नेताहरुलाई सरापेर हिजो हामी विदेश भासिएका थियौ, आज तीनै नेताहरुको कुरा सुनेर हामीहरु एनआरएनमा राजनैतिक रंग भरी रहेका छौ ।

कुनै एउटा व्यक्तीले नेतृत्व गर्दा अमुक पार्टीको जीत र अर्को व्यक्तीको नेतृत्व हुदा अर्कै पार्टीको जीत देख्ने किसमको हामी भित्र हुर्किएको अछुतपना छाउपडी संग जोडीएको अछुतपनाको व्यवहार जस्तै गलत छ किनकि एनआरएन अभियान मात्र मातृभूमी प्रतिको माया र श्रद्धामा आधारित छ र हरेक नेपालीले नेपाललाई उत्तिकै माया र श्रद्धा गर्ने गर्दछ । सुदुर पश्चिममा महिलाहरु महिनावारीको समयमा अछुत वन्ने परम्परालाई हामी हृदय देखिनै तिरस्कार गरिरहेका छौ । तर एनआरएन भित्र राजनैतिक विचारधाराका आधारमा हुने अछुतपनालाई हामी मलजल दिएर हुर्काइरहेका छौँ । छाउपडी को छुवाछुत मानव जातिका लागि जति गलत र घातक छ, एनआरएनएमा भित्रिएको राजनैतिक छुवाछुत पनि हामी एनआरएनहरुका लागि त्यतीनै घातक छ । यस्को अन्त नभए सम्म एनआरएनएको लक्ष हासिल गर्न हामी कहिल्यै पनि पुर्ण रुपमा सफल हुने छैनौ । हो, एनआरएनका धेरै अभियन्ताहरुको हिजाको पृष्ठ भुमी कुनै न कुनै राजनैतिक पार्टी संग जोडीएको थियो। तर आज हामीहरुको चाहना एनआरएन भित्र छिरेर राजनिती गर्नु कदापी होइन ।

हामीहरु मात्र आफ्नो मातृभुमी नेपाल प्रतिको अगाध माया र स्नेहका आधारमा एक हुन चाहन्छौ । एउटै आमाका सन्तानका रुपमा बिदेशमा चिनिन चाहन्छौ हामी । हामी सवैलाई थाहा छ, हरेक नेपालीले आफ्नो मातृभुमीलाई अगाध माया गर्छ । अनि आफ्नो मातृभुमी र आफ्ना आमा वावु र आफ्नो समाजवाट टाढा हुनुको पिडाले हरेक नेपालीको मन उत्तीक्कै छ । त्यसैले जवजव हाम्रो मनमा राजनैतिक रंग देखा पर्दछ, तव तव हामी आप्mनी आमा नेपाल लाई सम्झौ र सवै अभियान्ताहरुलाई एकै आमा नेपालका सन्तानको रुपमा हेरौ। एनआरएनलाई राजनिती वाट मुक्त गर्ने केवेल यहि एउटा उपाय हो ।

आफ्नो राजनैतिक विचारधारा जुनसुकै भएपनि जहिले देखि मैले एनआरएन अभियानको महत्व वुझे, त्यहि वेला देखिनै एनआरएनमा रहे सम्म मैले नेपालका सवै राजनैतिक विचार र पार्टीहरु प्रति समान हिसावले सम्मान र आदर प्रकट गर्दै आएको छु र हरेक एनआरएन अभियन्तालाई उत्तीक्कै स्नेह र सम्मान गर्ने तथा राजनैतिक आस्थाका आधारमा कसै प्रति कुनै पनि प्रकारको बिभेद नगर्ने प्रतिवध्दता गरेको छु । तर पनि मेरा यी प्रतिवध्दताहरु प्रति एनआरएनका सवै अभियन्ताहरुलाई अझै आश्वस्थ पार्न सकेको रहेनछु, । शायद यस्मा पनि मेरा कमजोरी रहेकै हुन पर्दछ । आगामी दिनमा म आफ्ना सवै कमजोरीहरु हटाउदै एनआरएनमा राजनैतिक निश्पक्षताका लागि प्रतिवध्दता व्यक्त गर्न चाहन्छु । साथै कुनै व्यक्तीको कुनै बिशेष राजनैतिक पृष्टभुमी भएकै कारण सधै भरि त्यहि राजनैतिक आखाले नहेर्न सवै एनआरएन अभियन्ता साथीहमा हार्दिक अपिल गर्न चाहन्छु ।

नया वर्ष आरम्भको यो पवित्र समयमा हामी सवैले आफ्ना कमजोरीहरु स्वीकार्दै यस किसमको आत्म समिक्षा गर्नै पर्ने वेला आएको छ। एनआरएनए नेतृत्व लिएका साथीहरुले आज “यस्तो मानीस सँगको भेट”, भोली “यस्तो कार्यक्रममा सहभागीता” भनेर फेसवुकका वालहरुमा फोटो हाल्दै त्यसैमा आफ्नो मुख्य उपलव्धी देख्न छोडौँ । भएका कार्यक्रमहरुको प्रचार गर्नु पर्दछ । तर त्यसैमा मख्ख परेर हामीले हाम्रा मुल समस्याहरुलाई लुकाउने काम गर्न थाल्यौ भने हाम्रो अभियान प्रति थप अविश्वास बढ्दै जाने छ । र अन्ततोगत्वा एनआरएन अभियान एकदिन परोपकारिताका नाममा केवल ढोङ्ग वन्न जाने निश्चित छ ।

एनआरएन प्रति घटेको बिश्वासलाई पुनआर्जन गर्नेहो भने अहिले नेतृत्वको मुख्य कार्य भनेको आर्थिक पारदर्शिता लागि संयन्त्र निर्माण गर्नु हो। हाम्रो अभियान आम गैर आवासिय नेपालीहरुको चन्दावाट चल्ने संस्थाहो । तर १५ करोड घाटा, ठेकापट्टामार्फत भएका एनआरएनए भित्रका आर्थिक अनिय(मितता, कतिपय अवस्थामा त एनआरएन कर्मचारीहरुको समेत संलग्नता रहेको जस्ता तथ्यहरु वाहिर आएका छन् । यी तथ्यहरुको बिश्लेषण गर्दा अहिलेसम्मका बिभिन्न शिर्षकमा चन्दा मार्फत संकलन गरेको पैसाको दुरपयोग भएको प्रस्टै हुन्छ । एनआरएनए अभियानमा मातृभूमिसंँग संम्वन्धित भावनात्मक नाराहरु लगाएर चन्दा संकलन गरिन्छ । र त्यसै रकमले एनआरएनएले नेपालमा परोपकारी काम गर्ने गर्दछ र नेपालमा कर्मचारीहरु राखेर आफ्नो दैनिक गतिबिधीहरु संचालन गर्ने गर्दछ ।

तर मानिसले चन्दा त्यसै दिदैन। चन्दा उस्ले तव मात्र दिने गर्दछ, जव उ चन्दा लिने संस्था प्रति आदरभाव र बिश्वासले ओत प्रेत भएको हुन्छ। भावनात्मक आधारमा वनेको हाम्रो संगठन एनआरएनए भित्र यसरी आथीर्क अनियमितताका कुराहरु उठ्नु अत्यन्त दुःखदायी कुरा हो । त्यसैले अहिलेको नेतृत्वले एक वलियो र पारदर्शिक आर्थिक संयन्त्र वनाई संसार भरि छरिएर रहेका सवै एनआरएन(हरुलाई बिश्वस्थ तुल्याउने कार्य लाई पहिलो प्राथमिकतामा राख्नु पर्दछ । एनआरएन अभियान मार्फत गर्न सकिने परोपकारिताको संम्भाव्यतालाई भजाएर एनआरएनको यस्को मुख्य पदमा आसिन व्यक्तीत्वहरुले नेपालमा राजनैतिक पार्टी एवं सरकारसँग मोलतोल गर्ने र आफ्नो व्यापारिक हितका लागि नितिगत निर्णयहरु गराएर अर्थिक लाभ लिइरहेको कुरा पनि वेला वेलामा वाहिर आउने गरेको छ । नेपालमा एनआरएनहरु वाट हुने यस प्रकारका नीतीगत भ्रष्टाचारहरु प्रति इगित गर्दै त्यससर्व साधारणले औला ठड्याइरहेका पनि छन । त्यसैले एनआरएनएको नया नेतृत्वले यस्मा पनि सचेत भएर काम गर्नु जरुरी छ ।

अन्तमा एनआरएन अभियान हामी सवै गैर आवासिय नेपालीहरुको आफ्नै अभियान हो । यसमा कमि कमजोरीहरु देखेर यसवाट अलग्गिनुको सट्टा भएका कमीकमजोरीहरु सच्याउदै हामी यो अभियानलाई पारदर्शी, मर्यादित र बिश्वसनिय वनाउनमा एकजुट भएर लागौ । सवैले आ आफ्नो तर्फवाट भएका कमी कमजोरीप्रति आत्मालोचित हुदै यो अभिायनको सुध्रिढीकरणमा आफुलाई समर्पण गरौँ । नया वर्ष २०२० को उपलक्षमा सम्पुर्ण गैर आवासिय नेपाली दिदी वहिनी तथा दाजुभाईहरुमा यहि शुभकामना छ । साथै हामी सवैका लागि यो वर्ष निकैनै फल प्रदायक रहोस र चारैतिर शुख शान्ती फैलियोस भन्ने कामना पनि व्यक्त गर्न चाहन्छु । (भुतपूर्व अध्यक्ष गैर आवासीय नेपाली संघ जर्मनी)

प्रतिक्रिया
सम्बन्धित समाचार