आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

ए डिभिजन लिग : संकटामाथि पुलिसको संघर्षपूर्ण जित¸ आर्मीले रुस्लान थ्री स्टारलाई हरायो

बुधबार, पुष १६ २०७६

काठमाडौं(जस)–शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत नेपाल पुलिस क्लबले संकटा क्लबमाथि जित हासिल गरेको छ । बुधबार एन्फा कम्प्लेक्स सातदोबाटोमा सम्पन्न खेलमा पुलिस क्लबले संकटालाई २–१ गोल अन्तरले पराजित गरेको हो । पुलिसको जितमा सुमन लामाले एक गोल गरेका थिए भने एक गोल संकटाका अमित तामाङले आत्मघाती गोल गरेका थिए । संकटाका लागि एक गोल अमितले नै गरेका थिए । खेलको १५ मिनेटमा अमितको आत्मघाती गोलमा पुलिस क्लबले शुरुवाती अग्रता लिएकोमा त्यसको तीन मिनेटमा नै अमितले नै संकटाका लागि बराबरी गोल गरेका थिए ।

त्यसपछि खेलको ३३औ मिनेटमा पुलिसका लागि सुमनले गोल गरेका थिए । यो जितसहित पुलिसले चौथो चरणमा महत्वपूर्ण ३ अंक हासिल गरेको छ । पुलिसका लागि गोल गरेका सुमन लामा खेलको प्लेयर अफ द म्याच बनेका छन् । यो जितपछि पुलिसको चार खेलमा दोस्रो जित हासिल गर्दै एक हार र एक बराबरीसहित ७ अंक हासिल गर्दै लिगमा पाँचौ स्थानमा उक्लिएको छ । त्यस्तै संकटाको भने ४ खेलमा एक जित र २ हार र एक बराबरीसहित ४ अंक हासिल गरेको छ भने लिगमा १०औ स्थानमा रहेको छ ।

आर्मीले रुस्लान थ्री स्टारलाई हरायो
यस्तै त्रिभुवन आर्मी क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बुधबार रुस्लान थ्री स्टारलाई २–० ले पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीका लागि नवयुग श्रेष्ठले र सन्तोष तामाङले दोस्रो हाफमा उत्कृष्ट गोल गरे । यससँगै थ्री स्टारले लिगमा पहिलो हार बेहोरेको छ । आर्मी भने लिगमा तेस्रो जितसँगै ९ अंक जोड्न सफल रह्यो । थ्री स्टारको ४ खेलमा २ जित, १ बराबरी र १ हारसहित ७ अंक नै रहेको छ । खेलको पहिलो मिनेटमा नै नवयुग श्रेष्ठको पासमा कप्तान भरत खवासको प्रहार गोलरक्षक प्रिसोले सहजै बचाउ गरे । १२औं मिनेटमा थ्री स्टारका हम्जातको प्रहार डिफेन्डरले क्लियर गरिदिए । १७औं मिनेटमा सन्तोष तामाङको प्रहार बाहिरिदा आर्मीले खेलमा अग्रता लपनबाट चुक्यो । १८औं जर्ज्प्रिन्स कार्कीको प्रहार आकासियो ।

१९औं मिनेटमा नवयुग श्रेष्ठले गोलरक्षकलाई बिट गर्दै गरेको प्रहार गोल लाईनबाट करण राउतले बचाए । त्यसपछि २०औं मिनेटमा भरत खवासको प्रहार थ्री स्टारका गोलरक्षक प्रिसोले पञ्च गर्दै बचाए । २१औं मिनेटमा थ्री स्टारका हम्जातको प्रहार जर्ज्प्रिन्सले क्लियर गरिदिए । २४औं मिनेटमा सुशील राईको कर्नरमा कप्तान अनन्त तामाङको हेडर बाहिरियो । ४१औं मिनेटमा आर्मीका कप्तान भरत खवास गोल गर्नबाट चुके । जर्ज्प्रिन्स कार्कीको पासमा गोलरक्षक बिट भईसकेको अवस्थामा भरतको प्रहार पोस्टबाट थोरै बाहिरियो ।

५१औं मिनेटमा अनन्त तामाङको प्रहारलाई आफ्नो नियन्त्रणमा लिदै नवयुग श्रेष्ठको प्रहार थ्री स्टारका गोलरक्षक प्रिसोले सहजै बचाए । ५४औं मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै आर्मीलाई अग्रता दिलाए । भरत खवासले दायाँ विंग्सबाट गरेको क्रसलाई नवयुगले पेनाल्टी क्षेत्र भित्रबाट गरेको एक्रोब्याटिक प्रहार गोलमा परिणत भएको थियो ।

६१औं मिनेटमा मिक्छेन तामाङको पेनाल्टी बक्स बाहिरको फ्रिकिक प्रहार बाहिँरिदा थ्री स्टार बराबरीबाट चुक्यो । उनको फ्रिकिकलाई विकास खवासले हेडरमार्फत क्लियर गरेका थिए । ७९औं मिनेटमा सन्तोष तामाङले फ्रिकिकमा गोल गर्दै आर्मीको अग्रता दोब्बर पारे । सन्तोषले झन्डै २५ यार्ड टाढाबाट प्रहार गरेको फ्रिकिक दोस्रो बारको टप कर्नरमा सिधै गोल भएको थियो । सन्तोषले लिगका सुरुवाती ३ खेल प्रतिबन्धका कारण गुमाएका थिए । इन्ज्युरी समयको पहिलो मिनेटमा विकास तामाङले पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरेपछि थ्री स्टारले पेनाल्टीको अवसर पायो । रुपेश केसीको पेनाल्टी प्रहारलाई गोलरक्षक विकेश कुथुले उत्कृष्ट बचाउ गरे । रुपेशले आफ्नो बायाँतिर गरेको प्रहारलाई विकेशले डाइभ दिँदै बचाए । त्यसको रिबाउन्डमा सुशील राईको प्रहारमा पनि विकेश बाधक बने ।

प्रतिक्रिया
सम्बन्धित समाचार