काठमाडौँ(जस)– सशत्र प्रहरीको एपीएफ क्लबले सातौं संस्करणको प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबलको उपाधि जितेको छ ।
आज भद्रकालीस्थित आर्मी हेडक्वाटरमा भएको फाइनल खेलमा आयोजक त्रिभुवन आर्मी क्लबलाई २–० ले पराजित गर्दै एपीएफले उपाधि जितेको हो ।
एपीएफका लागि सरु लिम्बु र रेखा पौडेलले एक एक गोल गरिन् ।
खेलको पाँचौं मिनेटमा सरुले गोल गर्दै एपिएफलाई अग्रता दिलाएकी थिइन् । खेल सकिन १ मिनेट बाँकी रहँदा रेखाले अर्को गोल थप्दै एपीएफको जित निश्चित पारिन् ।
उपाधिसँगै एपीएफले ३ लाख प्राप्त गरेको छ । उपविजेता आर्मीले १ लाख ५० हजारमा चित्त बुझाएको छ ।
सेमिफाइनलमा पुगेका नेपाल पुलिस क्लब र भुटान फुटबल टिमले ५०/५० हजार प्राप्त गरेको छ । योसँगै एपीएफले लगातार दोस्रो वर्ष उपाधि आफ्नो बनाएको छ । समग्रमा एपीएफको यो पाँचौ उपाधि हो ।