काठमाडौं – क्रिसमस पर्वको पूर्वसन्ध्यामा चीन सरकारले क्रिसमस मनाउन प्रतिबन्ध लगाएको छ ।चीनका थुप्रै प्रान्त तथा सहरका प्रशासनले क्रिसमस ‘इभ’ तथा क्रिसमस मनाउन प्रतिबन्ध लगाएका हुन् ।स्थानीय प्रशासनले सर्वसाधारणलाई क्रिसमस नमनाउन उर्दी जारी गर्दै पसलेहरुलाई क्रिसमससम्बन्धी कुनैपनि सामग्री बिक्री नगर्नसमेत निर्देशन दिएका छन् ।हाइनान प्रान्त, राजधानी पेइचिङनजिकैको सहर लाङफाङ, पश्चिमी सहर नान्याङलगायतका दर्जनौं सहरहरुमा यस्तो उर्दी जारी गरिएको जनाइएको छ ।कतिपय विश्वविद्यालयमा विद्यार्थीहरुलाई क्रिसमस नमाउने आचारसंहितामा हस्ताक्षर गराइएको पनि जनाइएको छ ।केन्द्र सरकारले क्रिसमस नमनाउने विषयमा औपचारिक निर्देशन नदिएपनि चिनियाँ कम्युनिस्ट पार्टीका स्थानीय कमिटीहरुमार्फत् कडा निर्देशन जारी गराइएको बताइएको छ ।विदेशी धर्म र साँस्कृतिक अतिक्रमणविरुद्ध लड्ने राष्ट्रपति सी चिनफिङको नीतिको रुपमा यसलाई लिइएको छ ।गएको वर्षमात्रै चीनमा हजारौं चर्चहरु डोजर लगाएर ध्वस्त बनाइएको थियो । (एजेन्सी)