काठमाण्डौं (जस) – दक्षिण एसियाली खेलकुद सागका लागि खेलिएको अभ्यास खेलमा नेपाल ए टिम ४९ रनले विजयी भएको छ । मुलपानी क्रिकेट मैदानमा माल्दिभ्ससंग टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५० रन बनायो । शरद भेषवाकरको कप्तानीमा रहेको नेपाल ए का लागि भिम सार्की ३३, रित गौतमले २५ तथा सुवाश खकुरेलले २० रनको योगदान गरे । शेर मल्ल ७ र आकश चन्द ४ रन बनाए यस्तै अमित श्रेष्ठले २९, दिलिप नाथले १८ रनको योगदान गरे । माल्दिभ्सका कप्तान मोहम्मद महफुजले ३ लागि विकेट लिए ।
जवाफमा माल्दिभ्स २० ओभरमा ६ विकेट गुमाउँदै १ सय १ रनमै समेटियो। उसका कुनैपनि खेलाडीले राम्रो खेल्न सकेनन् । १३ रनमा पहिलो विकेट गुमाएको माल्दिभ्सले २३ रनमा तीन विकेट खेर फालेको थियो । त्यसपछि उसको विकेट झर्ने क्रम यतिमा रोकिएन । ५२ रनमा ४ विकेट गुमाएका माल्दिभ्स अन्तत एक सय दुई रनमा अलआउट भयो । नेपालका आकाश चन्दले दुई विकेट हात पारे ।
माल्दिभ्सका २ खेलाडीले मात्र दोहोरा अंक जोड्न सके । जसमा युफुफ फरातले ४२ रन बनाए भने हसन अब्रिम १८ र मोहम्मद इभान ९ रन जोडे । नेपालको लागि नन्दन यादव र आकश चन्दले २–२ विकेट लिए । शेर मल्ल र मञ्जित श्रेष्ठले समान १–१ विकेट लिए ।