काठमाडौँ(जस)– १३ औं दक्षिण एसियाली खेलकुदअन्तर्गत पुरुष भलिबलमा नेपाल बंगलादेशसँग पराजित भएको छ ।
निकै प्रतिस्पर्धात्मक खेलमा नेपाल ३–२ को सेटमा पराजित भएको हो । नेपालले पहिलो र तेस्रो सेटमा जित हात पार्दा बंगलादेशले दोस्रो, चौथो र पाँचौं सेटमा बाजी मारेको हो ।
नेपालले दुवै सेट निकै प्रतिस्पर्धात्मक रुपमा पछि परेको थियो । पहिलो सेट २५-२० ले जितेको नेपालले दोस्रो सेट २५-२३ ले गुमाएको थियो । तेस्रो सेट २५-१९ ले आफ्नो पक्षमा पार्दै २-१ को अग्रता बनाएको नेपाल चौथो सेटमा २६-२४ ले पछि परेपछि बंगलादेशले २-२ को बराबरी गर्न सफल भयो ।
पाँचौं सेटमा बंगलादेशले भने १५-१२ ले आफ्नो पक्षमा पार्दै जित हात पारेको हो । नेपालले बंगलादेशसँग पराजित भएसँगै सेमिफाइनल पुग्न भने कठिन भएको छ ।
अब नेपालले बलियो मानिएको भारतसँग खेल्नु पर्ने छ ।
यसअघि बुधबार दिउँसाे भएकाे महिला भलिबलमा भने नेपालले बंगलादेशलाई ३-० काे साेझाे सेटमा हराएकाे थियाे । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको समूह ‘ए’ को लिग खेलमा नेपालले बंगलादेशलाई २५–९, २५–९ र २५–११ को सोझो सेटमा पराजित गरेकाे हाे । समूह ‘बी’ मा माल्दिभ्स र पाकिस्तानबीच हुने पर्ने महिलाकै अर्को लिगमा पाकिस्तान नआएपछि माल्दिभ्सले वाक ओभर पाएको छ ।
युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले रेफ्री संयोजक गौतम लासिवालाई बल हस्तान्तरण गरी खेल शुभारम्भ गर्नु भएकाे थियाे । सागको औपचारिक उद्घाटन मंसिर १५ गते हुने भए पनि भलिबल मंसिर ११ गतेदेखि नै सुरु भएको हो ।