मिन्स्क, रुसी महासङ्घबाट टुक्रिएको बेलारुसमा संसद् सदस्य चयनका लागि भएको निर्वाचनमा विपक्षी दलका सबै उम्मेदवार पराजित भएका छन् । सोमबार सार्वजनिक भएको नतिजाअनुसार विपक्षी दलका कुनै पनि उम्मेदवारले जित हासिल गर्न नसकेको निर्वाचन आयोगले जनाएको छ । बेलारुसको संसद्मा ११० जना सांसद निर्वाचित भएका छन् । ती सबै जना बेलारुसका शक्तिशाली नेता अलेक्जेन्डर लुकाशेन्कोको दलका रहेका छन् । विपक्षीहरूले यसअघि जितेको दुई सिटमा पनि यस पटक पराजय भोगेका छन् । आलोचकहरूले यस सदनलाई “रबर स्टाम्प” संसदको संज्ञा दिने गरेका छन् ।