मेरो महासचिवमा उम्मेदवारी गैरआवासीय नेपालीहरुकै लागि हो

डा. केशव पौडेल
महासचिवका उम्मेदवार
गैर आवासीय नेपाली संघ (एनआरएनए)

डा. केशव पौडेल पेसाले डाक्टर हुन् । विगत लामो समयदेखि अमेरिकामा रहँदै आएका पौडेल अहिले लभलेस हेल्थ सिस्टमको निर्देशक छन् । अध्धयनशील व्यक्तित्वको रुपमा परिचय बनाएका पौडेल अध्ययनको क्रममा थप अध्ययनको प्यासले नै आफु अमेरिका आएको बताउँछन् । डा पौडेल अमेरिकामा डाक्टरी पेसाको अलावा समाजसेवा गर्ने हेतुले विगत धेरै वर्षदेखि एनआरएनए अभियानमा सक्रियरुपमा सहभागी हुँदै आएका छन् । सोही अनुसार, एनआरएनए अमेरिकाको दुई कार्यकाल सफलरुपमा अध्यक्ष भएर विताएका पौडेलले आसन्न एनआरएनएको निर्वाचनका लागि एनआरएनए आइसिसीको महासचिवमा उम्मेदवारी घोषणा गरेका छन् । यसै सन्दर्भमा डा पौडेलसँग एनआरएनएको महासचिवमा उम्मेदवारी र उनका कार्ययोजना तथा समग्र एनआरएनए अभियानबारे जनसवाल दैनिकका लागि रामजी बगालले गरेको कुराकानीको सारसंक्षेप :

अमेरिकामा डाक्टर हुनुहन्छ, यहाँको पेशागत जीवन अमेरिकामा कसरी चल्दैछ ।
मेरो सपना डाक्टर हुने थिएन । परिवारको सपना पनि थिएन । बाबा शिक्षक हुनुभएकोले उहाँ भन्नुहुन्थ्यो, ‘तँ प्रोफेसर हुनुपर्छ ।’ अरुले भन्थे, ‘होइन गाउँबाट प्रोफेसर पनि भएका छन, इन्जिनियर पनि भएका छन, डक्टर भएका छैनन, तँ डक्टर हुनुपर्छ’ । तर, मलाइ डमक्टरै हुन्छु भन्ने कन्फिडेन्स त्यो बेला थिएन । तर मनमनले चाहिँ प्रयास गर्छु भन्ठानेको थिए । निकै मेहनत गरेर एमबिबिएसमा नाम निकालें । नभन्दै मेहेनतले एउटा सफल डाक्टर भए पनि । धेरै संस्थाहरुको नेतृत्व पनि गरे । धेरै संस्थाहरुले मलाई विभिन्न अवार्डहरु प्रदान गरे । जस्तै–सोसाइटी अफ हस्पिटल मेडिसिन मा ३५ हजार डाक्टर छन् । त्यसको न्यु मेक्सिको च्याप्टर अध्यक्ष भए । न्युयोर्क रहँदा अमेरिकन कलेज अफ फिजिसियनमा पनि आवद्ध थिए । उक्त संस्थाले सन २०१५ मा भोलेन्टेरिज्म एन्ड कम्युनिटी सर्भिस अवार्ड पनि दिएको थियो मलाई । साथै, सोसाइटी अफ हस्पिटल मेडिसिनले पनि सन २०१६ मा सबैभन्दा राम्रो काम गरेको फिजिसियन भनेर एक्सिलेन्ट अवार्ड पनि मलाई दिएको थियो । त्यस्तै, लभलेस हेल्थ सिस्टसले सन २०१७ मा हेल्थ केयर हिरोको अवार्ड पनि मलाई दियो । साथै, म मेरिल्यान्ड ककस अफ एसियन अमेरिका एन्ड प्यासिफिक आइसल्यान्ड आउटस्ट्यान्डिङ लिडरसिप अवार्ड–२०१९ बाट पनि सम्मानित भएको थिए । यी सबै अवार्डहरु मैले कुनै निर्णायकको सिफारीसमा पाएको थिइन । सबै बिरामी र स्टाफहरुको सिफारिसमा पाएको थिए । त्यसो त मलाई सन् २००३ मा टिचिङ हस्पिटल काठमाडौंले बेस्ट मेडिकल अफिसर अवार्ड प्रदान गरेको थियो । साथै, सन २०१२ मा मलाई युनाइटेड हेल्थ सर्भिस हस्पिटल बिङ्घमटन न्युयोर्कबाट लिडरसिप अवार्ड पनि प्राप्त भएको थियो ।

यहाँ अमेरिका चाहिं कसरी आउनु भयो ?
नेपालमा डाक्टरको मानमनितो उत्पातै हुन्थ्यो । विश्वभरि नै सायद यस्तै हुन्छ होला भन्ठान्थे । तर, जब अमेरिका आए त्यस्तो रहेनछ भन्ने बुझे । ३ वर्ष नेपालमै काम गरेको थिए, अमेरिकामा आएका साथीहरुलाई सोध्दा पनि राम्रै छ भन्थे । त्यही ठानेर अमेरिका आए । तर, यहाँका मानिसहरुमा कुनै सामाजिक भावना नै छैन । सोचेथे ३ वर्ष एमडी पढेर फर्किन्छु । तर, अमेरिका आउने बाटो जति फराकिलो हुन्छ, फर्किने बाटो उति साँघुरो हुनेरहेछ । किनभने, अवसरहरु प्रशस्त भएकाले अमेरिका आउन पनि सजिलो छ र तिनै अवसरहरु भएकैले गर्दा फर्किन पनि उति कठिन हुने रहेछ ।

तपाई एक बिशिस्ट डाक्टर भएर पनि किन एनआरएनए अभियानमा जोडिनु भयो ?
म एउटा चिकित्सक भएर बिरामी जाँच्नु मेरो धर्म हो । तर, बिरामीको उपचार गर्ने मात्रै दायित्व त हैन नि मेरो । समाजमा व्याप्त विभिन्न सामाजिक आवश्यकताहरू, सामाजिक कार्यहरू र सामाजिक समस्याहरूको उपचार गर्नु पनि त मेरो दायित्व र जिम्मेवारी भित्र पर्दछ । म डाक्टरको रूपमा कुनै खास रोगको उपचार गर्ने कुरामा मात्र सीमित हुन नचाहेकोले समाजको यावत समस्याहरूको पनि उपचार जरुरी छ भन्ने लागेपछि म समाजसेवकको भावनासहित एनआरएनए अभियानमा जोडिएको हु । यहाँ अमेरिकामा डाक्टर भएर आर्थिक उपार्जन गर्नु मात्र मेरो जीवन हैन, मैले त नेपाल र नेपालीको लागि पनि केही योगदान पुर्याउनु पर्दछ भन्ने पवित्र भावनाले नै म यस अभियानमा विगत पाँचवर्षदेखि निरन्तर सक्रिय रुपमा लागिरहेको छु । अझ भनौं, अमेरिकामा बस्ने नेपालीहरूको दुःख सुखमा साथ दिने, यहाँ बस्ने नेपालीहरूका समस्याहरूलाई समाधान गर्ने, नेपाली भाषा संस्कृतिहरुको जगेर्ना गर्ने, नेपाली पाठशालाहरु र नेपाली कम्युनिटी सेन्टरहरुको स्थापना गर्ने, नेपाली साहित्यमा रचनात्मक काम गर्ने आदि ईच्छा भएपछि यी सारा सामाजिक कार्य गर्न मैले सामाजिक संस्थामा आवद्ध हुनै पर्दछ भन्ने भावना भएपछि म एनआरएनए अभियानमा जोडिएको हुँ ।

एनआरएनएमा लागेर के–कस्ता उपलब्धिहरु हासिल गर्नुभयो, केही गुमाउनु पनि भयो कि ?
मैले गुमाएको केही छैन । कुनै फाइदाको लागि आएको भए पो केही गुमाए कि भन्ने भावना हुन्छ । म त सेवाभावले यहाँ जोडिएको हँु । त्यसर्थ, मैले यसबाट सन्तुष्टि, खुसी, शान्ति पाएको मात्र छु । गुमाएको केही छैन । समाजसेवा मेरो पार्टटाइम भएकोले केही गुमाएको छैन । फरक यत्ति हो कि– मैले मेरो मुख्य पेसा डाक्टरको रूपमा पैसा पाउँछु भने समाजसेवीको रूपमा खुसी सन्तुष्टि पाउँछु । समाजसेवाको यस अभियानमा जोडिएर धेरै मित्रहरु र वहा‘हरुको माया पाएको छु ।

अबका दिनमा एनआरएनएमा तपाईँ थप जिम्मेवारीमूलक पदमा जाने विचार गर्नु भएको छ कि ?
मैले परिवर्तित समय, ज्ञान र अनुभवको आधारमा एनआरएनएको भावी निर्वाचनमा एनआरएनए आइसिसीको महासचिव पदमा जाने चाहना गरेको छु । मेरो पछिल्लो कामहरूको सफलताले साथीहरूले मलाई केन्द्रसम्म तपाईँको प्रतिनिधित्व हुन पर्यो भन्ने भावनालाई आत्मसाथ गर्दै मैले आइसिसी महासचिव पदमा जाने निर्णय गरेको हुँ र म एकदमै सक्रिय व्यक्ति भएकोले मैले महासचिव पद नै रोजेको हो । अरू पदले भन्दा महासचिवले अध्यक्षसँग निरन्तर सहकार्य गरेर सक्रिय ढंगले कार्यसम्पादन गर्ने गहन जिम्मेवारी पाएको हुन्छ । मलाई यससम्बन्धी अनुभव र ज्ञान पनि भएकोले मैले आइसिसी महासचिवको जिम्मेवारी वहन गर्ने परिकल्पना गरेको हुँ र अर्को कुरा के भने मैले हावादारीमा पद मात्र ओगट्छु भन्ने मनसायले लागेको छैन । विभिन्न योजना, भिजन र दुरदृष्टी सहित कसरी एनआएनएलाई कल्याणकारी, विकास निर्माणमैत्री, एकीकृत सङ्गठन निर्माण, पारदर्शी र प्रभावकारी अभियानहरू सञ्चालन, संस्थाको विकास र समृद्धिमा बढीभन्दा बढी योगदान पु¥याउन सक्ने छु भन्ने भित्री मनोयोजनासहित मैले यो निर्णय गरेको हुँ ।

यहाँ विजयी हुनुभयो भने के कस्ता कामहरू गर्ने योजना बनाउनुभएको छ ?
महासचिवले संस्थालाई प्रभावकारी ढङ्गबाट सञ्चालनमा अध्यक्षसँग मिलेर दिशानिर्देश गर्ने हो । विशेष गरी सङ्गठनात्मक, कार्यालयको विशेष व्यवस्थापन, तथ्याङ्क, मिटिङ, कर्मचारीतन्त्र, सम्बन्धित निकायहरूसँग सहकार्य, नयाँ योजना विकासको लागि बौद्धिक कसरत आदिजस्ता काम महासचिवको हो । त्यसमा म अनुभवी पनि छु र यस्ता सङ्गठन सुधारात्मक कामहरू गर्ने नै मेरो लक्ष्य रहेको छ । मेरो अर्को उद्देश्य भनेको भिजन–२०२० लाई कार्यान्वयनमा ल्याउने पनि रहेको छ ।

तपाईँ आइसिसी महासचिव पदमा उम्मेदवार कुन प्यानलको तर्फबाट गर्नुहुन्छ त ?
मेरो उम्मेदवारी स्वतन्त्र उम्मेदवारी हो । म एनआरएनएमा कुनै प्यानल वा गुट भन्ने कुरालाई स्वीकार गर्दिन । यो एउटा स्वतन्त्र छाता संस्था हो । म कुनै व्यक्तिको पछि लागेर उम्मेदवार खडा गर्ने व्यक्ति हैन । यसलाई कुनै प्यानल वा गुटमार्फत उम्मेदवारी भन्ने कुराको उठान नगर्नुहोला यहाँहरूले पनि ।

अनि तपाईँले आइसिसी महासचिव पदको लागि उम्मेदवारी घोषणा गरिसक्नु भएको हो ?
वैधानिक उम्मेदवारी घोषणा गर्ने भनेको निर्वाचन कार्यक्रममा उम्मेदवारी दर्ता गराउने कुरा हो त्यो समय आउँदैछ । तर, आफ्नो व्यक्तिगत तर्फबाट पूर्व तयारी, सञ्चारमाध्यम, सामाजिक सञ्जाल आदिमार्फत सुसूचित भने मैले गराइरहेको छु । अहिलेको लागि यही नै मेरो घोषणा हो ।

एनआरएनएका अन्य व्यक्तित्वहरूसँग पनि यहाँको कुराकानी भइरहेको होला, के कस्तो कुराकानी भइरहेको छ आउने निर्वाचनको सहकार्यबारे ?
हो सबै विशिष्ट व्यक्तित्वहरु एवं एनआरएनएमा रहनुभएका अग्रजहरु, चिनजान भएका साथीहरू आदि सबैसँग मेरो भेटवार्ता तथा कुराकानी भई नै रहेको छ र रहन्छ पनि । सबैको एउटै कुरा भनेकै एनआरएनए भनेको साझा संस्था हो । एउटा साझा सिस्टमले चल्नु पर्दछ । कुनै गुट उपगुट एवं प्यानल भन्दा पनि साझा सार्वभौम संस्थाको रूपमा भावी निर्वाचन सम्पन्न होस भन्ने नै छ र तपाईँ हामीले नै यसको सिस्टमलाई सुधार गर्दै लैजाने हो भन्ने कुरा भएको छ । अर्को महत्वपूर्ण कुरा के भने, साथीहरूले मलाई जुन किसिमको साथ समर्थन र सहयोगको प्रतिबद्धता गर्नुभएको छ, त्यसबाट मलाई झन् हौसला मिलेको छ ।

अन्तमा, विश्वभर रहेका गैरआवासीय नेपालीहरूलाई के भन्नुहुन्छ ?
सम्पूर्ण एनआरएनए अभियान सबै नेपालीहरुको लागि एकदमै महत्वपूर्ण वैधानिक साझा संस्था हो । तपाई हामी सबैको सहभागिताले नै यस संस्थालाई पूर्ण बनाउने हो । तपाईहरू जो जहाँ रहनु भएता पनि राइट टु मेम्बरसीप अनुसार यस संस्थाको सदस्य बन्नुहोस, एनआरएनएको भावी निर्वाचनमा जिम्मेवार नेतृत्व चयनमा मतदान गर्नुहोस् र आफ्ना दुःख पीडा समस्याहरू एनआएनएमा बिसाएर त्यसको सरल समाधानको लागि पैरवी गर्नु होस । धन्यवाद ।