काठमाडौं(एजेन्सी)–प्रिमियर लिग क्लब चेल्सीले आफ्ना पूर्व खेलाडी फ्र्यांक लाम्पार्डलाई नयाँ म्यानेजरको रुपमा भित्र्याएको घोषणा गरेको छ । आफ्ना म्यानेजर माउरिजियो सारीले क्लब छोडेर युभेन्टस गएपछि लाम्पार्ड आफ्नै पुर्व क्लब चेल्सीमा म्यानेजरको रुपमा आएका हुन् । चेल्सीले ४१ अब्र्शीय लाम्पार्डलाई डर्बी काउन्टीबाट ५ मिलियन डलर तिरेर भित्र्याएको हो । लाम्पार्डले चेल्सीमा ३ बर्षको सम्झौता गरेका छन् । यस अघि लाम्पार्डले खेलाडीको रुपमा चेल्सीमा १३ बर्ष बिताएका थिए । केबल एक सिजन मात्र क्लबको म्यानेजरको अनुभव भएका लाम्पार्डले डर्बी काउन्टीलाई प्रिमियर लिगमा ल्याउन नसके पनि प्लेअफसम्म भने पुर्याएका थिए ।
चेल्सी छोडेका सारीले चेल्सीलाई यस बर्षको युरोपा लिग जिताएका थिए भने प्रिमियर लिगमा तेस्रो हुदै सिजन सकेर च्याम्पियन्स लिगका लागि छनौट गराएका थिए । चेल्सीसँग सम्झौता गरेपछि लाम्पार्डले आफु प्रशिक्षकको रुपमा चेल्सीमा फर्किन पाउदा निकै खुशी भएको बताएका छन् । चेल्सीमा लाम्पार्ड आएपनि फिफाको ट्रान्सफर प्रतिबन्धका कारण नयाँ खेलाडी किन्न भने पाउने छैनन् । इडेन हजार्डले छोडेपछि चेल्सीले गत जनवरीमा नै सम्झौता गरेका खेलाडी क्रिस्टीयन पुलिसिकलाई भने ल्याइसकेको छ । त्यस्तै माटेओ कोभाकिकलाई रियल म्याड्रिडबाट पर्मानेन्ट रुपमा ल्याएको छ ।
हजार्डको अनुपस्थितिमा फ्रेन्च स्ट्राइकर ओलिभर जिराउड र ब्राजिलियन विलियनको भरमा चेल्सीले आगामी सिजन खेल्दै छ । चेल्सीमा लाम्पार्डले ६४८ खेल खेल्दै २११ गोल गरेका थिए । चेल्सीमा खेलाडीका रुपमा लाम्पार्डले तीन पटक प्रिमियर लिग, चार पटक एफए कप, दुई पटक लिग कप, २ पटक कम्युनिटी सिल्ड, एक पटक च्याम्पियन्स लिग र एक पटक युरोपा लिग जिताएका थिए । उनी चेल्सीका लागि २११ गोल गर्दै क्लबका लागि अहिलेसम्म धेरै गोल गर्ने खेलाडी समेत हुन् ।