काठमाडौं(एजेन्सी)–कोपा अमेरिका अन्तर्गत सेमिफाइनलमा बुधबार बिहान चिरपरिचित प्रतिद्वन्दी अर्जेन्टिना र ब्राजिल आमने सामने हुदै छन् । नेपाली समय अनुसार बुधबार विहान सवा ६ बजे कोपाको पहिलो सेमिफाइनलमा अर्जे्न्टिना र ब्राजिल भिड्न लागेका हुन् । कोपामा खेलेका १२ देश मध्ये ८ देशले क्वाटरफाइनलमा खेलेकोमा अब अर्जेन्टिना, ब्राजिल, चिली र पेरु सेमिफाइनलमा पुगेका छन् । अब सेमिफाइनलमा चिरपरिचित प्रतिद्वन्दी अर्जेन्टिना र ब्राजिल आमने सामने भएका छन् भने डिफेन्डिङ च्याम्पियन चिलीले तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्दी पेरुलाई सेमिफाइनलमा पाएको छ । दुवै टिमको सेमिफाइनल यात्रा उतारचढाव पूर्ण रहेको छ । अर्जे्न्टिना समुह चरणमा एक जित एक बराबरी र एक हारसहित क्वाटरफाइनलमा पुगेको थियो भने क्वाटरफाइनलमा भेनेजुएलालाई पराजित गरेको थियो । त्यस्तै ब्राजिलले भने समुह चरणमा २ जित र एक बराबरी खेल्दै क्वाटरफाइनलमा पुगेको थियो । क्वाटरफाइनलमा भने ब्राजिलले पराग्वेसँग पेनाल्टी सुटआउटमा विजयी हुदै सेमिफाइनलमा पुगेको हो ।
अर्जे्न्टिनाका लागि यस प्रतियोगितामा लियोनेल मेसीको प्रदर्शन औसत रहेको छ । मेसी स्वयंले यो प्रतियोगिता अहिलेसम्म आफ्ना लागि उत्कृष्ट नरहेको बताएका छन् । उनले चार खेलमा केवल एक गोल पेनाल्टी मार्फत गरेका छन् । त्यसैले पनि मेसीका लागि ब्राजिल विरुद्धको यो खेल अग्निपरिक्षा भन्दा कम छैन । रष्ट्रिय टिमबाट अहिलेसम्म उपाधि नजिताएको आरोप लागेका मेसीले त्यसलाई गलत साबित गर्नपनि ब्राजिलविरुद्ध उत्कृष्ट खेल्नु पर्ने दबाब रहेको छ । त्यस्तै ब्राजिलका लागि प्रमुख चुनौती मेसीनै रहेको छ । अझ ब्राजिलका लागि त यो खेल हुन लागेको मैदानले पनि मनोवैज्ञानिक दबाब सिर्जना गरेको छ ।
सन् २०१४ को विश्वकप सेमिफाइनलमा जर्मनीसँग ७–१ ले पराजित भएको यस मैदानमा ब्राजिलले आफ्नो नमिठो त्यो रेकर्डलाई बिर्साउने खेल खेल्न चाहन्छ । ब्राजिलका लागि फिलिप कोटीन्होको भूमिका महत्वपूर्ण हुने देखिन्छ । पछिल्ला खेलमा आफ्नो लय भेटाउन नसकेका कारण आलोचित कोटीन्होले बार्सिलोनाका आफ्नै सहकर्मी मेसीविरुद्धको यस खेलमा उत्कृष्ट प्रदर्शन गरेर आफ्ना आलोचकको मुख बन्द गर्नुपर्ने दबाब रहेको छ ।