सोमबार, असोज ५ २०८३

सोमबार, असोज ५ २०८३

असारभित्रै पार्टी एकताका बाँकी काम सकिन्छ : प्रधानमन्त्री

आइतबार, असार १५ २०७६

काठमाडौं(जस)–नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले असार महीनाभित्रै पार्टी एकताको बाँकी काम सम्पन्न गरिने बताएका छन्. । जननेता मदन भण्डारीको ६८औँ जन्मजयन्तीको अवसर पारेर मदन भण्डारी फाउन्डेशनले शनिबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी एकताको बाँकी काम सम्पन्न गराउन ढिलाइ भइरहेको सन्दर्भमा उक्त कुरा बताएका हुन् । उनले भने, “एकतामा ढिलाइ भयो भनेर निरास हुनुपर्ने अवस्था छैन, यस आर्थिक वर्षभित्र एकता एकीकरणका सम्पूर्ण काम सम्पन्न हुन्छन् । अर्को आवमा पार्टी गतिशील ढङ्गबाट अघि बढ्छ । वर्तमान सरकार गठन भएदेखि नै सरकारले जनताको चाहनाअनुसारको काम गर्दै आएको उल्लेख गर्दै प्रधानमन्त्रीले वर्तमान सरकारले ‘सुखी नेपाली र समृद्ध नेपाल’को राष्ट्रिय आकाङ्क्षा हासिल गरेरै छाड्ने बताए । “सरकारले धेरै राम्रो काम गरेको छ”, उनले भने, “लोकतन्त्रको संस्थागत विकास, सुदृढीकरण, समृद्धि हासिल गर्न सरकार स्पष्ट र दृढ छ ।”
सरकार अनियमिता र भ्रष्टाचारीविरुद्ध कडा ढङ्गबाट प्रस्तुत भएको जानकारी दिँदै प्रधानमन्त्रीले भ्रष्टाचार गर्न कोही कसैलाई पनि छुट नभएको बताए । “म भ्रष्टाचार गर्दिन, अरुलाई पनि गर्न दिन्न, मुलुकमा सुशासन कायम गरेरै छाडिन्छ”, उनले भने । वर्तमान सरकार गठन भएसँगै विकास निर्माणमा केन्द्रित भएको जानकारी दिँदै प्रधानमन्त्रीले यस अवधिमा जोखिम अवस्थामा रहेका तुइन विस्थापित भई ४०० भन्दा झोलुङ्गे पुल निर्माण गरिएको बताए । एक हजार किलोमिटरभन्दा बढी पक्की सडक निर्माण गरिएको उनको भनाइ थियो ।
‘दशैँसम्म सरकारको आलोचना समाप्त हुन्छ’
काठमाडाँै उपत्यकालाई व्यवस्थित र प्रदूषणरहित बनाउन सरकारले प्रयास गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले भने, “विगत एक वर्ष र अहिलेको काठमाडौँको तुलना गर्नुस्, आफैँ थाहा पाइहाल्नुहुन्छ ।” वर्तमान सरकार गठन भएपछि चालू आवमा ७.१ प्रतिशतको आर्थिक वृद्धि भएको तथ्याङ्क पेश गर्दै उनले भने, “यो अवधिमा सरकारले गर्ने जति सबै काम गरेको छ । एक हजार किलोमिटर सडक कालोपत्र भएको छ । अन्य क्षेत्रमा पनि उल्लेख्य प्रगति भएका छन् ।”वर्तमान सरकारले जनअपेक्षाअनुसार कार्यसम्पादन गर्न नसकेको भनी आलोचना गर्नुकोसमेत कुनै अर्थ नरहेको प्रधानमन्त्रीको भनाइ थियो । सरकारले राम्रा काम अगाडि बढाए पनि कानून र संस्थागत संरचना निर्माणमा व्यस्त भएकाले जनतालाई जानकारी गराउन नपाएको प्रधानमन्त्रीको प्रस्टोक्ति थियो । उनले भने, “नयाँ आर्थिक वर्षसँगै सरकार नयाँ गतिमा अगाडि बढ्छ र दशैँसम्म आलोचना समाप्त हुन्छ ।”
जनताको जनवाद तत्कालीन कार्यक्रम
तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकता हुँदा जनताको जनवादलाई तत्कालीक कार्यक्रमका रुपमा अगाडि सारिएको उल्लेख गरे । “जनताको बहुदलीय जनवाद नेपाली समाजको समग्र परिवर्तन ल्याउने, लोकतान्त्रिक मूल्य मान्यतामा आधारित सामाजिक न्याय प्रदान गर्ने तथा समाजवादमा पुग्ने उद्देश्य र पाटा प्रस्तुत गरिएको सिद्धान्त हो”, नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्रीले भने, “यही सिद्धान्तबाट नेपाली समाज अग्रगामी परिवर्तनको दिशामा अगाडि बढेको छ ।”उनले विश्वभर कम्युनिष्ट आन्दोलन असफलतातर्फ गइरहेको तत्कालीन अवस्थामा नेपाली कम्युनिष्ट आन्दोलनलाई समयानुकूल ढङ्गबाट अगाडि बढाउन स्व. जननेता भण्डारीले विशिष्ट योगदान गर्नुभएको बताए । “माक्र्सवादको सही र सिर्जनात्मक प्रयोग गर्ने अध्यायका रुपमा स्व भण्डारीले जबजको विकास गर्नुभएको थियो”, उनले भने, “जसले नेपालको कम्युनिष्ट आन्दोलनलाई आलोचना र विरोधको हावाहुरीबाट माथि उठ्न मद्दत गरेको थियो ।”
जननेता स्व. भण्डारी बहुआयामिक व्यक्तित्वका रुपमा रहनुभएको चर्चा गर्दै प्रधानमन्त्रीले भण्डारी नेताबाट माथि उठेको सफल नेताका रुपमा हुनुहुन्थ्यो भने । “स्व भण्डारी अत्यन्त प्रखर, कुशल, तार्किक हुनुहुन्थ्यो”, उनले भने, “स्व भण्डारीको विचार, दृष्टिकोण सुनेपछि त्यसबाट प्रभावित भएर उनले देखाएको बाटोमा लामबद्ध हुन्थ्यो ।” सिद्धान्तका नाउँमा गतिहीन, नक्कली सिद्धान्तलाई स्व भण्डारीले कहिल्यै पनि अङ्गीकार नगरेको स्मरण गर्दै प्रधानमन्त्रीले ठीक ढङ्गले माक्र्सवादलाई बुझ्ने र गतिशील ढङ्गबाट त्यसको व्याख्या गर्ने वक्ताका रुपमा आफूले पाएको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार