काठमाडौं(जस)–नेपालले मलेसियासँग दुई टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल खेल्ने भएको छ । आईसीसी टी–२० विश्वकप क्रिकेटको एसिया क्षेत्र छनोटको फाइनल चरणको प्रतियोगिता अघि नेपालले जुलाई १३ र १४ मा मलेसियासँग टी–२० खेल खेल्न लागेको नेपाली क्रिकेट टिमका म्यानेजर रमन शिवाकोटीले जानकारी दिए । आइसीसी टि–२० वरियतामा नेपाल ११औ स्थानमा छ भने ३३औ स्थानमा रहेको मलेसियासँग का यी दुई खेल क्वालिफायर अघिको अभ्यास खेलको रुपमा नेपालले लिएको छ ।
नेपालले आगामी जुलाई २२ देखि २८ तारिखसम्म सिंगापुरमा एसिया क्षेत्रका फाइनल छनोट खेल हुदैछ । राउन रोविनको आधारमा हुने खेलमा विजेता टिममात्रै ग्लोबल छनोटमा प्रवेश गर्नेछ । एसिया क्षेत्र छनोटको फाइनल खेलमा आयोजक राष्ट्र सिंगापुरसँगै, नेपाल, मलेसिया, कुवेत र कतार रहेका छन् । मलेसियाविरुद्ध र एशियन क्वालिफायर खेल्ने नेपाली अन्तिम टिम आगामी साता चयन हुदै छ । अहिले २५ सदस्यीय खेलाडीको टोली क्लोज क्याम्पमा व्यस्त रहेको छ ।