काठमाडौँ(जस)– प्रतिनिधिसभा राज्यव्यवस्था तथा सुशासन समितिले नेकपा विप्लव समूहका सर्लाही इञ्चार्ज कुमार पौडेलेको दोहोरो भिडन्तमा प्रहरीको गोली लागी मृत्य भएको घटनाको तत्काल छानबिन गरी सत्यतथ्य पत्ता लगाई समितिसमक्ष सात दिनभित्र प्रतिवेदन पेश गर्न गृहमन्त्रालयलाई निर्देशन दिएको छ । सोमबार समतिमा उपस्थित गृहमन्त्री रामबहादुर थापाले नेकपा ‘विप्लव’ समूहका गतिविधिलाई गम्भीर समस्याका रूपमा लिई राजनीतिक ढङ्गबाट समाधान खोज्न लामो समयदेखि प्रयत्न भइरहेको बताउँदै यही असार ५ गते सर्लाही लखनदेहीमा कुमार पौडेल मारिएको घटनाबारे जानकारी दिँदै उनले विप्लव समूहबाट उठाइएका मुद्दालाई राजनीतिकरूपमै समस्या खोज्न वार्ता र संवादका लागि पहल भइरहेको जानकारी दिएका थिए । वार्ता र छलफलका माध्यमबाट राजनीतिकरूपबाटै समस्याको समाधान खेजिनुपर्छ भनेर विगतदेखि नै भइरहेको प्रयत्न जारी रहेको बताउँदै गृहमन्त्री थापाले पछिल्लो समय उक्त समूहबाट जुन किसिमको घटनाक्रम विकसित हुँदै गइरहेको छ, सरकारले त्यसलाई कानूनी र व्यावहारिक दृष्टिकोणबाट नियन्त्रण गर्ने नीति लिएको छ भने ।
उक्त समूहबाट हँुदै आएको सशस्त्र गतिविधिलाई नियन्त्रण गर्नुपर्छ भन्ने नीतिअनुसार देशव्यापीरूपमा सो समूहका कार्यकर्तालाई नियन्त्रण गर्ने प्रक्रिया अघि बढिरहेको सन्दर्भमा कुमार पौडेलको प्रहरीसँगको भिडन्तमा मृत्यु भएको गृहमन्त्री थापाले जानकारी दिए । “विप्लव समूह यो समस्यालाई राजनीतिकरूपमा समाधान गर्ने पक्षमा देखिएको छैन”, उनले भने । देशमा फेरि द्वन्द्व चर्र्काएर प्राप्त उपलब्धि उल्टाउने षड्यन्त्र कतै राज्य संयन्त्रबाटै त भइरहेको त छैन भन्ने सांसदको जिज्ञासामा गृहमन्त्री थापाले भने, “युद्धको नियमलाई सरकारले मान्छ, मुठभेडको नाममा अपराधी र विरोधीलाई सखाप गर्न हुँदैन भन्नेमा सरकार सचेत र सजग छ । कानूनी कठघरामा ल्याएर समाधान खोजिनुपर्छ भन्नेमा हामी स्पष्ट छौँ ।”
उक्त घटनाबारेमा आवश्यक छानबिन गर्ने वचन दिँदै गृहमन्त्री थापाले सुरक्षाकर्मीबाट आएको स्थलगत जानकारीअनुसार स्थानीय व्यापारी, जनप्रतिनिधि लगायतसँग चन्दा मागेर त्रसित बनाई समुदायमा सन्त्रास फैलाउँदै आएका पौडेलको प्रहरीसँगको दोहोरो भिडन्तमै मृत्यु भएको बताए । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले निज पौडेलेको आपराधिक र ध्वङ्सात्मक गतिविधिमा संलग्न भएका घटनाको फेहरिस्त प्रस्तुत गर्दै उनका विरुद्धमा प्रहरी प्रशासनमा परेका उजुरी र मुद्दासम्बन्धी विवरण जनाए ।
झोलामा पेस्तोल–दोहोरो मुठभेड कसरी ?
यसअघि बैठकमा सांसदले मुठभेडका नाममा पहिले नै यातना दिएर राजनीतिक कार्यकर्ता कुमार पौडेलको हत्या गरिएको भनी आक्रोश व्यक्त गर्दै छानबिन समिति गठन गरेर सत्यतथ्य बाहिर ल्याउन सरकारसँग माग गरे । विप्लव समूहको राजनीतिलाई निस्तेज तुल्याउने ढङ्गबाट वार्ता र संवाद छाडेर सरकारले किन मुठभेड रोज्यो भनी प्रश्न गर्दै उनहरुले नियन्त्रण गर्ने नाममा यातना दिएर गोली हान्ने काम भएको भनी आक्रोश व्यक्त गरे ।
विप्लव समूहलाई संवादमा ल्याउन सुझाव दिँदै उनहरूले मृतकको झोलामा भेटिएको बन्दुकले दोहोरो भिडन्तलाई पुष्टि गर्छ कि गर्दैन भनी प्रश्न गरे । राज्य असल र खराब दुवै मान्छेको अभिभावक भएकाले अपराधीलाई संविधान र कानूनको दायरामा ल्याएर कारवाही अघि बढाउन सुझाव दिँदै सांसदहरुले प्रहरीको प्रतिवेदनमा मुठभेड भए पनि जनताको प्रतिवेदनले त्यसलाई पुष्टि नगरेकाले सत्यतथ्य जानकारीका लागि छानविन समिति गठनको माग गरे । बैठकमा सांसदहरू डिला सङ्ग्रौला, रेखा शर्मा, जनार्दन शर्मा, दीलेन्द्रप्रसाद बडू, महेश्वरराज गहतराज, यशोदाकुमारी सुवेदी, लक्ष्मी चौधरी, झपट रावल, मीना पाण्डे, तीर्था गौतम, रामसहायप्रसाद यादवलगायतले गृहमन्त्रीसमक्ष घटनाबारे सत्यतथ्य जानकारी माग गरे ।
छानबिन प्रक्रिया अघि बढेको छः गृहमन्त्री
गृहमन्त्री थापाले भ्रष्टाचाररहित समतामूलक समाज निर्माण गर्न सरकारले ७५१ स्थानमा सामुदायिक प्रहरी सङ्गठन विस्तार गरेको बताएका छन्् । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०७६ माथि सांसदले उठाएका प्रश्न र जिज्ञासामा मन्त्री थापाले मुलुकको शान्ति सुरक्षा, नागरिकको जिउधनको रक्षा र सीमा सुरक्षा गर्न सरकार सक्षम रहेको बताए । समाजमा हुने जघन्य प्रकृतिका अपराध नियन्त्रण गर्न, हत्याहिंसा, बलात्कार तथा मानव बेचबिखनजस्ता आपराधिक घटना रोकथाम गर्न नेपाल प्रहरी तथा सशस्त्र प्रहरी सजग र सक्षम रहेको उनले स्पष्ट गरे । गृहमन्त्री थापाले अपराध नियन्त्रणमा सरकार क्रियाशील रहेको बताउँदै यस अवधिमा तस्करीको जालो तोडिएको, सुन ओसारपसारमा नियन्त्रण भएको र यातायात क्षेत्रमा भएको एकाधिकार तोडिएको बताए ।
उनले प्राकृतिक प्रकोप व्यवस्थापन गर्न गृहप्रशासन २४ घण्टा तयारीमा रहेको बताउँदै चालु आर्थिक वर्षको बजेटले मुलुकको विभिन्न संवेदनशील क्षेत्र एवं सिंहदरबारमा अत्याधुनिक सिसिटिभी क्यामरा जडानका लागि बजेटमा व्यवस्था भएको बताए । लागुऔषध तथा अपराध नियन्त्रण एवं शान्तिसुरक्षालाई थप सुदृढीकरण गरी हिंसारहित समतामूलक समाज निर्माणमा गृहमन्त्रालय क्रियाशील रहेको उनले बताए ।
उनले तराईका विभिन्न नाकामा अत्याधुनिक क्यामेरा जडान, प्रहरीचौकीको पुनःस्थापना तथा नयाँ स्थापना, कारागार सुधार तथा निर्माण, राष्ट्रिय परिचयपत्र वितरण तथा अभिलेखीकरणका लागि सरकारले बजेट व्यवस्था गरेको बताए । मन्त्री थापाले कञ्चनपुरकी निर्मला पन्तका हत्यारा पत्ता लगाउने प्रयास नरोकिएको तथा सर्लाही घटनामा मृत्यु भएका कुमार पौडेलको निधन सम्बन्धमा छानबिन प्रक्रिया अघि बढेको जानकारी दिए । सदनमा सांसद डिला सङ्ग्रौला, रामबहादुर विष्ट, दिलेन्द्रप्रसाद बडु र रेनुका गुरुङले मुलुकको शान्ति सुरक्षाको अवस्था, पन्तको हत्यारा पत्ता लगाउन गरिएको प्रयासका बारेमा गृहमन्त्रीसंँग जिज्ञासा राखेका थिए । प्रतिनिधिसभाको अर्काे बैठक यही असार १० गते बिहान ११ बजे बस्ने छ ।