सोमबार, असार ९ २०७६
काठमाडौँ(जस)–बिहीबारदेखि देशको पूर्वी क्षेत्र हुँदै प्रवेश गरेको मनसुन आइतबार पश्चिमी क्षेत्रसम्म फैलिएको छ । पूर्वी क्षेत्रबाट प्रवेश गरेको मनसुन पश्चिम क्षेत्रतिर विस्तार हुँदै सोमबारसम्म देशभर फैलिने जल तथा मौसम पूर्वनुमान महाशाखाका मौसमविद् शान्ति कँडेलले बताइन । उनका अनुसार शनिबार मनसुन मध्य क्षेत्रका केही भेगमा बढी सक्रिय रह्यो । गए रातिदेखि नै मध्यक्षेत्रमा सक्रिय रहेको मनसुन सुदूरपश्चिम पुगेको बताइएको छ । कँडेलका अनुसार सोमबारसम्ममा देशभर मनसुन सक्रिय हुनेछ । उक्त मनसुनको प्रभावले आगामी तीन दिन देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेकाले बाढीपहिरोे आउन सक्ने भनी सचेत रहन आग्रह गरिएको छ ।
राति देशका पश्चिमी भूभागहरुमा सामान्यदेखि पूर्ण बदली रही पूर्वी तथा मध्य भेगमा आंशिकदेखि सामान्य बदली रही पश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । सोमबार देशभर आंशिकदेखि सामान्य बदली रही पूर्वका केही स्थानका साथै मध्य तथा पश्चिमका एकदुई स्थानमा वर्षाको सम्भावना रहेको बताइएको छ ।
मङ्गलबार देशको मध्य पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली रही पूर्वी भूभागमा सामान्य बदली भई पूर्वका केही स्थानका साथै मध्य तथा पश्चिमका थोरै स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आइतबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १९ दशमलव ५ डिग्री र अधिकतम तापक्रम २८ दशमलव ७ डिग्री सेल्सियस छ । त्यस्तै आइतबार सबैभन्दा धेरै दिपायलको अधिकतम तापक्रम ३९ दशमलव शून्य डिग्री सेल्सियस मापन गरिएको छ ।
वर्षाले सयौँ घर डुबानमा
राँझा । शनिबार रातिदेखि परेको अविरल वर्षापछि आएको बाढीले बाँकेको नरैनापुर गाउँपालिकाका एक दर्जन बढी घर भत्किएका छन् भने सयौँ घर डुबानमा परेका छन् ।दक्षिणतर्फ सीमामा भारतले बाँधजस्तो सडक बनाएका कारण पानीको सहज निकास नहुँदा सीमावर्ती अधिकांश गाउँ डुबानमा परेका गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताए । बनियाँ गाउँ, महतनियाँ, मझेरटी, मियाँपुर्वा, घोरदौरिया, महादेवनगर, कोटिहा, बहावपुर्वा, रोशनपुर्वालगायतका गाउँका अधिकांश घर डुबानमा परेका छन् ।
सयभन्दा बढी घर डुबेका र झण्डै एक दर्जन घर भत्किएका अध्यक्ष शाहले जानकारी दिए । निर्माणाधीन हुलाकी राजमार्गमा पनि पानीले क्षति पु¥याएको छ । पुल तथा कल्भर्ट बनाइएका ठाउँमा पानीले बाटोको दुवैतिर कटान गरेको उनले बताए । वडा नं १ कट्कुइँयास्थित वडा कार्यालयमा समेत पानी पसेको प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताए । घरहरुमा पानी पसेपछि गाउँपालिकाका अध्यक्ष शाह नेतृत्वको टोली उद्धारमा खटिएको छ । अविरल वर्षापछि खहरे खोलामा आएको बाढी र आकाशे पानी घरहरुमा पसेको इलाका प्रहरी कार्यालय भोजभगवानपुरका प्रमुख प्रहरी निरीक्षक विरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।
नेपालगञ्जमा १०० दशमलव दुई मिलिमिटर वर्षा भएको हावापानी फिल्ड कार्यालयका निमित्त फिल्ड इञ्चार्ज पहलबहादुर विश्वकर्माले जानकारी दिए । अविरल वर्षाले नेपालगञ्जको मुख्यबजार क्षेत्र घरवारीटोल, गणेशपुर क्षेत्र, बसपार्क लगायतका बजार क्षेत्र डुबानमा छन् । नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले डुबानबाट जनधनको क्षति नभएपनि जनजीवन प्रभावित भएको बताए ।उनका अनुसार डुबान भएका स्थानमा पानीको बहाब खोल्न महानगरका कर्मचारी स्काभेटरसहित तैनाथ छन् । नेपालगञ्जलाई डुबानमुक्त बनाउन यो वर्ष अधिकांश सडक र नाली निर्माण गरिएपनि समस्या भने कायमै रहेको छ । गतवर्षको तुलनामा यो वर्ष कम डुबान हुने प्रवक्ता रिजालको दाबी छ ।
सतर्कता अपनाउन अपिल
लगातारको वर्षाले बाँकेमा सतर्कता तह पार गरेको छ । राष्ट्रिय आपतकालीन उद्धार केन्द्रले आइतबार एक सूचना जारी गर्दै सतर्कता अपनाउन अपिल गरेको छ । चुरेबाट शुरु भई बाँके जिल्ला भएर बहने डुडुवा, मानखोला, झिंझरी लगायतका स–साना सबै खोलानाला आसपास सतर्क रहन सुझाव दिइएको छ । राष्ट्रिय आपत्तकालीन उद्धार केन्द्रले उपमहानगरका होचा स्थानहरुमा पनि डुबान हुनसक्नेतर्फ सचेत बनाएको छ ।
रुपगाड पुल बाढीले बगायो
जाजरकोट । भारी वर्षाका कारण डोल्पाको ठुलिभेरी नगरपालिकाको रुपगाड खोलामा आएको बाढीले पुल बगाएको छ । पुल बगाएपछि जाजरकोट–डोल्पा सडकखण्डभित्र आवतजावत अवरुद्ध भएको छ । जुफाल विमानस्थलबाट दुनै आवतजावतका साथै तल्लो डोल्पाबाट दुनै आउने बाटो अवरुद्ध भएको बताइएको छ । एक महीनाअघि मात्र निर्माण गरिएको पुल बाढीले बगाएपछि रुपगाडको दुई किनारामा यातायातका साधनहरु अलपत्र परेका छन् । बाढीले पुल बगाउँदा आवतजावतमा समस्या भएको स्थानीय विर्खबहादुर रोकायले जानकारी दिए ।
लमजुङ–मनाङ जोड्ने म्यार्दी बेलीब्रिज बगायो
लमजुङ । लमजुङ र मनाङ जिल्ला जोड्ने म्यार्दी बेलीब्रिज बगाएको छ । शनिबारदेखि निरन्तर पानी परिरहेकाले म्यार्दी खोलामा पानीको बहाब बढ्दा आइतबार दिउँसो १ बजेपछि मोटर चल्ने उक्त पुल पानीले बगाएको हो । वर्षासँगै आएको बाढीले उक्त पुल बगाएपछि बेंसीशहरको चामे सडकमा गुड्ने कुनै पनि सवारी साधन नचल्न यात्रुलाई समेत समस्या भएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी डिजन भट्टराईले बताए । सडक डिभिजनसँग ठेक्का लिएको ग्याल्बा–द क्याराभान जेभीले गत वर्षमात्रै उक्त पुल निर्माण गरेको थियो ।
नेपाली सेनाले सडक निर्माण गरी दमौलीस्थित सडक डिभिजन कार्यालय लाई विसं २०६९ मा सडक हस्तान्तरण गरेको थियो । नेपाली सेनाले सडक निर्माणका क्रममा म्यार्दी खोलामा बनाएको काठेपुल जेठ महीना विसं ०७२ मा आएको बाढीले बगाएको थियो । त्यसपछि डिभिजन सडक कार्यालयले ‘स्टिल गार्डर ब्रिज’ राखेको थियो । सो पुल एक महीनापछि असारमा आएको बाढीले बगाएकाले पुनःकाठेपुल निर्माण गरी आवागमन चालू गराइएको थियो । सो काठेपुल पनि भाँचिएपछि खोलाबाटै सवारी साधन आवतजावत गरिरहेकामा मोटर चल्ने बेलिब्रिज निर्माण भएपछि भने यात्रा गर्न सहज हुँदै आएको थियो ।
‘सिङ्गल लेन’ को २४ दशमलव ३८ मिटर लामो र ११ मिटर चौँडा सो पुल रु एक करोड ७५ लाखमा निर्माण भएको थियो । अहिले मस्र्याङ्दी नदीमा समेत पानीको बहाब बढिरहेको छ । मनाङमा परेको पानीले मस्र्याङ्दी नदीमा पानीको बहाब सामान्यभन्दा धेरै नै बढेकाले नदी आसपासका बासिन्दालाई सतर्क रहन प्रमुख जिल्ला अधिकारी भट्टराईले आग्रह गरेका छन् । मस्र्याङ्दी नदी आसपासका बासिन्दा वर्षेनी वर्षाका समयमा त्रासमै जीवन गुजारा गर्न बाध्य छन् ।
जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij