काठमाडौं, १५ जेठ । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले विदेशमा बस्ने हरेक नेपाली नेपालको दूत भएको बताए । उनले नेपाल समृद्धिको मार्गमा बढेको बताउँदै अघिल्लो वर्ष आधार वर्ष भएको बताए । ‘हामीले भनेका छौँ की अघिल्लो वर्ष आधार वर्ष बन्यो, संरचना बन्यो, अब विकास र समृद्धिको यात्रालाई गति पकड्ने छ,’ उनले भने ।
मन्त्री बस्नेतले नेपालको समृद्धिको यात्रामा विदेशमा बस्ने नेपाली समुदायको योगदान हुनुपर्ने बताए । विदेशमा रहेका नेपालीहरुले चाहिरहेको वातावरण नेपालमा बन्ने बताउँदै उनले सरकारले अधिकांश नेपालीहरु स्वदेश फर्कने वातावरण बनाउने बताए ।
‘समृद्ध नेपाल सरकारको एक्लो प्रयासले मात्र हुँदैन, यसमा सरकार, नीजि क्षेत्र र स्वदेश तथा विदेशमा रहने सबै नेपालीको योगदान हुनुपर्दछ,’ मन्त्री बस्नेतले भने ‘यदि आम जनताको सहभागीता र अपनत्व भएन भने हामीले प्राप्त गर्ने समृद्धि दिगो हुँदैन । तपाईंहरुले जसरी नेपाल फर्कने वातावरण बन्नु पर्यो भनिरहेका छन् । यो छिट्टै तयार हुन्छ ।’
उनले नेपालको लोकतन्त्र संसार सामू गौरव गर्न लायक भएको बताए । संसारमा समृद्धि हासिल गरेका मुलुकहरु कसैलाई गाली गरेर समृद्ध नभएको बताउदै उनले राष्ट्रभाव, देशका लागि केहीं गर्छु भन्ने सोंचले मात्रै मुलुक समृद्ध बन्ने बताए ।
कार्यक्रममा अष्ट्रियाका लागि नेपाली राजदूत प्रकाश कुमार सुबेदीले भियनामा दूतावास स्थापनापछि अष्ट्रिया र नेपालको कुटनीतिक सम्बन्ध विस्तार भएको बताए । उनले दूतावास स्थापनाले यहाँ बसोबास गर्ने नेपालीहरुलाई समेत सहज भएको बताए ।