मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

आँधी प्रभावितको घर नेपाली सेनाले बनाउने

बिहिबार, चैत्र २१ २०७५

काठमाडौं(जस)–सरकारले आइतबार राती बारा र पर्सामा आएको आँधीबाट प्रभावितको घर बनाइदिने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रभावित सबैको घर बनाइदिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले जानकारी दिए । उनका अनुसार प्रभावितको घर बनाउने जिम्मा नेपाली सेनालाई दिने निर्णय पनि भएको छ । घर वर्षायाम अघि नै बनाइने सरकारको तयारी छ । प्रवक्ता बास्कोटाका अनुसार घरको मोडालिटी जनता आवास कार्यक्रमको जस्तो हुनेछ ।
यस्तै आवास पुनर्निर्माणको कामको सहजीकरण प्रदेश नम्बर २ का प्रमुख सचिवले गर्ने छन् भने जसमा सहरी विकास मन्त्रालय र दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी र नेपाली सेनाका प्रतिनिधि सदस्य रहनेछन् । आँधीबाट २ हजार ४ सय चार घरमा क्षति पुगेको छ । बारामा १ हजार ८९५ घर र पर्सामा ५०९ घर नराम्ररी प्रभावित भएका हुन् । नेपाल रेडक्रसका कार्यकारी निर्देशक उमेश ढकालले प्रारम्भिक सर्वेक्षण अनुसार एकहजार ६२ घर पूर्ण क्षति भएको जानकारी दिए । यस्तै एक हजार तीनसय ४२ घरमा आंशिक क्षति पुगेको छ । मर्मत गरेर काम चलाऊ हिसावले बस्न मिल्नेलाई आंशिक क्षतिमा गणना गरिएको छ । बारामा नौ सय ४० घर पूर्ण क्षति छ भने नौ सय ५५ घर आंशिक क्षति छ । त्यस्तै पर्सामा १२२ घर पूर्ण क्षति भएका छन् भने ९४० घरमा आंशिक क्षति भएको छ । स्थानीय वडाध्यक्ष, रेडक्रस र शुरक्षाकर्मीको संयुक्त टोलीले यो तथ्यांक निकालेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार