लन्डन,एनआरएनए युकेको अध्यक्ष पदका उम्मेदवार हित काजी गुरुङले शनिबार, २२ जुलाईमा हुन लागेको चुनावमा आफ्नो जित प्रति ढुक्क रहेको बताएका छन ।
लन्डनमा पत्रकारसँग कुरा गर्दै भर्खरै स्कटल्याण्ड पुगेर फर्किएका गुरुङले बेलायतभरिबाट आफुले पाएको सहयोग र साथबाट आफ्नो जित प्रति ढुक्क भएको बताए।
“मैले सधै निस्वार्थ रुपमा समाज सेवा गर्दै आएको छु। अहिले बेलायतको नेपाली समाज एकदमै विभाजित अवस्थामा छ। त्यसैले यो समाजलाई एकजुट गर्ने नै मेरो मुख्य एजेंडा हो,” उनले भने।
बेलायतका नेपालीहरुको सबैभन्दा ठूलो संस्था, तमु धी युके, को अध्यक्षको जिम्मेवारी सफलतापूर्वक सम्हाली सकेका गुरुङले नातागोता, पार्टी वा साथिभाइ नहेरी सिंगो समाजलाई एक जुट गर्न सक्ने उम्मेदवारलाई जिताउन पनि अपिल गरे।
“तमु धीं युकेको अध्यक्षको रुपमा साथिहरुको सहयोगबाट नेपाली मेला आयोजना गर्न होस् वा गोर्खा कप सफल पार्न मैले निस्वार्थरुपमा काम गर्दै आएको छु। गएको एक-डेढ वर्षदेखि एनआरएनए युकेमा देखिएको विवाद, यसले हाम्रो समुदायमा ल्याएको विभाजन र मनमुटावलाई मेट्न तपाईं अगाडी आउनु प-यो भनेर केहि साथीहरुले आग्रह गर्नु भयो। त्यस पछि तपाईंहरुसंग सरसल्लाह गरेर मैले आफ्नो उम्मेद्वारी दिएको हुँ। तपाईंहरुको सहयोग भयो भने विभाजित संस्थालाई एकजुट गर्न सफल हुनेछु भन्ने मलाई विश्वास छ,” उनले भने।
” मेरो मुख्य उद्देश्य विभाजित नेपाली समाजलाई एकजुट गर्ने, गोर्खाजको हकहित र गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनका लागि पहल गर्ने र युवा, व्यवसायी, महिला, बालबालिका लगायत बेलायतस्थित सबै नेपालीहरुको हक र हितका लागि काम गर्नु हो। यो अभियानलाई सफल बनाउन तपाईंहरु सबैको साथ र सहयोग प्राप्त हुने मैले विश्वास लिएको छु,” गुरुङले भने।
गुरुङ बाहेक एनआरएनए युकेका उपाध्यक्ष डा नारायण कँडेल तथा आइसीसी सदस्य दिनेश घिमिरेले पनि अध्यक्ष पदमा प्रतिस्पर्द्धा गरिरहेका छन ।