काठमाडौँ(जस)–राष्ट्रिय मानवअधिकार आयोगले संसद्मा विचाराधीन ज्येष्ठ नागरिकसम्बन्धी संशोधन विधेयकको प्रावधानका विषयमा सुझाव दिँदै तीनै तहको सरकार उत्तरदायी हुनपर्ने प्रावधान विधेयकमा राख्न आग्रह गरेको छ । आयोगका सचिव वेद भट्टराईका अनुसार ज्येष्ठ नागरिकसम्बन्धी प्रावधान कार्यान्वयन गर्न उदासीन भएमा अनुगमन, निर्देशन, कारवाही र सरकारी सहयोगलाई कानूनी जिम्मेवारीकै रुपमा राखी तीनै तहका सरकारलाई ज्येष्ठ नागरिकप्रति उत्तरदायी हुनुपर्ने प्रावधानसमेत विधेयकमा समावेश गर्न आग्रह गरिएको छ ।
वृद्धाश्रममा बस्ने ज्येष्ठ नागरिकलाई नखोजी परिचयपत्रको आधारमा वृद्ध भत्ता दिनुपर्ने कानूनी व्यवस्था हुनुपर्ने, ज्येष्ठ नागरिकको स्वास्थ्यको अधिकार सुनिश्चित हुनुपर्ने, सम्पत्तिको अधिकार संरक्षित हुनुपर्ने र पारिवारिक सम्बन्ध सुदृढ हुनुपर्ने प्रावधान समावेश गर्न पनि सुझाइएको छ । ज्येष्ठ नागरिकलाई झुक्याएर सम्पत्ति हस्तान्तरणसम्बन्धी कागज गराइएको ठहरे स्वतः बदर हुने प्रावधान ऐनमा राख्ने सुझाव पनि दिइएको छ । आयोगले ज्येष्ठ नागरिकका स्वास्थ्य समस्यातर्पm विशेष ध्यान दिन सुझाव दिएको छ ।
आयोगले गतवर्ष जेष्ठ नागरिकका मानव अधिकारका विषयमा सातै प्रदेशका ६२ जिल्लामा अध्ययन गरेको थियो । त्यहाँ रहेका वृद्धाश्रम, दिवासेवा केन्द्र, कल्पवास, स्याहार केन्द्रमा पुगी त्यहाँ रहनुभएका ज्येष्ठ नागरिक र केन्द्र सञ्चालकसँग छलफल गरेको थियो । अध्ययनका आधारमा ७७ वटा सुझाव नेपाल सरकारलाई दिएको थियो । ज्येष्ठ नागरिकका मूल समस्यामा स्वास्थ्य, सम्पत्ति र परिवार रहेको निष्कर्षका साथ देशमा एउटा ज्येष्ठ नागरिक अस्पताल र प्रत्येक प्रदेशमा कम्तीमा एउटा अस्पतालमा साधन सम्पन्न ‘जेरियाट्रिक वार्ड’को प्रबन्ध गर्न सरकारसँग माग गरेको थियो । सुझावमा सार्वजनिक पदाधिकारीसमेतले आप्mनो आम्दानीको निश्चित प्रतिशत बाबुआमाको बैंक खातामा जम्मा गर्नुपर्ने व्यवस्था राम्रो हुँदाहुँदै पनि प्रभावकारी कार्यान्वयनका लागि थप छलफल हुनुपर्ने विषय औँल्याइएको छ ।
यस व्यवस्थाले गरीबीको रेखामुनि रहेका खासगरी ग्रामीण भेगका अधिकांश ज्येष्ठ नागरिक लाभान्वित हुन नसक्ने हुँदा विशेष कोषको प्रावधान राख्न सुझाइएको छ । भरणपोषण नगर्ने सन्तान विरुद्ध स्वयं बाबु आमाले नै उजुर गर्नुपर्ने बाध्यता हटाइ छरछिमेकीसमेत जो कोहीले उजुरी गर्न पाउने र सञ्चारमाध्यम लगायतबाट स्वयम् जानकारी लिन सकिने प्रावधान थप्न सुझाव दिइएको छ । बैंकमा रकम जम्मा नगर्ने सन्तानले पनि बाबु आमाको शेषपछि सो रकमको हिस्सा पाउने व्यवस्थालाई न्यायिक मान्न नसकिने कुरा पनि उठाइएको छ । दिगो समधानका लागि बाबुआमाको आर्जनको सम्पत्ति निजहरुले ईच्छापत्र गरेअनुसार हुने ईच्छापत्र प्रणाली १५ वर्षपछि लागू हुने गरी कानूनी व्यवस्था गर्न पनि सुझाव दिइएको छ ।
ज्येष्ठ नागरिकसम्बन्धी मुद्दा हेर्न जिल्ला अदालतमा बेग्लै इजलास र निरन्तर सुनुवाईको व्यवस्था समावेश गर्न पनि माग गरिएको छ । स्थानीय तहमा मेलमिलाप हुन नसकेका ज्येष्ठ नागरिकका मुद्दा स्थानीय निकायकै प्रतिवेदनका आधारमा जिल्ला अदालतबाट कारवाही शुरु गर्ने कानूनी प्रबन्ध हुन उचित हुने राय दिइएको छ । सेवा निवृत्त तथा अनुभवी ज्येष्ठ नागरिकको सेवा लिन स्थानीय निकायका गाउँ वा टोलमा ज्येष्ठ नागरिक समूह बनाइ तिनको प्रबन्ध गर्ने दायित्व स्थानीय सरकारको हुनुपर्ने सुझाव पनि दिइएको छ । दिवा सेवा केन्द्र र स्याहार केन्द्रको स्थानीय सरकारले अनिवार्य रुपमा सञ्चालन गर्नुपर्ने, वृद्धाश्रमहरु एकत्रित गरी सुविधासम्पन्न रुपमा सञ्चालन गर्नुपर्ने प्रावधानले पनि संशोधित ऐनमा ठाउँ पाउनुपर्ने सुझाव दिएको छ ।