शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

नागरिकता विधेयक कार्यान्वयनको बाटो खुलेसँगै गैरआवासीय नेपालीद्धारा प्रसन्नता व्यक्त

छिटोभन्दा छिटो कार्यविधि बनाएर सरकारले एनआरएनलाई नेपाली नागरिकता दिनेछ भन्ने विश्वास छ : उपाध्यक्ष शर्मा

शुक्रबार, असार ८ २०८०

काठमाडौं(जस)–सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै नागरिकता विधेयक कार्यान्वयन हुने भएको छ । सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासले यसअघि न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले दिएको अल्पकालीन अन्तरिम आदेशको निरन्तरता नहुने आदेश दिएको हो ।
योसँगै राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १७ गते प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयनमा अघि बढ्ने भएको छ । राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक संविधानको भावना र मर्मविपरीत भएको भन्दै वरिष्ठ अधिवक्ताद्वय सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले सर्वोच्चमा रिट दर्ता गरेका थिए । उनीहरूले दायर गरेको रिटमा जेठ २१ गते न्यायाधीश शर्माले विपक्षीको नाममा कारण देखाऊ र अल्पकालीन अन्तरिम आदेश जारी गर्ने आदेश दिएका थिए ।
नागरिकता विधेयक कार्यान्वयनको बाटो खुलेसँगै गैरआवासीय नेपालीहरु (एनआरएनए) खुशी भएका छन । विधेयक पारित भएपछि बर्षौदेखिको एनआरएनएले माग्दै आएको प्रमुख माग पूरा भएको जनाएका एनआरएनएले कार्यान्वयन भएसँगै प्रसन्नता व्यक्त गरेका छन् । एनआरएनए उपाध्यक्ष आरके शर्माले निर्णयको स्वागत गर्दै सर्वोच्चलाई धन्यवाद व्यक्त गरेका छन् ।
एनआरएनए उपाध्यक्ष आरके शर्माले नागरिकता बिधेयक कार्यन्वयन हुने उक्त निर्णयको स्वागत गरेका छन । गैरआवासीय नेपाली संघले लामो समयदेखि मुख्य मुद्धाका रुपमा उठाउँदै आएको विषय नागरिकता विधेयकमा रहेको हुँदा गैरआवासीय नेपालीहरुले उक्त निर्णयको स्वागत गरेको उपाध्यक्ष शर्माले बताए । अब आम गैरआवासीय नेपालीहरुमा स्वदेशसँगको सम्बन्ध र स्वदेशमा लगानी गर्नका लागि बाटो खुलेको जनाउदै शर्माले अव एनआरएनएहरुमा जिम्मेवारी बढेको बताए । आजका दिनमा सम्पतिको हकअधिकारको बिषय उठाएर नेपालमा लगानी कम आयो भन्न अब छुट नभएको जनाउदै शर्माले अब एनआरएनएहरुको काँधमा थप जिम्मेवारी आएको बताए । आगामी दिनमा एनआरएनएका रेमिटेन्सलगायतका अन्य मुद्दाहरु पनि सम्वोधन हुँदै जाने अपेक्षा गरेको उपाध्यक्ष शर्माले जनाए ।
शर्माले सामाजिक सञ्चालमा लेखेका छन्–’सर्वोच्च अदालतको निर्णयसँगै गैर आवासीय नेपाली नागरिकता लिने बाटो खुलेको छ । गैर आवासीय नेपाली संघ(एनआरएनए)ले लामो समयदेखि उठाउदै आएको गैर आवासीय नेपाली नागरिकता लिने कानुनी बाटो खुल्ला गरेकोमा सम्मानित सर्वोच्च अदालतप्रति हार्दिक धन्यवाद । विदेशमा बस्ने लाखौँ नेपालीले वर्षौँदेखि माग अब पुरा भएको छ । नागरिकता विधेयक प्रमाणीकरणका लागि अग्रसरता खेल्नुहुने सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमाणीकरण गर्नु भएकोमा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेल ज्यू अनी संपूर्ण सम्मानित राजनीतिकदल सरकारी निकाय अनी मीडिया लाई विशेष धन्यवाद तथा आभार । सर्वोच्चको निर्णयसँगै सरकारले अब छिटोभन्दा छिटो कार्यविधि बनाएर विदेशमा बस्ने नेपालीलाई गैर आवासीय नेपाली नागरिकता दिने छ भन्ने विश्वास छ राजनीतिक अधिकार सहित को नागरिकता को लागी हाम्रो अनुरोध रहीरहने छ ।’

प्रतिक्रिया
सम्बन्धित समाचार