शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

उपनिर्वाचन मङ्सिर १४ गते

शनिबार, साउन १८ २०७६

काठमाडौं, १८ साउन । विभिन्न कारणले रिक्त भएका स्थानमा आगामी मङ्सिर १४ गते उपनिर्वाचन हुने भएको छ । मुलुकका विभिन्न ३७ जिल्लामा ५० पदका लागि उपनिर्वाचन गर्ने निर्णय भएको निर्वाचन आयोगका प्रवक्ता शङकरप्रसाद खरेलले जानकारी दिनुभयो । बिहीबारको निर्णय बमोजिम मिति तय गरिएको आयोगले जनाएको छ ।

उपमहानगरपालिका प्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, नगरपालिका र गाउँपालिकाका वडाध्यक्ष तथा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि मङ्सिर १४ मा उपनिर्वाचन हुने उहाँले बताउनुभयो ।

आयोगका अनुसार उपमहानगरपालिका प्रमुख एक, गाउँपालिका अध्यक्ष तीन, गाउँपालिका उपाध्यक्ष एक, गाउँपालिका तथा नगरपालिकाका वडाध्यक्ष ४१, प्रदेशसभा सदस्य तीन र प्रतिनिधिसभा सदस्य एक गरी कूल ५० पदका लागि उपनिर्वाचन हुनेछ । मिति तोकिएसँगै उपनिर्वाचनको तयारी थालिएको आयोगले आज एक विज्ञप्ति जारी गरी जनाएको छ ।

स्थानीय तह निर्वाचन ऐन २०७३ बमोजिम स्थानीय तहको उपनिर्वाचनको मिति निर्वाचन आयोगको परामर्शमा नेपाल सरकारबाट र प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ र प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ बमोजिम प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको उपनिर्वाचनको मिति आयोगले तोक्ने प्रावधान छ । यसअघि बुधबार आयोगले प्रधानमन्त्रीसँग उपनिर्वाचनको बारेमा परामर्श लिएको थियो भने बिहीबार राजनीतिक दलहरुसँग छलफल गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार