काठमाडौं(जस)– समाजवादी पार्टी, नेपालले सत्तालाई रणनीति रुपमा प्रयोग गर्ने निर्णय गरेको छ । समाजवादी पार्टीले सरकार कहिले छाड्ने भनि मिति नतोक्ने तर त्यसलाई राजनीतिक रणनीतिको रुपमा प्रयोग गर्ने भएको हो । बालकुमारीस्थित पार्टी कार्यालयमा बसेको कार्यकारिणी समितिको बैठकपछि शनिबार आयोजित पत्रकार सम्मेलनमा पार्टीले सरकार छाड्ने नछाड्ने कुनै निश्चित नभएपनि यसलाई रणनीतिको रुपमा प्रयोग गर्ने जानकारी गराएको हो । उपमहासचिव प्रकाश अधिकारीले पार्टीले सरकार छाड्ने वा नछाड्ने भन्ने कुरा राजनीतिक विषय भएको भन्दै आवश्यकताअनुसार जतिबेला पनि सरकार छाड्न सकिने बताए ।
नयाँ शक्ति नेपालसँग एकीकरण गर्दा सरकार छाड्ने प्रमुख मुद्दा बनेको सो पार्टीमा अहिले त्यसलाई रणनीतिक रुपमा लिने निर्णय भएको हो । नेता अधिकारीले भने, ‘यसलाई हामीले रणनीतिक रुपमा प्रयोग गर्छौ ।’ दुई पार्टीबीच एकीकरण हुने बेला नयाँ शक्ति पार्टीका तत्कालिन अध्यक्ष डा.बाबुराम भट्टराईले सरकार छाड्नुपर्ने पहिलो शर्त राखेका थिए तर त्यसको जवाफमा तत्कालिन संघीय समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनलगायतका विषयमा सरकारलाई अल्टिमेटम दिएर सरकार छाड्ने आश्वासन दिएका थिए ।
साथै, समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीचको एकीकरण गर्न वार्ता सकारात्मक रुपमा अगाडि बढिरहेको उनले बताए । ‘शीर्ष नेताहरुको बीचमा छलफल भइरहेको छ, एकीकरणको हरेक पक्षमा छलफल जारी छ, नेताहरुले चाँडै यो विषयलाई टुंगोमा पुर्याउनु हुन्छ’ उनले भने । कार्यकारिणी बैठकले १४ वटा विभागमा जिम्मेवारी बाँडफाँड गरेको छ । अर्थ विभागमा विजय यादव, प्रचार विभागमा प्रशान्त सिंह, कार्यालय प्रमुखमा प्रकाश अधिकारी, लेखा विभागमा अमरेशनारायण झा लगायतका रहेका छन् । साथै पार्टीले पाँचवटा प्रदेश समितिको पनि टुगों लगाएको छ । १ र ३ नम्बर प्रदेशको समिति भने टुग्यांउन बाँकी रहेको छ ।