झापा (जस)– मिस टिन प्रदेश नम्बर–१ को उपाधि बिर्तामोड नगरपालिका–४ स्थित अनाथ आश्रमकी भावना चौहानले जितेकी छन् । उनका बुवा को हुन् उनलाई नै थाह छैन । आमाले सानै छोडेर हिँडिन् । उनी अहिले विर्तामोड ४ मा रहेको तारा नमस्ते बाल ग्राममा आश्रय लिएर विर्तामोडकै महेन्द्र रत्न माविमा कक्षा १२ मा अध्ययनरत छन् । उनले विर्तामोडमै रहेको होटल म्यानेजमेन्ट कलेजमा स्नातक तह पढ्नका लागि सतप्रतिशत छात्रवृत्ति प्राप्त गरेकी छन् ।
परिचय राउन्ड, प्रश्नोत्तर राउन्डबाट नै उत्कृष्ट बन्दै आएकी चौहानले अन्तिममा सोधिएको प्रश्नमा गतिलो जवाफ दिएकी थिइन् । देश विकासमा महिलाको भूमिका के हुनुपर्छरु भन्ने निर्णायकको प्रश्नमा उनले ‘देश विकासमा महिलाको भूमिका खोज्ने हो भने पहिला महिलालाई शिक्षित बनाउनुपर्छ’ भन्ने जवाफ दिएकी थिइन् । प्रतियोगितामा दोस्रो र तेस्रो क्रमशः स्मृति सुनुवार र अनुष्का कटवाल भएका थिए । प्रतियोगिता विरता जेसीज र विर्ता मिडिया इन्टरटेन्मेन्ट प्रालिको संयुक्त आयोजनामा शनिबार साँझ सम्पन्न भएको थियो ।