काठमाण्डौ (जस)– महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले सरकारले बालबालिका सम्बन्धी ऐन पास गरिसकेकाले अब यस सम्बन्धी नियमावली बनाउन लागेको बताएकी छन ।
सडक बालबालिकाको संरक्षणमा निम्ति क्रियाशील संस्था बाल सारथीको १३ औं बार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री थापाले संविधानले व्यवस्था गरेको अधिकारलाई व्यवहारिक रुपमा कार्यान्वय गर्नको निम्ति आवश्यक पर्ने नीति तथा नियमहरु बनाउन सरकार सदैव तत्पर रहेको बताइन । उनले भनिन, ‘सरकारले कुनै पनि बालबालिका सडकमा नरहुन् भन्ने घोषणा गरिसकेको छ । कुनै पनि बालबालिका शिक्षाबाट बञ्चित नहोस् । यो सरकारको घोषणा हो ।’

संघीय संरचनाअनुसार स्थानीय तह सबैभन्दा बढी जिम्मेवार निकाय भएकाले स्थानीय तहले जुनसुकै कार्यलाई गम्भीरतापूर्वक कार्यान्वयन गर्नुपर्ने मन्त्री थापाले बताइन । उनले कुनै पनि कार्य सरकार एक्लैले गरेर सम्भव नहुने बताउँदै भनिन, ‘जुनसुकै कार्य गर्दा सरकार र नागरिक समाजसँग सहकार्य र हातेमालो गरेर अगाडि बढ्नुको कुनै विकल्प छैन । यसमा सरकार गम्भीर छ । अझ महिला, बालबालिका तथा जेष्ठ नागरिकहरुका निम्ति कार्य गर्न समाजका सबै तह र तप्काका व्यक्ति तथा निकायको उत्तिकै सक्रियता र सहकार्य जरुरी छ ।’
कार्यक्रममा बाल सारथीकी अध्यक्ष अस्मिता सुमार्गीले समाजले संवेदनशीलता गुमाउँदा अझपनि कयौं बालबालिका विभिन्न खालका दुव्र्यवहारको शिकार हुन बाध्य भएको बताइन । एउटी बालिका बलात्कृत हुँदा समाज संवेदनहीन भएको देख्दा आफूलाई अत्यन्तै पीडा भएको बताउँदै सुमार्गीले भनिन, ‘आफूले अनुभूत गरेको र देखेका धेरै पीडादायी घटनाहरुलाई समेटेर मैले पुस्तक प्रकाशन गरेको छु । जुन पुस्तकमा सयौं बालबालिकाका यथार्थ घटनाहरुलाई समेट्ने प्रयास गरेको छु ।’‘समाजमा अझैपनि कयौं यस्ता घटनाहरु भइरहेका छन् जहाँ साना बालिकाहरु बलात्कृत भइरहेका छन्’ सुमार्गीले भनिन, ‘हाम्रो समाजमा आजभन्दा १५ दिन अगाडि ५५ बर्षको एउटा बुढाले बालिकालाई यौन दुव्र्यवहार गरेको छ । त्यसलाई निर्वाध रुपमा छोडिएको छ । कुनैपनि संस्था चलाउनको निम्ति एउटा व्यक्तिले मात्र सम्भव नहुने बताउँदै सुमार्गीले धेरै सहयोगी हातहरुको सहकार्यले नै कुनैपनि संस्था निर्वाध रुपमा अगाडि बढ्न सक्ने बताइन ।
कार्यक्रममा बाल सारथीलाई विभिन्न क्षेत्रबाट सहयोग गर्नुहुने व्यक्तित्वहरुलाई सम्मान प्रदान गरिएको छ । यसरी सम्मानित हुनेमा नेपाल पत्रकार मञ्चका अध्यक्ष एवं पत्रकार युवराज विद्रोहीलाई समेत पत्रकारिताको माध्यमबाट सहयोग पु¥याए बापत सम्मान प्रदान गरिएको छ ।
अनौपचारिक रुपमा १५ बर्ष अगाडि पशुपतिको बनकाली र आसपासका ठाउँमा रहेका सडक बालबालिकाको संरक्षण र अधिकारको निम्ति सुरु गरिएको बाल सारथीले औपचारिक रुपमा १३ बर्ष अगाडि संस्थागत स्वरुपमा कार्य आरम्भ गरेको थियो । हाल १ सय भन्दा बढी बालबालिकालाई दिवा खाना, खाजा सहित औपचारिक शिक्षा प्रदान गरिरहेको संस्थाकी महासचिव कमला ओलीले जानकारी दिइन । कार्यक्रममा बाल सारथीका बालबालिकाले नृत्य समेत प्रस्तुत गरेका थिए ।