बिहिबार, असोज १ २०८३

बिहिबार, असोज १ २०८३

समाजसेवी लक्ष्मी शर्मा अमेरिकामा सम्मानित, सिएनएन हिरोको लागि प्रस्ताव

बुधबार, साउन १ २०७६

क्यालिफोर्निया सम्वाददाता
सान फ्रान्सिस्को– नेपाल कि प्रथम टेम्पो चालिका, सफल महिला उद्यमी तथा सुप्रसिद्द समाजसेवी लक्ष्मी शर्मा बुधबार क्यालिफोर्निया अमेरिकाको रिचमन्ड शहरमा सम्मानित भएकी छन् । सो अवसरमा अधिकांश सहभागीहरुले उनलाई सि एन एन हिरो बनाउने तर्फ पहल गर्न पर्ने धारणा राखेका छन । नेपाल विश्व सहयोग संघ तथा पश्चिम अमेरिका नेपाली महासंघले उनको उदाहारणीय प्रगति, योगदान तथा सेवाको लागि संयुक्त रुपमा लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरेको हो । थुप्रै राष्ट्रिय तथा अन्तरराष्ट्रिय अवार्ड, पुरस्कार र सम्मान प्राप्त शर्माको यो पहिलो लाइफटाइम अचिभमेन्ट अवार्ड भएको छ ।

करिव ३० हजारको हाराहारिमा नेपाली जनसंख्या भएको अनुमान गरिएको उत्तर क्यालिफोर्नियामा लगभग सम्पूर्णको प्रतिनिधित्व भएको एक स्तरिय तथा सौम्य समारोहबीच सम्मानित शर्माले आफ्नो संघर्षमय जीवनको गाथा सुनाउँदा उपस्थित सबै जना भावविव्हल भएका थिए । आयोजक संस्थाहरु नेपाल विश्व सहयोग संघ तथा पश्चिम अमेरिका नेपाली महासंघ का अध्यक्ष मणी नेपाली पनेरु तथा उत्तमकुमार कार्कीको संयुक्त सभापतित्वमा सम्पन्न सो समारोहमा आयोजकहरुको तर्फबाट नेपाली असोसियसन अफ नर्दर्न क्यालिफोर्निया कि निवर्तमान उपाधक्ष, लायन्स क्लब अफ बर्क्ली अन्नपूर्णकि पूर्व अध्यक्ष हेमा पनेरुले स्वागत मन्तव्य दिएकी थिइन ।

आयोजक संस्थाले उनलाई सम्मान गर्न पर्ने कारणकारे बताउँदै भनेको छ–‘लक्ष्मी शर्मा आज एक दन्त्य कथाकी पात्रझैँ हुनुभएको छ । आज हामी सबैका लागि, प्रेरणाकी एक अजश्र श्रोत बन्नु भएको छ । कर्म गर फलको आशा नगर भने झैँ उनले जीवनमा धेरै बिघ्न बाधाको बाबुजूद संघर्ष गरी नै रहनुभयो र आज उहाँ एक नारी सवलीकरणकी प्रतीक बन्नुभएको छ । उहाँ म यो बन्छु भन्ने योजना राख्नुभएन । तर, आफूले रोपेका कर्मरुपी विरुवाहरुमा मलजल गर्दै रहनुभयो, स्याहार सुसार गर्दैरहनु भयो र आज ती विरुवा हरु बिशाल रुखहरु बनेका छन् । जसले हजारौँलाई छहारी दिएको छ, बास दिएको छ, जीवनको अर्थ दिएको छ । यसरी लक्ष्मी शर्मा एक आफैमा सफलताको कथा मात्र होइन, लाखौं संघर्षशील महिला पुरुषहरुको लागि मार्गदर्शक र प्रेरणा हुन सफल हुनुभएको छ । विश्वभरका नेपाली हरुलाई बिबिध क्षेत्रमा सक्दो सहयोग पुर्याईरहेको नेपाल विश्व सहयोग संघ (NAGC) तथा पश्चिम अमेरिकाको १३ राज्यहरुको प्रतिनिधित्व गर्ने पश्चिम अमेरिका नेपाली महासंघ(WANA)ले संयुक्त रुपमा बुधबार जुलाई १५, २०१९ मा महिला उद्द्मी तथा सुप्रसिद्ध समाजसेवी लक्ष्मी शर्मालाई लाइफटाइम अचिभमेन्ट अवार्ड सहर्ष तथा सगौरव प्रदान गर्दछ ।’

सो अवसरमा आयोजक संस्थाका अध्यक्षद्वय मणी नेपाली पनेरु तथा उत्तम कार्कीले संयुक्त रुपमा लक्ष्मी शर्मालाई लाइफ अचिभमेन्ट अवार्ड बाट सम्मानित गरेका थिए । ततपश्चात बिभिन्न संघ संस्थाका अध्यक्षहरु तथा प्रतिनिधिहरुले उनलाई खादा लगाएर सम्मानित गरेका थिए । सो अवसरमा नेपाली असोसियसन अफ नर्दर्न क्यालिफोर्निया का अध्यक्ष इश्वर सिटौला, नेपाली कम्युनिटी सेन्टरका अध्यक्ष यज्ञलाल श्रेष्ठ, एन आरएनएनसिसि युईएसएका उपाधयक्ष सर्वज्ञ वाग्ले, सोही संस्थाका क्यालिफोर्निया च्याप्टर अध्यक्ष सुरेन्द्र मल्ल, लायन्स इन्ट्र न्यास्नल डिस्ट्रिकका पूर्व गभर्नर राजेन थापा, वुद्ध नेपाल पिस फाउन्डेसन का अध्यक्ष चाइनाकाजी श्रेष्ठ, क्रियटिभ नेपाल युथ अर्गनाइजेसनका अध्यक्ष शसी प्रसाई, लायन्स क्लब अफ बर्क्ली अन्नपूर्णका अध्यक्ष गोविन्द शाही, लायन्स क्लब अफ बर्क्ली मकालुकी संस्थापक अध्यक्ष मनहरा थापा बोगटी, लायन्स क्लब अफ शान्ता रोजा काष्ठमन्डप का अध्यक्ष नारायण सोम्नामे, बिकल्प फाउन्डेसन तथा लायन्स क्लब अफ बर्क्ली लाली गुराँस का संस्थापक अध्यक्ष निर्मल फुँयालले सम्मानित व्यक्तित्वलाई खादा लगाअर सम्मान गरेका थिए ।
यसैगरी तामाङ कोअपरेशन सोसाइटीका पूर्व अध्यक्ष कुमार डोङ, जनसंपर्क समिती अमेरिका उत्तर क्यालिफोर्निया च्याप्टरकी उपसभापति लक्ष्मी केसी कार्की, नेवा अर्गनाइजेसनका उपाध्क्ष देवेन्द्र मास्के, एनडब्लुजिएन क्यालिफोर्निया च्याप्टरकी महासचिव लक्ष्मी खरेल, एनएएनसिका पूर्व कोषाध्यक्ष नारायण पोखरेल, समाजसेवी कृष्णराज गिरीलगायत उल्लेख्य संख्यामा उपस्थित सामाजिक अगुवाहरुले उनलाई खादा लगाएर सम्मानित गरेका थिए ।


सम्मानित व्यक्तित्व लक्ष्मी शर्माले उल्लेख्य संख्यामा राष्ट्रिय तथा अन्तरराष्ट्रिय सम्मान, अवार्ड र पुरस्कार जितिसकेकी छन् । ती मध्ये स्टार गु्रप अफ युएस्एबाट लिडिङ वोमेन इन्टरप्रेनर अफ वल्र्ड २०००, हिलारी रोधाम क्लिन्टनबाट एप्रिसियसन लेटर अप्रिल २५, १९९५, ह्यान्डी क्राफ्ट असोसियसन अफ नेपालबाट वेष्ट एक्स्पोर्टर अफ अनप्रडक्ट अवार्ड २००३, क्राफ्ट काउन्सिल अफ नेपाल क्राफ्ट बजारबाट बेस्ट प्रडक्ट अवार्ड, न्यास्नल युथ सर्भिस फन्डबाट बेस्ट वोमेन इन्टरप्रेनरशिप गोल्ड मेडल १९८७, नेपाल जर्मन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजबाट बेस्ट एक्स्पोर्टर अफ न्यु प्रडक्ट अवार्ड १९९७, ह्यान्डिक्राफ्ट असोसियसनअफ नेपालबाट बेस्ट प्रडक्ट अफ बोन एन्ड हर्न अवार्ड १९९८ जस्ता थुप्रै अवार्डहरु जितिसकेकी छन् ।


शर्माले आपद बिपदमा परेका, अपाङ्ग तथा पिछिडिएका ४ हजारभन्दा बढी महिला तथा पुरुषहरुलाई उनीहरुको शिक्षादीक्षा पालनपोषण तथा स्वास्थ्यमा प्रत्यक्ष सहयोग पुर्याएकी छन् र अहिले उनीहरु सबैले नयाँ जीवन पाएका छन । शर्मा बहुमुखी प्रतिभाकी धनी रहेकी छन् । उनी गीतकार, कलाकार, तथा गायिका पनि हुन् । उनको भावी योजना मध्य नेपाली उद्यमीहरुको लागि एक श्रोत केन्द्रको रुपमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना गर्नु र एक म्युजियम पनि बनाउने रहेको छ । सम्मानित शर्मा सत्य न्याय र प्रगतीको जिउँदो जाग्दो प्रतिक रहेको तथा कुनै पिएचडि गरेको प्रकाण्ड विदूषीले झै लगभग सबै क्षेत्रको बारेमा धाराप्रवाह बोल्न सक्ने सत्तरी बर्षीय यि अभूतपूर्व नारीलाई भेट्दा, कुरा गर्दा छुट्टै हौसला मिलेको सहभागहिरुले बताएका थिए । शर्मा जीवनमा केवल ३ दिन मात्र स्कूल गएकी थिइन भन्दा जो कोहीलाई आश्चर्य लाग्छ । यी दन्त्य कथाकी पात्र झैँ लाग्ने व्यक्तित्वलाई सिएनएन हिरो घोषणा गरिनु सर्वथा उचित मात्र होइन कि सो घोषणाले मानवतालाई सलाम गर्ने तथा सादा जीवन उच्च विचार राख्ने समाजका असल व्यक्तित्वहरुले न्याय पाउने पनि आयोजकले बताए । कार्यक्रम पछि बे एरियाका दाजुभाउजुको रुपमा चिनिने मणी नेपाली पनेरु तथा हेमा पनेरुले रात्री भोजको आयोजना गरेका थिए । कार्यक्रम मनोरन्जक, प्रेरणादायी र सार्थक भएको सहभागीहरुले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार