काठमाडौँ(जस)–सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बाढीबाट पीडितको उद्धार कार्यमा लाग्न स्थानीय तहलाई निर्देशन दिएको छ । मन्त्रालयको वातावरण तथा विपद् व्यवस्थापन शाखाका प्रमुृख, सहसचिव केदारप्रसाद पनेरुले देशभरि अहिले भइरहेको वर्षाले जनधनको क्षति पुगेको भन्दै स्थानीय तहलाई १० बुँदे निर्देशनात्मक आदेश दिँदै उद्धार तथा राहत कार्यक्रममा लाग्न निर्देशन दिएका हुन् । उनले विपद् जोखिमको न्यूनीकरण र रोकथाम गर्न, पीडितको शीघ्र उद्धार गरी राहत प्रदान गर्न तथा यसको कारणले हुने महामारी फैलन सक्ने अवस्थालाई समेतलाई मध्यनजर गरी उपयुक्त व्यवस्थापन गर्न स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी र स्थानीयवासीलाई तत्काल जुट्न निर्देशन दिएको बताए ।
उनले जिल्ला विपद् व्यवस्थापन समितिसँग समन्वय गरेर पीडितलाई खाने, बस्ने र औषधोपचार व्यवस्था पनि स्थानीय तहबाट तत्कालन मिलाउनुपर्ने, बाढीको बहाब खोल्ने लगायका कार्यमा आवश्यकअनुसार समितिसँग समन्वय गरी आवश्यक व्यवस्था मिलाउनुपर्ने, खोज तथा उद्धार कार्यमा खटिएका सुरक्षा निकायलाई आवश्यक सहयोग र समन्वय गर्ने लगायतका कार्य गर्न निर्देशन दिएका छन् । यसैगरी राहत वितरणमा एकद्वार प्रणाली अवलम्बन गर्नुपर्ने, विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनकामे कामलाई सबै स्थानीय तहले उच्च प्राथमिकता दिइनुपर्ने लगायतका निर्देशन रहेका छन् ।
स्थानीय तहले खोज तथा उद्धार, राहत र शीघ्र पुर्नलाभको क्षेत्रमा रहेका कामको प्रगति विवरण दैनिक रुपमा मन्त्रालयमा पठाउनसमेत आग्रह गरिएको छ । स्थानीय तहको विपद् व्यवस्थापन कोषमा स्रोत साधन अभाव भए जिल्ला विपद् व्यवस्थापन समितिसँग समन्वय गरी केन्द्रमा अनुरोध गर्नसमेत आग्रह गरेको छ । उद्धार गर्नका लागि रकम नपुग भएको कारणले खोज, उद्धार तथा तत्कालीन राहतमा बाधा पर्ने भएका कानून बमोजिम स्थानीय तहको कुनै पनि बजेट शीर्षकबाट खर्च गर्ने व्यवस्था मिलाउनेसमेत भनिएको छ ।
उद्धारमा जुट्न नेकपाको निर्देशन
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टीका सबै तहका नेता तथा कार्यकतालाई उद्धार र राहत कार्यमा जुट्न निर्देशन दिएको छ । शनिबार प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै देशका विभिन्न भागमा अविरल वर्षाका कारण मानवीय क्षति हुन नदिन पार्टीका सबै तहका कमिटी, नेता–कार्यकर्ता र जनसङ्गठनलाई उद्धार तथा राहत कार्यमा सक्रियतापूर्वक जुट्न निर्देशन दिएका हुन् ।
वर्षाका कारण सिर्जित बाढी, पहिरो र डुबानबाट भएको मानवीय तथा भौतिक क्षतिबाट पार्टी अत्यन्त दुःखी भएको उल्लेख गर्दै उनहरूले पीडितको उद्धार र राहत कार्यमा सरकारका तर्फबाट आवश्यक पहल भइरहेको समेत जानकारी गराएका छन् । उनहरूले बाढीबाट भएको दुःखको यस घडीमा बाढी, पहिरो र डुबानमा परी ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जलिसमेत व्यक्त गरेका छन् । विज्ञप्तिमा बाढीबाट घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरिएको छ ।
परिवार दलद्धारा उद्धारमा खट्न आवहान
नेपाल परिवार दलले मुलुकभर वर्षाबाट भएको जनधनको क्षति, राजमार्ग अवरोध र जनजीवन अस्तव्यस्त भएको परिस्थितिलाई ध्यानमा राखी उद्धार कार्यमा खट्न आफ्ना नेता कार्यकर्ता एवम आम नेपाली जनतालाई आवहान गरेको छ । दलका प्रवत्ता सन्तोष कुमार पौडेलले उद्धारमा सक्रियतापूर्वक लाग्न पार्टी देशैभरका नेता तथा कार्यक्रतालाई आवहान गरेको जानकारी दिए । अविरल वर्षा र पहिरोका कारण मुलुकको विभिन्न भागमा पछिल्लो २४ घण्टामा करीब ३० जना भन्दा बढी नागरिकको मृत्यु भएकोमा दुःख व्यक्त गरेका छन्। परिवार दलले सरकारलाई सम्बन्धित प्रदेश र स्थानीय तहका सरकारको समन्वय र सहयोगमा उद्धार र राहतको कार्यमा सबै निकायलाई परिचालन गर्न माग गरेको छ । प्राकृतिक विपतको घडीमा आम नेपाली नागरिकलाई उच्च सर्तकता अपनाउन आग्रह गर्दै एकजुट भई विपद् व्यवस्थापनमा जुट्न आवहान गरेको छ ।