शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

सरकार–विप्लव द्धन्द्ध थप चर्किने संकेत, भोजपुर भिडन्तमा दुईको मृत्यु

बिहिबार, असार २६ २०७६

भोजपुर(जस)–भोजपुर सदरमुकाममा प्रहरी र नेत्रविक्रम चन्द (विप्लव)समूहबीच गोली हानाहान हुँदा दुई जनाको मृत्यु भएको छ । बुधबार विहान सदरमुकामको हटिया लाइनमा दुबै पक्षबीच गोली हानाहान हुँदा प्रहरी जवान सञ्जीव राई र विप्लव समूहका ओखलढुङ्गा इञ्चार्ज निरकुमार राईको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानकारी दिए ।
घटनामा प्रहरी जवान खोमनाथ भट्टराई घाइते भएका छन् । घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । गोली लाग्नसाथ अस्पताल लगिएका दुवैलाई चिकित्सकले मृत घोषणा गरेका थिए । यो घटनापछि सदरमुकाममा सुरक्षा व्यवस्था कडा पारिएको छ । निरन्तर वर्षा भइरहेकाले अनुसन्धानमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरी महानिरीक्षकद्वारा भोजपुर घटनाबारे राज्य व्यवस्था समितिमा जानकारी
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भोजपुरमा भएको गोलीकाण्डबारे प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा जानकारी गराएका छन् । बुधबार बिहान बसेको बैठकमा काङ्ग्रेसका सांसद दिलेन्द्रप्रसाद बडू र डिला सङ्ग्रौलाले घटनाबारे जानकारी गराउन माग गरेपछि महानिरीक्षक खनालले सो घटनाबारे जानकारी गराएका हुन् । उनका अनुसार भोजपुर नगरपालिका–७ स्थित हाटबजार लाग्ने स्थानमा सुरक्षाका लागि नेपाल प्रहरी खटिएको बेलामा अचानक विप्लव समूहले गोली प्रहार गरेपछि घटना भएको हो । “प्रहरी जवान सञ्जिव राईको छातीमा गोली लाग्यो र उनीहरूलाई नियन्त्रण गर्र्ने सन्दर्भमा प्रहरीबाट जवाफी फायर हुँदा विप्लव समूहका ओखलढुङ्गा इञ्चार्ज निरकुमार राईलाई पनि गोली लाग्न पुग्यो”, उनले भने ।
गोली लागेका दुवै जनाको उपचारका लागि अस्पताल लगेपछि चिकित्सकले मृत घोषणा गरेको थियो । उक्त घटनामा प्रहरी जवान थमनाथ भट्टराईको काँधमा गोली लागेको समेत खनालले जानकारी दिए । उनले सो क्रममा ठूलो चाइनिज पेस्तोल एक थान, त्यसको म्याग्जिन एक थान र उक्त पेस्तोलमा लाग्ने छ राउण्ड गोली बरामद भएको पनि उनले बताए ।
प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार हतियारसहित केही व्यक्ति लुकिछिपी बसेको सूचनाका आधारमा बुधबार ड्युटीमा खटिएको प्रहरीमाथि हतियारधारी समूहले एक्कासि फायर गरेपछि प्रहरीले जवाफी फायर गर्दा उक्त घटना भएको र घटनामा अन्य दुई जना प्रहरी जवानसमेत घाइते भएको जनाएको छ । उनीहरूको जिल्ला अस्पताल भोजपुरमा उपचार भइरहेको छ । उक्त समूहका अन्य चार÷पाँच जना फरार रहेकाले खोजतलास जारी रहेको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार