काठमाडौँ(जस)– मंगलबार बिहान सिंहदरबारमा मन्त्रीपरिषद् बैठक बस्दै गर्दा धेरैलाई केही नयाँ निर्णय हुन्छ कि भन्ने जिज्ञासा थियो । तर, बैठक सकिएपनि सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जनस्वास्थ्य र नागरिकको अधिकारसँग जोडिएको विषयमा नेपाल सरकार गम्भीर भएकाले भारतबाट आउने तरकारीमा विषादी परीक्षणको विषय थप तयारीका साथ देशको हितमा हुने गरी कार्यान्वयन गरिनेबताए । मन्त्रिपरिषद्को बैठकपछि पत्रकारहरूको जिज्ञासामा मन्त्री बाँस्कोटाले सोका लागि नेपालको प्राविधिक क्षमता र देशभित्रको उत्पादन क्षमता वृद्धि गर्नेतर्फ लाग्ने जनाउँदै आफूहरू बाह्य पक्षबाट प्रभावित नभई देश हितको पक्षमा गम्भीर हुने प्रष्ट गरे ।
उनले भने, “सीमापार व्यवसायमा दुवै देशको हित र चासोका कुराहरू हुनसक्छन्, पत्रहरू आदानप्रदान हुनसक्छन्, हाम्रो पनि चासो छ, जनस्वास्थ्यको विषय व्यापार मात्र होइन दुवै देशका नागरिकको स्वस्थ खाना पाउनुपर्ने अधिकारको विषय हो, हामी क्रमशः नेपाललाई अग्र्यानिक राष्ट्र बनाउने भनिरहेका छौँ, हाम्रो उत्पादन क्षमता बढाउनु मूल प्रश्न हो ।” उनले बैठकमा विभिन्न विषयमा छलफल भए पनि त्यस्तो महत्वपूर्ण निर्णय नभएको र भएका निर्णय नियमित पत्रकार सम्मेलनमार्फत सार्वजनिक हुने जानकारी दिए । मन्त्रिमण्डल हेरफेरका बारेमा सोधिएको प्रश्नमा उनको जवाफ थियो– “यो प्रधानमन्त्रीको नितान्त विशेषाधिकार हो ।”
बैठकमा सहभागी एक मन्त्रीले भने सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ऐन संशोधनको निर्णय गरेको बताए । लामो समयदेखि थाति राखिएको उक्त विधेयक संशोधनको प्रस्ताव पारित गरेको हो । यस्तै बैठकले भ्रष्टाचार निवारण ऐन संसोधनको पनि निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए । तर ती ऐनको कुनकुन प्रावधान परिमार्जन गर्न लागेको भन्नेबारे भने उनले केही खुलाएनन् । धेरैले भने केही विशेष निर्णय भएको र सरकारले भोलि बिहिबारको नियमित बैठकमा सर्वाजनिक हुने अड्कल काटिरहेका छन् । तर, अहिले भने कुनै मन्त्रीको पनि पद गइहाल्ने अवस्था नदेखिएको सरकार निकट एक विश्लेषकले बताए ।