बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

एसिसी यु–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा नेपाल

सोमबार, असार २३ २०७६

काठमाडौँ(जस)–एसिसी यु–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा नेपालले आयोजक मलेसियालाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभल क्रिकेट मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा नेपालले मलेसियालाई सात विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।
मलेसियाले दिएको ८८ रनको सामान्य लक्ष्यलाई नेपालले १५ दशमलव ५ ओभरमा तीन विकेट गुमाएर भेट्टायो । नेपालको जितमा भीम सार्कीले अविजित ३३ रन बनाउँदा कप्तान रोहितकुमार पौडेलले अविजित ३१ रन जोडे । त्यसैगरी पवन सर्राफले १८ रन तथा रित गौतमले तीन रन जोडे । बलिङतर्फ मलेसियाका हैकल मोहमद खेरले दुई विकेट लिए भने मुहमद आमीरले एक विकेट झारे ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले ४० दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै ८७ रनमा समेटिएको थियो । उसका लागि मुहमद आमिरले सर्वाधिक २४ रन जोडे । त्यस्तै हैकल मोहमद खेरले १२, वान अमिरुलले ११ तथा अहमेद अकमल अलिफले १० रन जोडे । मलेसियालाई सस्तैमा समेट्नेक्रममा नेपालका सागर ढकाल एक्लैले तीन विकेट लिए भने कुशल मल्लले दुई विकेट लिए । उक्त प्रतियोगिताको उपाधि विजेता टोलीले श्रीलङ्कामा आयोजना हुने यु–१९ एशिया कपमा छनोट हुनेछन् । फाइनल खेल मङ्गलबार हुनेछ । साविक विजेतासमेत रहेको नेपालले अब उपाधिका लागि सिङ्गापुर र हङ्कङबीचको विजेतासँग खेल्नेछ । सिङ्गापुर र हङ्कङवीच दोस्रो सेमिफाइनल खेल अहिले भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार